PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विप्लवले सत्तासँग साझेदारी गरे हाम्रो सहमति हुँदैन : मोहन वैद्य, 'तर सकारात्मक कुरा संसदभित्र संकटैसंकट आउनेवाला छ'



विप्लवले सत्तासँग साझेदारी गरे हाम्रो सहमति हुँदैन : मोहन वैद्य, 'तर सकारात्मक कुरा संसदभित्र संकटैसंकट आउनेवाला छ'

तत्कालीन मोहन वैद्य 'किरण' नेतृत्वको तत्कालीन नेकपा-माओवादीबाट एकीकृत जनक्रान्तिको नारा लिएर अलग भएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा र सरकारबीच तीन बुँदे सहमति भएको छ। दुई वर्ष अगाडि सरकारले प्रतिबन्ध लगाएको यो समूहसमेतको सहभागितामा गठित चार दलीय संयुक्त रणनीतिक मोर्चा संसदीय व्यवस्था खारेजी र संयुक्त क्रान्तिकारी सरकार गठनको नारासहित संघर्षमा छ। यही सेरोफेरोमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटन र पुन:स्थापना, सरकार-विप्लव समूहकाबीच भएको वार्ता र सहमतिका विषयमा पहिलोपोस्टका लागि विधुर ढकालले रणनीतिक मोर्चाभित्रको एक घटक नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण' लाई सोधेका छन्

पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी विश्लेषण गर्नुहुन्छ?

पछिल्लो राजनीतिक घटनाक्रम खासगरी प्रधानमन्त्री द्वारा प्रतिनिधिसभाको विघटन, मध्यावधिक निर्वाचनको घोषणा अनि सर्वोच्चमा परेका रिट, पुन:स्थापना गर्ने आदेश, सबैभन्दा ठूलो पार्टी डबल नेकपाभित्रको चरम आन्तरिक कलह, राजनीतिक आर्थिक, सांस्कृतिक हरेक क्षेत्रमा पैदा हुँदै गएका संकट यही पृष्ठभूमिमा अहिलेको राजनीति घुमिराखेको छ। यो घटना क्रमलाई हामीले विश्लेषण गर्दा हाम्रो पार्टीले दुई वटा कुरा भनेको छ, खासगरी।

एउटा संसदीय व्यवस्था असफल भयो। जतिसुकै कुरा गरेपनि अब संसदीय ब्यवस्थाले देश र जनताका समस्याहरु हल गर्न सक्दैन। राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान वर्तमान संसदीय ब्यवस्थाबाट र वर्तमान पुरानो राज्य सत्ताबाट पनि प्रतिक्रियावादी राज्यसत्ताबाट पनि हल हुन सक्दैन। त्यसकारणले यि राजनीतिक परिघटनाहरु संसदीय व्यवस्थाको असफलताको अभिव्यक्तिहरु हुन्। दोस्रो, नेपालमा यद्यपि दक्षिणपन्थी संशोधनवादको वर्चस्व छ। तर पनि त्यो एकदम असफल हुँदै गइरहेको छ। सरकारमा गइसकेपछि दुई तिहाई बहुमतका कुरा गर्ने, समृद्ध नेपाल सुखी नेपालीका कुराहरु गर्ने र जनतामा एउटा भ्रम छर्ने काम गर्दै आएका हुन्।

अब आखिर उनीहरुको अन्तरकलहका कारणले समाप्त भयो। उनीहरुको बहस कुनै सैद्धान्तिक नभएर पद प्रतिस्ठा र स्वार्थका लागि थियो। त्यसकारणले अब देशमा संसदीय व्यवस्थाबाट पनि, पुरानो राज्यसत्ताबाट संकटको निकास हुन सक्दैन। यी संशोधनवादीहरुले पनि सक्दैनन्। यो स्थितिमा क्रान्तिकारी शक्तिहरु यद्यपि कमजोर छन्, अलि सशक्त बनेर अगाडि आउनुपर्छ। र सामाजिक रुपान्तरण र क्रान्तिको निम्ति एउटा तयार हुनुपर्छ र यो सत्ता र व्यवस्थाको विरुद्धमा नयाँ विकल्प प्रस्तुत गरेर जानुपर्छ भन्ने हामीले ठहर्‍याएका छौँ।

नयाँ विकल्पको कुरा गर्नु भयो, नयाँ विकल्प के, कस्तो हुनुपर्छ?

विकल्प भनेको कस्तो भन्नुहुन्छ भने, अब सर्वोच्चले त पुन:स्थापना गर भनेर भन्यो। त्यो विकल्प हुनै सक्दैन। वास्तविक विकल्प हुन सक्दैन। मध्यावधिक निर्वाचनमा गएको भए पनि वास्तविक विकल्प हुन सक्दैनथ्यो। र हाम्रो कुरा के हो भने यो पुरानो राज्य सत्ताको पनि अन्त्य हुनुपर्छ र यो संसदीय व्यवस्थाको पनि अन्त्य हुनुपर्छ। नेपालमा नयाँ जनवादी राज्य सत्ताको स्थापना हुनुपर्छ। र यही प्रक्रियामा वैज्ञानिक समाजवाद को निर्माण गर्ने दिशातर्फ जानुपर्छ। हाम्रो विकल्प यही हो।

विकल्प भन्दै गर्दा रणनीतिक मोर्चा पनि बनाउनु भएको छ। यसको उद्देश्य के हो?

रणनीतिक संयुक्त मोर्चाको उद्देश्य केहो भन्नुहुन्छ भने- एउटा उद्देश्य त वर्तमान प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाका विरुद्ध नेपालमा जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवादको दिशातर्फ जाने भन्ने हाम्रो एउटा उद्देश्य त्यो हो। अर्को पक्ष के छ भन्नुहुन्छ भने हामी यो संयुक्त मोर्चामा संलग्न भएका शक्तिहरु सबे कम्युनिस्ट शक्तिहरु छ। सम्भवत त्यसमा मात्र सीमित हुने होइन। क्रान्तिकारीहरुकाबीचमा पार्टी एकताका सम्भावनाहरु के के छन् भनेर पार्टी एकतासम्म पनि जानुपर्छ। यद्यपि मदभेदहरु पनि छन्। यी चिजहरुमा प्रष्ट रुपमा छलफल गर्दै पार्टी एकताको दिशातिर पनि जानुपर्छ भनेर हामीले हाम्रो उद्देश्य तयार गरेका छौँ।

त्यही रणनीतिक मोर्चाको घोषणा गर्दा संयुक्त सरकारको माग पनि राखिएको छ, कस्तो सरकार भन्न खोज्नु भएको हो?

हामीले भनेको यो संसदीय व्यवस्थाभित्र बनेको सरकार होइन। संसदीय व्यवस्था भन्नुस् या यो प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गतको सरकार भनेको होइन। हामीले जनताको सरकार नयाँ एउटा जनसत्ता स्थापना गरेर बनाइने सरकारको हामीले कुरा गरेको हो। कुनै एउटा पश्चगामी सरकारहरु यथास्थितीवादी सरकारहरु होइन् भन्नुस्। यो संसदीय व्यवस्थाभित्रको परिधिमा पनि होइन। प्रतिक्रियावादी राज्यसत्ताको परिधिमा पनि होइन। एउटा क्रान्तिकारी सरकार, जनगणतान्त्रिक सरकार भनेर भन्नुस् न। हामी जनगणतान्त्रिक सरकारको निर्माण गर्दै अगाडि बढेर जानुपर्छ भन्ने कुरा हो। यद्यपि कतिपय कुराहरु अमूर्त छन्। तिनलाई हामीले प्रष्ट पार्दै जानुपर्छ भनेका छौँ। मुल रुपमा यो सरकार अहिलेकै परिवेशमा यही सामाजिक आर्थिक अवस्थामा र यही संसदीय व्यवस्था अन्तर्गतको सरकार होइन।

हिजो माओवादी जनयुद्यको बेला पनि जनसरकार स्थापना गर्ने भन्दै समानान्तर सरकार सञ्चालन भएको थियो। वार्ता गरेर संयुक्त सरकार भनेर काँग्रेसको नेतृत्वमा सरकारमा पनि सहभागि भयो। त्यही किसिमको केही समय आन्दोलन गर्ने केही समय शक्ति आर्जन गर्ने, अनि तिनै पुरा सरकारसँग वार्ता गर्ने सहमति गरेर फेरी त्यही सरकारमा जाने। यस्तो शक्ति आर्जनको कुरामात्र गर्ने? चारवटा कमजोर कम्युनिस्ट पार्टी एक भएर शक्ति आर्जन गरेपछि बार्गेनिङ पावर पनि बढ्ला?

त्यस्तो होइन। हामीलाई के थाहा छ भने त्यस खालको सरकार बनाउन एउटा प्रभावकारी संघर्षको आवश्यकता पर्छ। क्रान्तिकै आवश्यकता पर्छ भनेर भन्नुस्। क्रान्ति नगरिकन, एउटा प्रभावकारी संघर्ष नगरिकन त सरकार स्थापना कुनै पनि हालतमा हुँदैन। अहिलेको को हाम्रो सोच के हो भने- यो सरकार एउटा आन्दोलनको नारा हो भनेर भन्नुस् न। अहिले हामीले सरकारको नारालाई हामीले आन्दोलनको नाराको रुपमा लिन्छौँ। जसलाई हामीले एजिटेसनल स्लोगन भन्न सक्छौँ। र, संघर्ष अगाड बढ्दै गयो, राम्रो स्थिति आयो भने पछि हामीले कारवाही मुलक सरकारको रुपमा विकसित हुन्छ। जहाँसम्म बार्गेनिङ भन्ने छ। विभिन्न मान्छेले विभिन्न ढंगले भन्छन्। त्यो अलग कुरा भयो। हामीले एउटा शक्ति आर्जन गरेर संघर्षकाबीचबाटै त्यस्तो सरकार निर्माण गर्ने हो।

भनेको हिजोको जनसरकार जस्तै समानान्तर सरकार चलाउँदै पुरानो सत्तालाई प्रतिस्थापन गर्ने भन्न खोज्नु भएको?

त्यही खालको सरकार भनेर त अहिले ठ्याक्कै नभनौँ। त्यसमा दुई वटा कुरा छन्। एउटा कुरा के हो भने, जनयुद्धको बेला हामीले जुन सरकारको नारा दियौँ त्यतिबेला जनयुद्धको उचाइ थियो। एकप्रकारले जनसरकार र जनसत्ताको गठन भइरहेका थिए। त्यो अवस्थामा हामीले केन्द्रीय रुपमा एउटा जनसरकार जनसत्ता हुनुपर्छ भन्ने हिसाबले हामीले त्यो कुरा गरेका थियौँ। यद्यपि त्यो बेला दिएको सरकार पनि कार्यनीति प्रकारको थियो। एउटा कारवाही मुलक प्रकारको अलि बढी थियो। अहिलेको हामीले भनेको सरकार तुरुन्त कारवाही मुलक अवस्थामा छैन। पहिलो फरक त्यहाँ छ। दोस्रो कुरा, त्यस किसिमको सरकार जो थियो एउटा संविधानसभामा पनि महत्त्वपूर्ण भूमिका खेलेर नयाँ जनजनवादी सत्ताको स्थापना सम्म पुर्‍याउँछ भन्ने हाम्रो योजना थियो। सोच थियो। तर, भयो के त भन्नुहुन्छ भने- त्यस खालको सरकारमा त सहभागि भइयो। तर पार्टीभित्र जुन अवसरवाद देखा पर्‍यो - त्यसले के गर्‍यो भने आफ्नो रणनीति, नयाँ जनवाद भन्नुस् यी सब चिजहरुलाई छाडेर यही संसदीय सत्तालाई यही लोकतान्त्रिक गणतन्त्र भन्नुस् न यसलाई सर्वेपरी मानेर गयो। त्यसले धोका दियो भन्नुस्। एउटा त्यो धोकामा परिणत भयो। अर्को त्यो बेला सरकारको नारा दिन अझ त्यसलाई अन्तरिम सरकार भन्नुस् न त्यो परिपक्क भएर गइरहेको थियो। तर, अहिले त्यस खालको परिस्थितिहरु निर्माणका लागि हामीले धेरै मिहेनत गर्नुपर्छ। आत्मगत परिस्थितिको निर्माणका लागि हामीले धेरै मेहनत गर्नुपर्छ।

तपाईँहरुसँग रणनीतिक मोर्चाभित्र रहेको पार्टी नेत्रविक्रम चन्द 'विप्लव'को पार्टी नेकपा, तपाईँले नै नेतृत्व गरेको पार्टीबाट अलग भएर एकीकृत जनक्रान्ति भनेर संघर्षमा गएको थियो। अब उहाँहरुले भनेको एकीकृत जनक्रान्ति र तपाईँहरुको सैद्धान्तिक मिलनविन्दु कहाँ छ?

यसको मिलनविन्दु भनेको दुईवटा ठाउँमा हो। एउटा ठाउँ पुरानो राज्य सत्ताकाविरुद्ध नयाँ राज्यसत्ताको स्थापना। अथवा जनविरोधी राज्यसत्ताका विरुद्ध जनताको राज्यसत्ताको स्थापना हुँदै वैज्ञानिक समाजवाद तिर जानका लागि सहमति। एउटा सहमति यहाँ नेर भएको छ। अर्को सहमति भनेको के हो भने पार्टी एकताको पनि प्रयास गरौँ भनेर सहमति त्यतातिर पनि उन्मुख छ।

अर्को कुरा यावत विषयमा कसरी जाने भन्ने कैयौँ कुराहरु विषयहरु छलफल गरेर जाने भन्ने छ। छलफल बहस गर्दै अब कसरी अगाडि बढ्ने हो भन्नेबारे हामी गम्भिरतापूर्वक सोच्छौँ।

विप्लव जीहरुले तपाईँहरुबाट अगाडि बढ्दा एकीकृत जनक्रान्तिसँग सत्ता साझेदारीको पनि कुरा गर्नु भएको थियो? तपाईँहरु सत्ता साझेदारीमा कहाँ नेर मिलनविन्दुमा पुग्नुहुन्छ? अर्को जनमतको कुरा पनि उहाँहरुले गर्नुभएको छ।

विप्लव जीहरु सत्तासाझेदारीको कुरा अलि अगाडि गर्नुहुन्थ्यो। पछि आएर सत्ता साझेदारीको कुरा गरेको थाहा छैन। उहाँहरुले यही सत्तासँग साझेदारी गर्ने हो भने हाम्रो सहमति हुँदैन। यही सत्तामा साझेदारी गर्ने भनेर हामीले रणनीतिक मोर्चा बनाएका होइनौँ। सत्ता साझेदारीका विषयमा सहमत हिजो पनि भएका थिएनौँ। विरोध गरेका थियौँ। र अहिले पनि त्यस प्रकारको सत्ता साझेदारी उपर्युक्त छैन। गरिदैँन भन्ने हो हाम्रो कुरा। अब उहाँहरुले के गर्नुहुन्छ। त्यो उहाँहरुको कुरा हो। त्यो हामीले हेर्छौँ। उहाँहरुले कसरी सम्झौता गर्नु भएको छ। यद्यपि के हो भने- एउटा स्वतन्त्र पार्टीले वार्तामा जाने, आफ्ना विषयहरु राख्न सक्ने त्यो कुरा वार्ता एउटा कार्यनीतिकै विषय हो। वार्ताबाट खास खास सहमति गर्ने भन्ने उहाँहरुको कुरा हो। तर उहाँहरु वार्तामा गएर अब उहाँहरुले सहमति गरेर हाम्रो रणनीतिक संयुक्त मोर्चालाई अफ्ठेरो पार्ने कुरा गर्नुभयो भने हामी कहाँ सहमत हुन सक्छौँ र? कस्तो गर्नुहुन्छ भनेर हामीले उहाँहरुलाई भन्ने कुरा पनि भएन। त्यसकारण यो विषय रणनीतिक मोर्चामा कस्तो प्रभाव पर्ला भन्ने विषय अहिले नै नभनौँ। किनभने उहाँहरुले कहाँ कहाँ के के सहमति गर्नु भयो? त्यो शुक्रवार आउँदै छ।

रणनीतिक मोर्चाको एक घटक वार्तामा बस्दै गर्दा तपाईँहरुसँग केही सुझाव लिन भयो होला? तपाईँहरुले पनि केही त सुझाव दिनुभयो होला?

सुझाव दिने भन्ने कुरा केही पनि होइन। मुल कुरा के हो भने- हाम्रो मान्यता पनि के हो भने- स्वविवेकले जान सकिन्छ। हामीसँगको सल्लाह सुझाव अनुसार वार्तामा जानुपर्छ भन्ने खालको भन्ने कुरा त भएन। हामी त्यो कुरामा हामी किन प्रतिवद्ध हुन्छौँ, र? हामी प्रतिवद्ध हुने कुरा पनि भएन। उहाँहरुको अधिकार हो- वार्तामा जाने सम्झौता गर्ने उहाँहरुको कुरा हो। तर, त्यो सम्झौता यी सबै चिजहरु हाम्रो संयुक्त मोर्चा अनुकल हुन्छ की प्रतिकुल हुन्छ भन्ने हो। देश र जनताको पक्षमा हुन्छ की देश र जनताको विपक्षमा हुन्छ, भन्ने कुराले निर्धारण गर्छ। उहाँहरुले कुन कुन कुरामा सहमत हुनुहुन्छ। कसरी आउनुहुन्छ? त्यो हेरेर मात्र हामीले भन्ने कुरा भयो। हामीले बहस गरेर सबै यो हुनुपर्छ। यस्तो हुनुपर्छ भन्ने कुरा भएन। विभिन्न पार्टीलाई सबैलाई हामीले सुझाव दिन सक्छौँ। तर, त्यस्ता खालका सुझाव दिँदा खेरी हामीले चाँही एउटा क्रान्तिकारीले वार्ता सम्बाद गर्दा उ झुक्नु हुँदैन। आफ्नो बाटो बदल्नुहुन्न भन्ने दिशातिर जानुपर्छ। अहिले त्यो कुराहरु नभनौँ। उहाँहरुको सबै चिज आइसकेपछि हामीले भन्ने कुरा हुन्छ। अहिले केही भन्न सकिँदैन।

उहाँहरुले जनमतको कुरा पनि गर्नुभएको छ, अबको एक वर्षपछि स्थानीय तह, अर्को वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। तपाईँहरुले पनि अघिल्लो चुनावमा देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा चुनावको उपयोग गर्नुभएको थियो। अहिले तपाईँहरुले बनाएको रणनीतिक मोर्चा त्यो निर्वाचनमा विप्लवजीले भन्दै गरेको जनमत र तपाईँहरुले भन्दै गरेको निर्वाचनको उपयोग, यसमा मोर्चा अगाडि बढ्छ?

पहिलो कुरा विप्लव जीले जनमतको कुरा गर्नुभयो यो कुरा फाट्फुट्ट पनि आइराखेको छ। हामी उहाँहरुको जनमतसम्बन्धित अवधारणासँग हामीँ चाँही सहमत पनि छैनौँ। त्यो वारेमा हाम्रो छलफल बहस पनि भएको छैन। जनमतको कुरा उहाँहरुले ल्यााएको कुरा सुनिन्छ। तर, त्यो बारेमा छलफल बहस भएको छैन। कस्तो खालको जनमत हो के हो? यि कुराहरु लिखित रुपमा प्रष्ट धारणा नआउँदा सम्म हामीले केही भन्ने कुरा भएन। तर, हामी त्यस खालको जनमतको कुरामा हामी सहमत छैनौँ।

हाम्रो देशभक्त जनगणतान्त्रिक मोर्चाको कुरा गर्नुभयो- हाम्रो मोर्चाको कुरा के हो भने यो पनि एक प्रकारको संयुक्त मोर्चा जस्तै जस्तै हो। र यो दर्ता भएको पनि छ। र चुनाव सम्बन्धमा हाम्रो दृष्टिकोण के हो भन्दा यो कार्यनीतिक प्रश्न हो। मार्क्सवादी लेनिनवादीहरुले चुनावलाई कार्यनीतिक प्रश्न मान्छन्। रणनीतिक प्रश्न मान्दैनन्। आवश्यकता अनुसार यसको उपयोग पनि गर्न सकिन्छ। बहिस्कार पनि गर्न सकिन्छ। तर, चुनावी मोर्चाबाट राज्यसत्ता प्राप्त हुँदैन। हाम्रो नयाँ राज्यसत्ता प्राप्त गर्ने, जनताको राज्यसत्ता प्राप्त गर्ने रणनीतिमा यसले सहयोग पुर्‍याउँछ यो कार्यनीतिले भन्ने कुरा एउटा हो। त्यस अर्थमा हामीले कुनै बेला परिस्थितीको विश्लेषण गरेर उपयोग पनि गर्न सक्छौँ। कुनै वेला बहिस्कार पनि गर्न सक्छौँ। तर, यही नै सबैथोक हो। राज्यसत्ता प्राप्तिको सबै साधन हो भनेर हामीले त्यसखालको मोर्चालाई हामीले बनाएका होइनौँ। भविष्यमा भोलि कसरी जान्छ? भन्ने कुरा अहिले विश्लेषण गर्ने कुरा भएन्। भोलीको परिस्थति अनुसार जाने खालको कुरा भयो। र त्यो स्वतन्त्र ढंगले संयुक्त मोर्चा चुनावी मोर्चाकै रुपमा अगाडि बढ्ने मोर्चा भने होइन।

क्रान्तिको कुरा गर्नुभएको छ। हिजो पनि क्रान्ति भयो धोका भयो, अब फेरी क्रान्ति भन्दै गर्दा तपाईँहरुले त्यो साथ पाउनुहुन्छ? हिजो साथ दिने जनताले आज/भोलि साथ देलान?

तपाईँले हिजो भनेर प्रचण्डजी बाबुराम जीहरुलाई भन्न खोज्नुभएको होला। (जनयुद्धको नेतृत्व?) हजुर जनयुद्धको- अब बाबुरामजीले त मार्क्सवाद नै छाडिसक्नुभयो। उहाँको बाटै अर्को पर्‍यो। अब प्रचण्ड जीहरुले पनि मुखले त भन्नुहुन्छ। सार त छाड्नुभयो। संसदीय व्यवस्थाबाट शान्तिपूर्ण तरिकाले जाने भनिसकेपछि हामीले जनताको राज्यसत्ता स्थापना गर्दै वैज्ञानिक समाजवाद भनेका छौँ। त्यो बाटोमै फरक पर्‍यो। उहाँहरु क्रान्तिको तरिकाले होइन शान्तिपूर्ण तरिकाले समाजवाद ल्याउँछौँ भन्नुहुन्छ। तर, उहाँहरुको समाजवाद क्रान्तिकारी समाजवाद होइन। त्यो समाजवाद कस्तो हो भने?- एउटा अवसरवादी समाजवाद, अथवा भन्नुस्- प्रतिक्रियावादी समाजवाद पनि त हुन्छ। होइन र? समाजवाद भन्ने त सर्वहारावर्गको राज्यसत्तासँग जोडिएको हुन्छ। उहाँहरुको समाजवाद त सर्वाहारवर्गको राज्यसत्तासँग जोडिएको देखिँदैन। यही संसदीय व्यवस्थासँग जोडिएको हो। त्यसकारणले उहाँहरुसँगको सम्भावना चाँही छैन। तर, ति पार्टीहरुमा पनि क्रान्तिकारी साथीहरु त छन् थुप्रै। नेताहरु त अवसरवादी भए। तर, क्रान्तिकारी साथीहरु त थुप्रै छ। हो तिनै क्रान्तिकारी साथीहरुले सोच्नुपर्छ। त्यो बाटोबाट हुँदैन। सच्चा क्रान्तिकारी एकतावद्ध भएर जानुपर्छ। शक्ति बढाउनुपर्छ। भन्ने हो। अरु क्रान्तिकारीहरुसँग पनि कार्यगत एकता, संयुक्त मोर्चा गर्दै पार्टी एकताको पनि आधार पार्दै जानुपर्छ भन्ने हो। हिजोको जनयुद्धमा गएका ति नेताहरु अहिले संसदीय व्यवस्था मानेका छन् उनीहरुबाट देश र जनताको मुक्तिको निम्ति क्रान्तिको निम्ति, साथ पाइएला भन्ने सम्भावना छैन। क्लिएर त्यही हो।

अहिले तपाईँहरु क्रान्ति भन्दै हुनुहुन्छ। अर्कोतर्फ अर्को कम्युनिस्ट पार्टी सत्तामा छ। उसले समृद्ध नेपाल सुखी नेपाली भन्दै विकासको नारा दिइरहेको छ। विकास र समृद्धिलाई साथ नदिएर तपाईँले भनेको क्रान्तिको कठिन बाटोलाई जनताले किन साथ दिने?

उहाँहरुको 'समृद्ध नेपाल सुखी नेपाली' त तीन वर्षसम्म देखियो हेर्नुस्। समाजवाद ल्याउँछौँ भन्ने आर्थिक प्रगति ल्याउँछौँ भन्ने तर उहाँहरुको जम्मै पुजिवादी साम्राज्यवादी विचारधाराद्वारा निर्देशित सोच छ। अर्थतन्त्रमा भन्नुहुन्छ भने त अहिले मक्किसकेको, विश्वमा असफल भइसकेको नवउदारवादी अर्थतन्त्र, सम्पूर्ण निजिकरण गरिदिने। बजार अर्थतन्त्र, कृषि क्षेत्रमा पनि त्यही परिपाटी ल्याएर जाने। सबै ध्वस्त पार्ने छ। भन्ने त विकासको कुरा छ। तर, सबै देशको राष्ट्रिय अर्थतन्त्रलाई ध्वस्त पारेर एउटा साम्राज्यवादबाट ल्याइएको नवउदारवादी आर्थिक नीति अनुसार उहाँहरु गइरहनु भएको छ। त्यो त दुनियाँले देखेको छ। त्यसकारणले उहाँहरुले विकास समृद्धि भन्ने कुरा वाहियात कुरा हो। अर्को कुरा सामान्य खालको विकास प्रगति भन्ने कुरा त इतिहासमा पञ्चातमा पनि केही विकास त भएकै हो। राणाहरुले पनि केही विकास गरेकै हो। त्यस्ता मातहतमा थोरबहुत विकास त हुँदै जान्छ। तर, जुन आमुल परिवर्तनको कुराहरु हो- आर्थिक क्षेत्रमा धनी र गरिबको भेदभाव मेटाउन पर्‍यो नि त समाजवाद भनेपछि। धनीहरुलाई एकदम अत्याधिक धनी हुन दिने गरिबहरुलाई एक दम थिचेरै राख्ने भन्ने स्वतन्त्रता समानता। समानता कहाँ हो? अर्थतन्त्रमा समानता हुनुपर्‍यो नि त। नवउदारवादलाई बोकेर गएपछि अर्थतन्त्रमा समानता त हुँदै हुँदैन भन्नुस्। यही अर्थतन्त्रले हामीले देखेका छौँ नी। मजदुरहरुको बेहाल छ। भएको जागिरबाट पनि हटेर जानुपरिराखेको छ। करारप्रथा ठेकेदारी प्रथा यिनीहरुले तबाह भइरहेको छ। तलब छैन भने जति। उहाँहरुले देश र जनताको सेवा गर्ने होइन मुठ्ठीभर दलाल पुजिपतिहरुको सेवा गरेर जाने खालको कुरा हो। भन्दा उहाँहरुले समाजवाद नै भन्नुहुन्छ। त्यसकारणले यसलाई धज्जी उडाएर जानुपर्छ। विकास हुँदै यसबाट। विकास हुने खालका कुराहरु हुँदैन भनेर हामीले भण्डाफोर गरेर जानुपर्छ। त्यसकारणले जनजीविकाको समाधान गर्ने दिशामा उहाँहरु हुनुहुन्न भन्नेमा प्रष्ट हुनुस्।

सत्तामा रहेर आर्थिक विकासका विषयमा 'भ्रममा पारे' तपाईँहरुको विचारमा अर्को तिर, क्रान्ति आवश्यक छ। तत्कालै छ, भनेर तपाईँहरुबाट अलग भएका विप्लवजीहरु फेरि यही सत्तासँग वार्ता गरेर शान्तिमा आउनुपर्ने रैछ। भनेपछि त क्रान्ति पनि त भ्रम रैछ भन्ने देखियो नि?

पहिलो, क्रान्तिभन्दा वित्तिकै क्रान्ति हुन्छ भन्ने खालको कुरा होइन। क्रान्ति गर्नका निम्ति मिहिनेत गर्नुपर्छ। तात्तातै अहिले नै भइहाल्छ भन्ने होइन। लामो तयारी गरेर क्रान्ति गर्नुपर्छ भन्ने क्रान्तिको कुरा त्यो हो। दोस्रो, क्रान्तिको कुरा गरेर क्रान्तिलाई धोका दिने मान्छेहरु पनि हुन्छन् आन्दोलनमा भन्ने पनि बुझ्नुपर्‍यो। तेस्रो, खासगरी प्रतिक्रियावादीहरुले अब क्रान्ति द्वारा हुँदै भनेर भन्छन्। यही संसदबाट यही सुधारवाट हुन्छ भनेर भन्ने कुरा गर्छन्। यो वाहियात कुरा हो। चौथो, क्रान्ति कुनै क्रान्तिकारीको रहर होइन् हेर्नुस् जनताको आवश्यकता हो। जनताको आवश्यकता राम्रो तरिकाले पूरा हुने हो भने क्रान्ति किन चाहियो त? राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान हुने हो भने क्रान्ति किन चाहियो? यत्रो नेपाल हेर्नुस् त बेरोजगारी बेरोजगारी छ। यहाँको युवा साँच्चै भन्ने हो भने देशभित्रका देशबाहिर गएका सब युवा गन्ने हो भने तीन करोड आसपासको जनसंख्या- आधा जति जनसंख्या त बेरोजगारीमा छ। यत्रो देशलाई बेरोजगारी बनाएर बाहिर युवाहरुलाई नोकरी गर्न पठाएर विप्रेषण खाएर अनि त्यहाँबाट विकास हुन्छ? विकास हुनेवाला छैन भन्नुस्। त्यसकारणले क्रान्ति भनेको जनतासँग जोडिएको छ। क्रान्ति हामीले मात्र भनेर हुँदैन। जबसम्म जनताले वास्तविक अर्थमा क्रान्ति महसुस गर्दैन् तबसम्म क्रान्ति हुन सक्दैन। क्रान्तिमा जनताले साथ दिन्छ। जनयुद्धको कुरा गर्नुस् न। हामीले मात्र गरेर होइन नी त जनताले पनि साथ दिए नी त। मजदुर, किसान, दलित, आदिवासी, जनजाति, महिला, मधेसी, मुस्लिम सबले साथ दिए। सरकार पनि बन्यो त्यही रुपले अगाडि बढ्ने कुरा पनि आयो स्थानीय रुपमा। त्यसकारणले क्रान्ति जनक्रान्ति हो नि त। जनताले आत्मसाथ गर्नुपर्‍यो। अनी पार्टीले जनताको मनोभावना बुझेर क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर लैजानुपर्‍यो।

अर्को त क्रान्ति भन्ने कुरा आम जनताको साथसाथै तिनै कर्मचारीहरु, सत्तामा बसेका, सत्ता सञ्चालनमा लागेका थुप्रै सुरक्षाकर्मी लगायतकाहरुले पनि आफ्ना समस्याहरु यो तरिकाले समाधान हुन सक्दैन। रुपान्तरणको दिशामा जानुपर्छ भन्ने चेतनाको विकास गर्नुपर्छ। त्यसकारण त्यसको निम्ति एउटा माहोल र वातावरण बनाउन आवश्यक हुन्छ। त्यो पार्टीले बनाउने हो। क्रान्तिकारीलाई एकतावद्ध गर्ने हो। क्रान्तिकारी विचार अवलम्बन गर्ने हो। र फेरी क्रान्तिको तयारी पनि गर्ने हो। क्रान्ति आवश्यकता हो। जनतासँग जोडिएको विषय हो। त्यसको निम्ति मिहेनत गरेर जानुपर्छ। त्यहाँ धोका दिने तत्वहरु पनि हुन्छन्। ती धोका दिने तत्वका विरुद्ध सतर्क रहँदै भण्डाफोर गर्दै तयारी गरेर जानुपर्छ।

अब कसरी अगाडि बढ्छ त संघर्ष? कसरी अगाडि बढ्छ रणनीतिक मोर्चा?

मैले अगाडि पनि भनिहाले- उहाँहरु (विप्लव समूह)ले कस्तो सहमति गर्नुभएको छ? हामीले छिट्टै बुझिहाल्छौँ। त्यसपछि हामी सम्भवत: छिट्टै बैठक बस्छौँ होला। र हामी स्थिति हेरेर एउटा कार्यक्रम लिएर जान सक्छौँ। तर, उहाँहरुले सरकारसँग सहमति गर्नुभएको छ- त्यो कस्तो गर्नुभएको छ भन्ने पनि बुझ्नुपर्छ। त्यो सबै बुझेपछि हामी बस्ने भन्ने सल्लाह छ। त्यसपछि हामी बस्छौँ। स्थिति राम्रो भयो भने त्यहीँबाट कार्यक्रम लिएर पनि हामी जान सक्छौँ। तर, अर्को कुरा हामीले संयुक्त मोर्चामार्फत मात्रै आन्दोलन भन्ने होइन- स्वतन्त्र पहलकदमीमार्फत पनि हामीले आन्दोलनलाई अगाडि बढाउँछौँ। हाम्रो पार्टीको संघर्षका कार्यक्रमहरु सामान्य ढंगले अगाडि बढिरहन्छन्। चैत २४ गते काठमाडौंमा हामीले राम्रो कार्यक्रम गर्नुपर्छ भनेर तयारी गरिरहेका छौँ। सोही दिन देशैभर प्रदेशहरुमा जनसभाका कार्यक्रम दिने भनेका छौँ। राष्ट्रियता जनजीविकाका विषयमा हाम्रो संघर्षका कार्यक्रम स्वतन्त्र ढंगले अगाडि बढिरहन्छ। उहाँहरुसँग मोर्चाको संयुक्त कार्यक्रम पनि दिन सकिन्छ।

त्यो स्थितीको वारेमा अहिले नै भन्न सकिएन। त्यसको साथसाथै हामीले अर्को कार्यगत एकता पनि बनाएका छौँ- विभिन्न २३ दलहरुको। त्यो कार्यगत एकतामा पनि बसेर कसरी आन्दोलन अगाडि बढाउने भन्ने विषयमा हामीले छलफल गर्दै छौँ। सकरात्मक कुरा के छ भने अब संसदभित्र संकटैसंकट आउनेवाला छ। संकटै संकटको बीचमा राजनीतिक संकट आर्थिक संकट सांस्कृतिक संकटबाट गुज्रिन्छ यो। यसले विकास गर्न सक्दैन। त्यसकारण यसको पनि भण्डाफोर गर्दै पुरानो राज्यसत्ताको भण्डाफोर गर्दै हामीले फेरी प्रभावकारी ढंगले आन्दोलनलाई अगाडि बढाउने गरी हामी जान्छौँ। तर, संयुक्त मोर्चा मात्रै होइन। त्यहाँ पनि हामी अगाडि बढ्छौँ। हाम्रो पार्टीबाट स्वतन्त्र ढंगले पनि अगाडि बढ्छौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell