PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

जनकपुर साहित्य महोत्सव : एसिड पीडित आरतीको आक्रोश, ‘एसिड फ्याक्नेलाई मात्र हैन बेच्नेलाई पनि कारबाही होस्’



सुमित मिश्र

जनकपुर साहित्य महोत्सव : एसिड पीडित आरतीको आक्रोश, ‘एसिड फ्याक्नेलाई मात्र हैन बेच्नेलाई पनि कारबाही होस्’

जनकपुरधाम : जनकपुरधाममा जारी ४ दिवसिय दोस्रो जनकपुर साहित्य महोत्सवको दोस्रो दिन आज यहाँको भाषा तथा संस्कृतिको ईतिहास, माता जानकी, यहाँको पर्यटनका साथै एसिड पीडित महिलाको आक्रोश लगायतका विषयमा गन्थन मन्थन भएको छ।

आज जानकी मन्थन शिर्षकको सत्रबाट शुभारम्भ भएको महोत्सवमा मैथिलीका बरिष्ठ साहित्यकार डा राजेन्द्र प्रसाद विमलले माता जानकीको जन्म, चरित्र तथा नारीत्वको विषयमा प्रवचन दिएका थिए। उनले सो सत्रमा विभिन्न रामायणमा उल्लेख जानकी जन्म र व्यक्तित्वको विषयमा प्रकाश पारे।

दोस्रो सत्र : जाऔँ जनकपुर सुदर्शनजीसँग

जानकी मन्थन सत्र समाप्त भए लगत्तै जनकपुरधामको पर्यटनलाई बढावा दिने उद्देश्यले राखिएको जाऔँ जनकपुर सुदर्शनजीसँग सत्रमा मानसी अग्रवालले जनकपुरधाममा पर्यटनको प्रचुर सम्भावना रहेको बताइन्। जनकपुरधामको पहिलो टुरिष्ट गाइड सुदर्शनलाल कर्णसँग कुरा गरिरहँदा अग्रवालले जनकपुरधामको सौन्दर्यताको वर्णन गरिन्। यद्यपि पर्यटकलाई जनकपुरधाममै टिकाउनका लागि कुनै पनि ठोस योजना नरहेकोमा चिन्ता व्यक्त गरिन्।

आफू नेपालको मानांग मुस्ताङ, रारा ताल र जनकपुरधाम घुम्न लालायित रहेको र जनकपुरधाम आएपछि यो सपना साकार भएको बताउँदै यहाँका मन्दिरहरुमा रहेका मनमोहक कलाकृतिले आकर्षित गरेको बताइन्। मानसीले यहाँको लोक नृत्य झिझिया, मिथिला चित्रकला र लस्सी असाध्यै मन परेको अनुभव समेत सुनाइन्।

उनले भनिन्, ‘यी तीन चिजले मलाई यति आकर्षित गर्‍यो कि आफू यहाँको नृत्य झिझिया र मिथिला चित्रकला सिकेको र लस्सी दिनमा ३ पटकसम्म खाए।’

यद्यपि जनकपुरधामका यी धरोहरहरुलाई प्रचारप्रसार गर्न नसक्दा जनकपुरधामको पर्यटनलाई फड्को मार्न नसकेको मानसीले बताइन्।

तेस्रो सत्र : मैथिली साहित्यको र इतिहास

मैथिली साहित्यको इतिहास सत्रमा डा रामावतार यादव र रोशन जनकपुरीले बहस गरेका थिए। डा यादवले मैथिली भाषामाथि आफ्नैले पटकपटक आक्रमण गर्दा यसले आफ्नो समृद्धि गुमाउँदै गएको तितो यथार्थ हामी सामु रहेको बताए। उनले मैथिली भाषा मेरो हो भन्नेहरुले नै यसको संरक्षण तथा सम्वर्द्धनका लागि अगाडि नआएपछि यस्तो अवस्था श्रृजना भएको बताए।

उनले भने, ‘मैथिली भाषाको मिठास अझै जीवित छ भने यसको श्रेय विदेशी विद्वानहरुको हातमा जान्छ न कि हाम्रो।’

सोही सत्रमा साहित्यकार जनकपुरीले मैथिली भाषाको निजत्व अहिलेपनि गाउँ घरमा रहेका कथित तल्लो तप्काका व्यक्ति, मजदुर किसानहरुले बचाएको बताए। उनले मैथिली भाषामा संस्कृत भाषा हावी हुँदै गएपछि यसले आफ्नो निजत्व गुमाएको यथार्थ सबैले स्वीकार गर्नु पर्ने बताए।

चौथो सत्र : सौन्दर्य भित्र सौन्दर्य बाहिर

जनकपुर साहित्य महोत्सवको चौथो सत्र सौन्दर्य भित्र : सौन्दर्य बाहिरमा एसिड आक्रमणबाट पीडित आरती साह पनि सहभागी थिइन्। आरतीले सो सत्रमा आफ्नो विचार राख्दै गर्दा एसिड फाल्नेलाई जस्तै एसिड बेच्नेलाई पनि कडा कारबाही हुनु पर्ने माग गरेकी छन्। उनले एसिड फाल्ने तथा एसिड बेच्ने दुवैलाई जन्मकैदको सजाय हुनु पर्ने माग गरिन्।

उनले भनिन्, ‘एसिड फाल्ने मेरो श्रीमानकै कारण मात्र नभई एसिड बिक्री गर्ने व्यापारीका कारण समेत मेरो यस्तो अवस्था आएको र यस्तो दुःखदायक पीडा मेरो अन्य कुनै बहिनीलाई नहोस्।’

आरतीले बिना लाइसेन्स पनि व्यापारीहरु एसिड बिक्री गरिरहेकाले एसिड फाल्ने घटना बढि रहेको भन्दै आक्रोश व्यक्त गरिन्।

आफ्नो पुरानो तस्बिर सहित पुगेकी आरतीले तस्बिर देखाउँदै भनिन्, ‘यो आरती मरिसकेको छ र अब यो आरती जीवित छ। अब जे मेरो स्वरुप छ त्यो स्वरुपमा बाँच्नका लागि समाजको सहयोगको आवश्यक्ता छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell