PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बालाजुका सडक विस्तार पीडित र अभियन्ता रिहा, 'अब भूमिसँगै भाषिक आन्दोलन'



बालाजुका सडक विस्तार पीडित र अभियन्ता रिहा, 'अब भूमिसँगै भाषिक आन्दोलन'

काठमाडौं : सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेश दिएसँगै बालाजुबाट पक्राउ परेका सडक विस्तार पीडित र अभियन्ताहरु रिहा भएका छन्।

बालाजु बाइपास सडक खण्डमा सडक विस्तारका क्रममा करिब ६ वर्ष अघि भत्काइएका घरहरु रहेको जग्गामा काठमाडौं महानगरपालिकाले सूचना केन्द्र बनाउन लागेपछि स्थानीय पीडितहरुले त्यहाँ राखिएका जस्तापाता भत्काएका थिए। त्यसकैक्रममा प्रहरीले मीन शाही, महेश्वर मानन्धर, संजय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ, रुक्षित श्रेष्ठलाई पक्राउ गरेको थियो।

त्यसपछि बालाजु प्रहरी वृत्तमा गएर उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि र अन्य अभियन्ता पीडितहरुलाई रिहा गर्न माग गरेका थिए। वृत्तमा नै पक्राउ परेकाहरुसँग संवाद गर्ने क्रममा सुमन सायमिले नेपालभाषामा भीमदेव श्रेष्ठको स्वास्थ्य बारे बुझ्न खोज्दा एक प्रहरीले नेवारीमा नबोल्न भनेपछि विवाद भएको मेहेश्वर मानन्धरले जानकारी दिए। त्यसपछि वृत्तमा नै मातृभाषामा बोल्न रोकेपछि विवाद हुँदा सुमन सायमि र विरोचन श्रेष्ठले प्रहरीले पक्राउ गरेको थियो। बालाजुमा राख्दा दबाब बढ्ने देखेर उनीहरुलाई सोह्रखुट्टे वृत्तमा पठाइएको थियो।

पीडित र अन्य अभियन्तालाई गैर कानुनी रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो। त्यसैमा सुनुवाई गर्दै आज न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले पक्राउ परेका सबैलाई रिहा गर्न आदेश दिएको थियो।

अदालतले प्रहरीले पक्राउ गरिएकाहरुलाई थुनामा राख्नुको कारण स्पष्ट नभएको भन्दै उनीहरुलाई हिरासतमा राख्नु गैर कानुनी रहेको जनाएको छ।

अदालतले ८ जना पीडित र अभियन्तालाई आफ्नो सम्पत्ती र अभिव्यक्ति व्यक्त र गरेको आधारमा पक्राउ गरेको ठहर गर्दै उनीहरुलाई थुनामा राख्नु न्यायीक दृष्टिकोणबाट औचित्यपूर्ण नभएको समेत बताएको छ।

सर्वोच्चबाट छुटेसँगै ८ जना नै इन्द्रचोक पुगेका थिए। त्यहाँ कोणसभा गर्दै वक्ताहरुले मातृभाषा बोलेकै आधारमा पक्राउ गर्नुलाई राज्य भाषिक दमन तर्फ अग्रसर भएको टिप्पणी गरेका थिए। उनीहरुले नेपालभाषा बोल्न रोक्न प्रहरीलाई कारवाहीको माग समेत गरेका थिए।

रिहा भएकाको खुशियालीमा इन्द्रचोक, क्षेत्रपाटी, बसन्तपुर, परोपकार हुँदै कालिमाटीसम्म मैनबत्ती र्‍याली निकालिएको थियो।

कालिमाटीमा सभालाई सम्बोधन गर्दै सुमन सायमिले अब भाषिक आन्दोलन सुरु हुने उद्घोष गरे। दिवंगत पद्मरत्न तुलाधर जेलमा रहेको बेला आफ्नै आमाले नेपालभाषामा बोल्न खोज्दा रोकिएको घटनालाई स्मरण गर्दै सायमिले अब फेरि राज्य भाषिक दमन तर्फ उन्मुख भएको बताए। उनले अब भूमिसँगै भाषिक आन्दोलन सुरु गर्ने बेला आएको समेत बताए।  

रिहा भएकाहरुले आफूहरु प्रहरी नियन्त्रणबाट छुटेपनि बाइपासमा प्रतिगमन जारी रहेकोले आन्दोलन जारी रहने चेतावनी दिए।

बाइपास क्षेत्रमा रहेका घरहरु सात-सात मिटर छाडेर सडक विस्तार गर्ने भनिएपनि बाँसझाङदेखि अष्टनारायण हलसम्म एकतर्फी रुपमा मात्रै सडक विस्तार गरिएको थियो। हाल शहरी विकास राज्यमन्त्री रहेका रामवीर मानन्धरको अष्टनारायण हल समेत सडक विस्तारमा पर्ने भएपछि शक्तिको आडमा एकतर्फी सडक विस्तार गरिएको पीडितहरुको आरोप छ। यता रामवीर मानन्धर पक्षले भने हाल सडक बनाइएको स्थान सार्वजनिक सम्पत्ती रहेको दाबी गर्दै आएको छ। स्थानीय पीडितहरुले भने रामवीर मानन्धर वडा अध्यक्ष हुँदा उनले नै आफूहरुलाई स्ववासी भनेर कागजपत्र दिएको बताउँदै आएका छन्। 

विगत सात वर्षभन्दा बढी समयदेखि बाइपास र बाइसधारा जोड्ने सडक निर्माण यही मुद्दाका कारण निर्माण हुनसकेको छैन। जसकारण यहाँका स्थानीय धुलोधुवामा जीवन बिताउन बाध्य हुँदै आएका छन्।

यो सडक निर्माण हिसिला यमी मन्त्री हुँदा देखि नै विवादित रहँदै आएको थियो। पहिला बाइसधरा बाइपास सडक नै राजाहरु नागर्जुन दरबार जान प्रयोग हुने गरेको थियो। यही सडकखण्डमा बाक्लो बजार थियो। पछि माछापोखरी सडक विस्तार भएसँगै बालाजुको बजार पातलिएको थियो। माछापोखरी- बाइपास सडक खण्ड पनि सडक विस्तारमा परेको थियो। हाल सडक विस्तार गरि बनाइएको सडकको एक हिस्सा पार्किङको लागि प्रयोग हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell