PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भोलिदेखि ४ दिने ‘जनकपुर साहित्य महोत्सव’ हुने, विनोद चौधरीदेखि मनिषा कोइरालासम्म आउने



सुमित मिश्र

भोलिदेखि ४ दिने ‘जनकपुर साहित्य महोत्सव’ हुने, विनोद चौधरीदेखि मनिषा कोइरालासम्म आउने

जनकपुरधाम : जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय जनकपुर साहित्य महोत्सवको आयोजना हुन लागेको छ। फागुन १९ गते बुधवारदेखि फागुन २२ गतेसम्म चल्ने महोत्सवमा सामाजिक, साँस्कृतिक, साहित्यिक, राजनीतिक लगायतका विषयवस्तुमाथि छलफल गरिने बताइएको छ।

बुधवार महोत्सवको उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गर्नेछन् भने उद्घाटन समारोहको प्रमुख वक्ताको रुपमा सांसद विनोद चौधरीलाई बोलाइएको छ। उनले उद्घाटन समारोहमा आफ्नो सफल व्यावसायिक यात्राको विषयमा आफ्ना कुराहरु राख्नेछन्। यस अतिरिक्त उद्घाटन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको समेत सहभागिता रहनेछ।

नवमिथिला फाउन्डेसनको आयोजनामा हुन लागेको जनकपुर साहित्य महोत्सवमा हुने १५ वटा विभिन्न सत्रहरुमा ४५ जना वक्ताहरुको सहभागिता रहने महोत्सवका निर्देशक दिलभूषण पाठकले जानकारी दिए।

यस्ता छन् महोत्सवका सत्रहरु

महोत्सवको औपचारिक सत्र जानकी मन्थन शिर्षकबाट हुनेछ। जानकी मन्थन शिर्षकमा नेपाली कांग्रेसका नेता प्रदीप गिरी, राजनीतिक विश्लेषक सीके लाल, मैथिलीका बरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, भारतका साहित्यकार डा आशा प्रभाले आ-आफ्नो विचार राख्नेछन्। डा प्रभाले जानकी माथी नै पिएचडी समेत गरेकी छिन्।

‘जाऔँ जनकपुर सुदर्शनजीसँग’ शिर्षकमा जनकपुरधामको पहिलो टुरिष्ट गाइड सुदर्शनलाल कर्णसँग मानसी अग्रवालले कुराकानी गर्नेछिन्। मानसी केही दिनदेखि सामाजिक सञ्जालमा नेपालको पर्यटनको विकासलाई लिएर आफ्नो पृथक प्रस्तुतीका कारण चर्चामा छिन्।

प्रविधि र संस्कृति विषयक सत्रमा विश्वास ढकाल र डा भोगेन्द्र झाले आफ्नो मत राख्नेछन्।

साहित्यको सीमाञ्चल सत्रमा भारतका मनोज कुमार सिंह, राजा पुनियानी, धनगढीका साहित्यकार रामलाल जोशी, जनकपुरका साहित्यकार अशोक दत्तको सहभागिता रहनेछ भने सो सत्रको सहजकर्ताको भूमिका सञ्चारकर्मी एवं साहित्यकार चन्द्रकिशोरले गर्नेछन्।

‘किताब : वर्णदेखि वस्तुसम्म’ सत्रमा कल्पना ढकाल, भुषिता वशिष्ठ, राजिवधर जोशी, गणेश लाठको सहभागिता रहने छ।

‘राजनीतिको राग कहाँदेखि कहाँसम्म’ सत्रमा नेपाली कांग्रेसको उपसभापतिसँग सञ्चारकर्मी सुधीर शर्माले कुराकानी गर्नेछन्। यद्यपि निधि सो सत्रमा सहभागिता नजनाउने सम्भावना समेत रहेकोले सो सत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहभागी गराउने प्रयास भइरहेको आयोजकले जनाएको छ।

महोत्सवको तेस्रो दिन मैथिली मिठास सत्रमा परमेश्वर कापडि र डा कुलप्रसाद कोइराला रहने छन्। यो सत्रको प्रस्तोता बद्रीनाथ झा रहने छन्।

‘देश मधेश : गन्थन मन्थन’ शिर्षकको सत्रमा सीके लालसँग सुजित महतले कुराकानी गर्ने छन्। देशमा संघीयता आइसकेपछि प्रदेशका मुख्यमन्त्रीले काम गर्ने क्रममा भोगेका पीडाहरु उजागर गर्ने उद्देश्यले मुखियाको पीडा शिर्षकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो विचार राख्नेछन् भने सो सत्रको सहजकर्ता दिलभुषण पाठक रहनेछन्।

भविष्यको राजनीति र राजनीतिको भविष्य विषयक सत्रमा सांसद गगन थापा, रामकुमारी झाँक्री, रविन्द्र मिश्र, तुलानारायण साहको सहभागिता रहने छ।

दर्शनमा आधारित भएर स्वतन्त्र समाज र विचारहरु विषयक सत्रमा साहित्यकार रोशन जनकपुरीसँग अमित ढकालले कुराकानी गर्नेछन्।

महोत्सवको चौथो तथा अन्तिम दिनको पहिलो सत्र वैदेहीहरु रहने छ भने त्यस लगत्तै आआफ्नै कथा शिर्षकमा गन्थन मन्थन गरिने छ। सोही दिन ‘सिनेमाको रंग’ सत्रमा नेपाली चलचित्रका महानायक राजेश हमाल, मनिषा कोइराला, रविन्द्र झा, अनुप बराल लगायतका कलाकारहरुको सहभागिता रहनेछ।

‘सम्पादनको सकस’ नामक सत्रमा सम्पादनको कला तथा सम्पादनको क्रममा हुने समस्याहरुको विषयमा छलफल गरिने छ। त्यस्तै, ‘अन्तरवार्ताकारहरुको अन्तरवार्ता’ विषयक सत्रमा भूषण दहाल, दिलभूषण पाठक, आरती चटौत, डा नवराज लम्सालको अन्तरवार्ता रुपेश श्रेष्ठले लिनेछन्। सोही दिन कविता सत्र तथा अन्तिम सत्रसँगै महोत्सवको समापन गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell