PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विप्लव र सरकारी टोलीबीचको वार्ता जारी, 'सहमति भए निलम्बन फुकुवा हुने'



विप्लव र सरकारी टोलीबीचको वार्ता जारी, 'सहमति भए निलम्बन फुकुवा हुने'
फाइल फोटो

काठमाडौं : नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको तेस्रो चरणको वार्ता शुरु भएको छ। सरकार र विप्लव समूहको वार्ता टोलीबीच तेस्रो चरणको वार्ता बिहीवार बिहान शुरु भएको हो।

आजको वार्ता निकै सकारात्मक रुपमा अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले जानकारी दिए। वार्ताले सकारात्मक निष्कर्ष निकाल्नेमा आफूहरु आशावादी रहेको नेम्वाङले बताए। 'वार्ता निरन्तर भइरहेकै छ। निकै सकारात्मक हिसाबले। वार्ताले सकारात्मक निष्कर्ष निकाल्नेमा आशावादी छौं,' नेम्वाङले भने।

पहिलो वार्ता बुधवार बिहान भएको थियो भने दोस्रो चरणको बुधवार साँझ। प्रधानमन्त्री निवास बालुवाटरमा जारी वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय समिति बनाएलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको थियो। सरकारी समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई छन्।

दुबै पक्षबाट आजै सहमति गर्ने सम्भावना रहेको बताइएको छ। सहमति भएमा मन्त्रिपरिषद्बाट निलम्बन फुकुवालगायतका आवश्यक निर्णय गर्ने तयारी सरकारले गरेको छ।

चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी 'विप्लव' समूहलाई प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै प्रतिबन्ध लगाएको थियो। २०७५ फागुन २८ गते 'विप्लव' समूहलाई राजनीतिक पार्टीबाट अलग गरेर प्रतिवन्ध लगाइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell