PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

देवकोटादेखि समसम्म जोडिएका यस्ता गीतकार जो अहिले गीत नै सुन्दैनन्



स्वेच्छा राउत

देवकोटादेखि समसम्म जोडिएका यस्ता गीतकार जो अहिले गीत नै सुन्दैनन्

जीवनको छन्द कहाँ कविता सरह मिलाउन सकिँदो रहेछ र?

भोगाइका गीतहरूको लय पनि सधैं आफूले सोचेजस्तो नहुँदो रहेछ।

त्यसैले त नेपाली संगीत क्षेत्रलाई मीठामीठा गीत दिएका एक गीतकारले आजभोलि गीत सुन्दैनन्। गीत संगीतको मात्र कहाँ हो र? शहरको चोकमा उभिएका उनी यहाँको कोलाहलबारे पनि बेखबर छन्।

जोरपाटी चोकमा छ घर। सडकको धुलो सजिलै उडाएर कोठासम्म ल्याउँछ बतासले। त्यसैले सिसाको झ्‍याल खोल्न निषेध छ। घाम भने कोठाभरी पस्छ। न्यानो ताप्दै दिनभर व्यस्त सडक नियाल्छन् कन्चन पुडासैनी। मान्छेको भिड र गाडीको चापले निकाल्ने कर्कश आवाजको भने भेउ पाउँदैनन् उनी। उनको कानले कम सुन्न थालेको केही वर्ष भयो। आवाजहरू मधुर बन्दै जाँदा शान्त हुँदै गएको छ उनको दैनिकी।

आँखा भने प्रष्टै देख्छन्, लेखपढ गर्न सक्नेगरी। अक्षर केही बाङ्गा टिङ्गा हुन थालेका छन्। तर, अक्षरभन्दा पर जाने ठाउँ कहाँ नै पो छ र? शरीरमा बाँकी ऊर्जाले टाढा कहीँ पुर्‍याउँछ भने त्यो घरकै भान्सासम्म हो।

पारिलो घाम उनको कोठामा पसिसकेको एकदिन। एउटा कुनामा किताब समातेर बसेका थिए उनी। नौलो अनुहार अघिल्तिर उभिँदा केही समय घोरिएर हेरे। नमस्कार फर्काए र बिस्तारै उठेर हिँडे। कता?

पत्तो छैन। लामै समय देखा परेनन्।

कोठामा असरल्ल थिए किताब, कापी, कलम र पत्रपत्रिका। भित्ताभरी सम्मानपत्र। ती पत्रहरूको बिचमा 'मदन पुरस्कार' अंकित हस्तकला।

केहीबेरमा त्यही भित्तामा अडिएको ऐनामा उनको प्रतिविम्ब देखियो। एकछिन अघिसम्म गम्लङ्ग खास्टो ओढेर बसेका उनी कुर्ता लगाएर झुल्किए। उनी त्यही ऐना अघिल्तिर उभिए। केहीबेर आफैलाई नियाले। सेताम्मे फूलेका दाह्रीलाई काइँयोले मिलाए। टाउकोमा पनि काइँयो त चलाए तर कपाल झरेर देखिएको छाला नकोतारियोस् भन्नेमा सतर्क देखिन्थे।

बिस्तारै टेबलमाथि राखेको क्याप लगाउँदै अघि बढ्दा लाग्थ्यो – उनी हरेक कदम निकै फूर्सदमा चाल्छन्।

प्रश्न र जिज्ञासाको खात बोकेर बसेकाहरूको भने पर्खाइ पनि हतारमा थियो। प्रश्न सोझियो : अन्तर्वार्ता सुरु गरौं?

जवाफमा उनी केही बोलेनन्। फेरि अघि जहाँबाट निस्किए त्यही कोठातर्फ लागे। कुर्ता र क्यापमा ठाँटिएका उनले तल भने थर्मोकोट मात्र लगाएका थिए। लागेको थियो – पाइन्ट वा सुरुवाल लगाउन छिरे। फर्कँदा हातमा एउटा किताव थियो।

केही नबोली पाना पल्टाएर र अघिल्तिर ल्याएर राखिदिए। जसमा लेखिएको थियो -'तपाईंको मप्रतिको स्नेह र मेरा रचनाहरूप्रतिको चासो र ममता देख्ता म धेरै आभारी छु। बरु मलाई एउटा यस्तो शुभकामना वा एउटा राम्रै सराप दिनुहोस् जसले गर्दा अब कहिल्यै कसैलाई कुनै किसिमको अन्तर्वार्ता दिनु नपरोस्।'

कुनै अन्तर्वार्ताको अन्तिम प्रश्नमा दिइएको त्यो जवाफ यो पटक पहिलो प्रश्नको जवाफ थियो।

परिस्थिति उनी स्वयंले केही सहज बनाइदिए। भने, 'मसँग भन्नका लागि धेरै कुरा छैनन्। कान पनि कम सुन्छु। के थाहा प्रश्नलाई न्याय गर्न सक्छु कि सक्दिनँ।'

थप केही नबोली आफ्नो पुस्तक पल्टाए। र, कविता वाचन गर्न थाले :

करोड मध्यको एउटा मामूली व्यक्‍ति जो हुँ म

मानो हज्जार मान्छे हुँ, तूफानी शक्ति पो हुँ।

मौसूफतिर बढ्दैछु, एउटा जोश छ साथमा,

आज यो गर्व, यही आँधी चढाउँ कि जुनाफमा।

कवितासँगै जोडे एक प्रसङ्ग। २०२९ साल कार्तिक २९ गते। पोखरामा कविगोष्ठी रहेछ। त्यहाँ वाचन गरेका रहेछन् 'कानले हेर्छ रे राजा’ भन्ने किम्वदन्ती सहितको यही कविता। तत्कालीन राजा श्री ५ वीरेन्द्र शाहको समेत उपस्थिति रहेको त्यस कार्यक्रममा राजालाई नै ‘तँ’ सम्बोधन गर्नु अनपेक्षित थियो सबैका लागि। त्यस सालिन सभामा जसरी प्रस्तुत भए त्यो कन्चनको स्वभाव भने होइन। कन्चन त प्रेमिल अनि संवेदनशील कविका रुपमा चिनिएको नाम हो।

राष्ट्रकवि माधव घिमिरेले कन्चनका बारेमा भनेका थिए, 'कविवर कन्चन पुडासैनी संगीतमय शैली र संवेदनशील हृदय भएका कवि हुन्। उनका सरल शब्दहरू भावमा बिलाउँछन्। र, उनका संवेदनशील भावहरूले शैलीलाई जिलाउँछन्। उनका प्रिय विषय हुन् सौन्दर्य र प्रेम।'

किशोरावस्थामा बसेको पिरतीमा धोका पाएपछि कवि भएका रहेछन् कन्चन।

'गज्जवको अवस्था थियो त्यो। म केही नगर्ने। चुपचाप एक्लिएर बस्ने भएको थिएँ। त्यतिखेर ममा न आशा थिए न इशा नै,‘ उनले कोरेर सपक्क बनाएको दाह्री मुसार्दै सुनाए, 'प्रेम असफल भएपछि लेखेरै आफूलाई अभिव्यक्त गर्न थालेँ।'

त्यतिखेरै आफ्नो हातमा मुनामदन परेको र ‘विचरी’ पात्र मुना र ‘अभागी’ पात्र मदनको दुखान्त कथाले झनै प्रभाव पारेको सुनाए। भने, 'त्यस काव्यको एक वाक्यले भने मलाई निकै सान्त्वना दियो। केही नगरी वियोगकै बारेमा सोचेर आफ्नो पीडा बढेको वोध भयो।‘

त्यो वाक्य थियो : 'भोलि फेरि छर्लङ्ग भयो। फेरि सूर्य उदायो।' त्यसपछि उनले आफूमा एक लेखक उदाइरहेको देखे।

यसरी बने रामकृष्णबाट ‘कन्चन’

काठमाडौंको पूर्वी भेग, गोठाटार। औपचारिक पढाईको सुरुवात भएकै थिएन। पढ्ने रहर गर्नेहरूका लागि पनि कहाँ सहज थियो र? रामकृष्ण पुडासैनी भने जहाँ पढाई हुनेबारे खबर पाउँथे त्यहीँ पुग्थे। कखरा सिक्ने रहरले, अहिले एयरपोर्ट भएको डाँडैडाँडो कुदाएको रहेछ उनलाई। नाङ्गो पैताला कुदेर कहिले पशुपति त कहिले सिनामंगलसम्म पुगेको स्मरण छ उनलाई।

पछि नागपोखरीमा गुरु शेषराज शास्त्रीसँग पढ्न थाले। त्यस समय उनका सहपाठी थिए लेखक भैरव अर्याल। वागमती वारी र पारी घर भएका उनीहरू खोलाको डिलैडिल हिँडेर एकअर्कासँग भेट हुने ठाउँसम्म पुग्थे। र, सँगै पढ्न जान्थे।

‘औपचारिक शिक्षा त होइन तर अलिअलि अक्षर चिन्ने भएपछि स्वअध्ययन गर्ने भोक बढ्दै गयो। लेख्ने जोश बढ्दै गयो,' पुडासैनीले सुनाए।

उनले पछि नेपाली र संस्कृतसँगै हिन्दी र अंग्रेजी भाषा पनि आफै पढेर जाने।

२०१२ सालको असोजमा पहिलो पुस्तक खण्डकाव्य 'प्रेम' तयार गरे रामकृष्णले। जसका लागि भूमिका लेखाउन पुगे कवि लक्ष्मीप्रसाद देवकोटाकोकहाँ। गुरु इतिहास शिरोमणि बाबुराम आचार्यले त्यहाँ पुर्‍याएका थिए उनलाई। देवकोटाले आलोचनात्मक प्रतिक्रिया दिए। सुझाव र सल्लाह पनि। त्यसपछि गति लियो पुडासैनीको लेखन यात्राले।

आफ्नो पुस्तकका लागि महाकवि समक्ष भूमिका लेखाउन पुगेका उनी कालान्तरमा देवकोटाकै साहित्यिक सहायक बने। त्यस समय रोयल नेपाल एकेडेमी भनिन्थ्यो, नेपाल प्रज्ञा प्रतिष्ठानलाई। एकेडेमीले लेखनाथ पौड्याल, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, माधव घिमिरेलगायत सबैका लागि साहित्यिक सहायक नियुक्त गरेको थियो। त्यहाँ कार्यरत् लक्ष्मीप्रसाद देवकोटाको सहायकका रुपमा नियुक्त भएपछि हो उनले अध्ययन बढाएको। त्यसअघि सिर्फ लेख्ने भोक थियो उनमा। पढ्न थालेपछि थाहा पाए निकै सुन्दर कुराहरू अरुले नै लेखिसकेका रहेछन्।

'सबै राम्रा कुराहरू लेखिसकेका छन् जस्तो लाग्न थाल्यो। आफूले केही मीठो कल्पिएँ भने पनि कसैको चोरेको जस्तो हुन्छ कि भन्ने भान हुन्थ्यो,' उनले सुनाए, 'तर कुशल साहित्यकारहरू सँगको संगत र प्रतिक्रियाले मलाई आफ्नो बेग्लै शैली निर्माण गर्न घच्घचायो।'

लक्ष्मीप्रसाद देवकोटासँगै काम गर्दा उनमा चुरोटको अम्मल बस्यो। यो धुवाँले केही बिगार्दो रहेनछ भन्ने बनायो। किनकि कविले दैनिक ४० वटा सम्म चुरोट उडाएको साक्षी बनेका थिए उनी। त्यही संगतले हो उनलाई रामकृष्णबाट कन्चन बनाएको पनि।

देवकोटा आफूले कल्पिएका विषयहरू वाचन गर्थे। त्यसलाई शब्दमा उतार्थे रामकृष्ण। उनले लेखेका पन्नाहरू निकै सफा देखिन्थे, केरमेटविहीन। उनको अक्षरको तारिफ गर्थे देवकोटा। अक्षर कन्चन भएकै कारण देवकोटाले उनको नाम फेरिदिए भन्ने कथा लेखियो कतै।

तर, उनलाई चिनाउने यस नामसँग देवकोटासँगै जोडिन्छन् कवि सिद्धिचरण श्रेष्ठ पनि। जसले रामकृष्णको कविता बुझ्ने र तीनको भाव नबिगारी उतार्न सक्ने क्षमताको खुलेर प्रशंसा गर्ने गरेको बताउँछन् उनी।

'श्रेष्ठले कविताको गहिराईलाई समेत यति कन्चनसँग बुझ्ने केटोको नाम त कन्चन हुनुपर्छ भनेपछि देवकोटाले पनि सहमति जनाउनु भयो र मेरो नाम परिवर्तन भयो,' उनले सुनाए।

त्यसपछि उनले आफ्ना कृतिहरू कन्चनकै नाममै प्रकाशित गरे।

कन्चनका लेखनहरूमा प्रेमको प्रभाव बढी देखिन्छन्। प्रेमलाई उज्यालो मान्छन् उनी। जुन उज्यालोले मानिसलाई छोड्दैन। उनका धेरै गीत, कवितामा चाँदनीलाई प्रेमको विम्बका रुपमा प्रस्तुत गरिएको छ। जसले अन्धकारलाई चिर्छ।

'जीवनमा धेरै प्रेम गरियो भनौं कि कतिपय प्रेमहरू आफै भए। क्षणिक आशक्ति र आकर्षणका घटनाहरू त झन् धेरै नै भए। ती आक्कल झुक्कल अझै पनि भइदिन्छ। तिनै भावलाई त हो नि शब्दमा उतार्ने,' उनले भने, 'प्रेमी हुनुमा आश्चर्यजनक आनन्दहरू हुँदा रहेछन्। तिनलाई शब्दमा उतार्नुमा अर्को विशेष आनन्द।'  

उनको पहिलो कृति ‘प्रेम’पछि अन्य ५ खण्डकाव्य प्रकाशनमा ल्याए। ६ वटा कविता सङ्ग्रह। एक- एकनिबन्ध र नाटक पनि। जसमध्ये ४ पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठान, एक जगदम्बा प्रकाशन र एक साझाबाट छापिए।

कन्चनको नाटक ‘अधिकारी’बारे बालकृष्ण समले आफ्नो धारणा राखेका रहेछन् : 'उहाँको लेखन हेरेर मैले आनन्दको अनुभव गरेको छु। वार्णिक छन्दमा कलम चलाउने थोरै कविहरूमध्येका सिद्धहस्तहरू मध्ये उहाँ एक हुनुन्छ। नाटक दृश्य काव्य हो। त्यसैले रङ्गमञ्चमा नउतारी यसको सफलता प्रकट हुन पाउँदैन। तर पनि यसलाई पढ्दा मैले त्यसको आशा देखेको छु।'

कवि पुडासैनी आफू भने भन्छन्, 'मात्रिक छन्दमा सबैभन्दा बढी लेख्नेमा दरिन्छु म।'

उनले २०४२ सालमा खण्डकाव्य ‘प्रत्यागमन’का लागि मदन पुरस्कार पाए।

उमेरले ८२ पुग्न लागेका उनी पुरस्कार भन्दा बढी अर्थ ती साहित्यिक हस्तीहरूको साथ, सहयोग, सल्लाह र प्रतिक्रियाले राख्ने बताउँछन्। 'त्यसैले हरेकले म र मेरा लेखनमाथि गरेका टप्पणी वा राखेका धारणालाई जोगाएर राखेको छु। यी म नरहे पनि रहिरहने कुराहरू हुन् ती,' उनले भने।

प्रेमिल शब्दहरूमा अनि भरियो धुन

कन्चन पुडासैनीले सधैं आफ्नो हृदयलाई लेखे। उनका अनुभूतिहरू किताब बनेर प्रकाशित भइरहेका थिए। त्यस समय कविहरूकै शब्दमा धुन भरेर रेडियो नेपालमा रेकर्ड गराउने चलनको सुरुवात भइसकेको थियो।

२०४१ सालमा कन्चनले लेखेको 'सरस्वती बन्दना' रेकर्ड गराउने प्रस्ताव आयो। नस्वीकार्ने कुरै भएन। स्वर दिइन् ज्ञानु राणाले। पहिलो पटक कन्चनका शब्दमा धुन भरियो। गीतका रुपमा भजन रेकर्ड भएपनि प्रेम र विरह नै उनको लेखनको प्रमुख विषय बन्यो। चाहे त्यो भजनशिरोमणि भक्तराज आचार्यले स्वर दिएको 'जून लाग्यो लेक ढाँकी' होस् या नारायण गोपालको 'तिमीलाई भुल्दा म एक्लो परेछु।'

२०४२ सालमा नारायण गोपालले आवाज दिएको उक्त गीत निकै रुचाइयो। रेडियो नेपालले गीत बजाउनु अघि दिने क्रेडिटमा 'कन्चन पुडासैनी'को नाम पनि बज्थ्यो। गोठाटारको डाँडोमा त्यस समय खुब घन्कियो त्यो नाम।

'किताबका पानाहरूमा अल्झिएका शब्द रेडियोमार्फत् गुञ्जँदा लाग्थ्यो – यी शब्दहरूले न्याय पाए। पढ्न नपाउनेहरूसम्म पुग्यो। सुन्न चाहनेहरूसम्म पुग्यो,' उनले भने।

पछि नागेन्द्र श्रेष्ठ र मिलन चखुँले गाएको ‘चाँदनीमा बग्छ खोलो...’ अर्को चर्चित गीत बन्यो।

एकदिन नाचघरका तत्कालीन उपकूलपति भेट्नका लागि पुगेका थिए कन्चन। भर्‍याङ उक्लँदै गर्दा संगीतकर्मी शम्भुजित बास्कोटाले बोलाए उनलाई। दोस्रो तलामा हार्मोनियमको तालमा रियाज गर्दै थिए उनी। कन्चन पुगेपछि आफूले नयाँ संगीत रचना गरेको र त्यसका लागि शब्द लेखिदिन आग्रह गरे। धुन सुनेर फर्किएका कन्चनले एक रात खर्चिएर लेखे : चाँदनीमा बग्छ खोलो चल्मलाई बोल्छ पानी, तिरतिरै आज एक्लै हिँड्छ बिरही आज… ।

'विरह हरेक मानिसले भोग्नै पर्ने परिस्थिति न हो। कसैले प्रेमको वियोग भोग्नु पर्दा कसैले अभावको तर यसबाट को भाग्न सक्छ र?,' उनी विरहका शब्द उन्नुको कारण बताउँछन्, 'आखिर कला साहित्यले झल्काउनु पर्ने नै जीवनको यथार्थ न हो।'

+++

नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेख्छन् उनी। अनुवादमा पनि विशेष रुची। कवि लक्ष्मीप्रसाद देवकोटासँगको सहकार्यपछि उनको अनुवादप्रति लगाव बढ्यो। त्यस्तै प्रभावका कारण उर्दु र हिन्दीमा समेत केही कविता लेखेका छन् उनले।

भाषालाई माध्यम मान्छन् उनी। लेखमा भावको भूमिका जति हुन्छ त्यसको चर्चा आवश्यक हुने बताउँछन्। त्यो भावले पाठक वा स्रोतालाई धेरै हदमा लेखकले चाहेजस्तै गरी छुने उनको तर्क छ।

उनको खण्डकाव्य 'आखिर'बारे राष्ट्रकवि घिमिरेले लेखेका छन् :

'प्रस्तुत काव्य टुक्रा टुक्रामा हेर्ने हो भने गीत हो। र समग्रततामा हेर्ने हो भने कथा पनि हो। यहाँ प्रकृति-वर्णन र प्रेमको अन्तरद्वन्द्वको चित्रण यति सरल र जिवन्त छ कि हामी पढ्दा पढ्दै त्यहीं पुग्छौं। जहाँ पुग्नुपर्ने हो। हामी पढ्दापढ्दै त्यही हुन्छौं जे हुनु पर्ने हो। यहाँ प्रेमले राष्ट्रियतालाई प्राणवन्त बनाएको छ। राष्ट्रियताले प्रेमलाई उदात्त बनाएको छ।'

तर, आजभोलिका शब्दहरूले पुग्नु पर्ने ठाउँमा कहाँ पुर्‍याउँथ्यो र?

हुन त उनका गीत नारायण गोपाल, भक्तराज आचार्यदेखि अन्जु पन्त र मिलन अमात्यसम्मको पुस्ताले गाए। तर, नयाँ गीतहरूमा केही खड्किएको छ उनलाई। जसमा हुनुपर्ने जति कल्पनशीलता नभएको महसुस गरेका छन्।

'एकछिन रमाउनका लागि वा क्षणिक चर्चाका लागि बन्ने गीतहरूले साहित्य र संगीत कतै पनि योगदान पुर्‍याउँदैन, ' उनले भने, 'स्रोताले वर्षौं सम्झने गीत छ भने त गीत बजे आनन्द आउँद। सर्जकले नामको लोभ गर्दैन।'

हुन पनि 'तिमीलाई भुल्दा म एक्लो परेछु...' सुन्ने धेरैले नारायण गोपाल र 'चाँदनीमा बग्छ खोलो...' सुन्नेले नागेन्द्र श्रेष्ठ सम्झेलान्। शब्द पछाडि लुकेको नाम कन्चन पुडासैनीलाई बिरलैले चिन्लान्। तर पनि खुशी छन् उनी। उनको कोठामा घाम पस्छ। न्यानो हुन्छ। शहरको कोलाहलबारे बेखबर छन्। कर्कश आवाज कानबाट नपस्दा दैनिकी आनन्द बनेको छ उनको।

केहीबेर अघि उनैले बनाएर राखिदिएको गिलासतर्फ इशारा गर्दै बोले उनी – पिउनुस्। गफ त सधैं यस्तै हो, सेलाएको हर्लिक्स मीठो हुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell