PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सर्वोच्चबाट पराजित प्रधानमन्त्री पदमा टाँसिएर बसेको देख्दा दुनियाँ नै आश्चर्यचकित : माधव नेपाल



सर्वोच्चबाट पराजित प्रधानमन्त्री पदमा टाँसिएर बसेको देख्दा दुनियाँ नै आश्चर्यचकित : माधव नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम मौका दिएको बताएका छन्।

पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले ओलीलाई अन्तिम मौका दिएको भन्दै राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन आग्रह गरेका हुन्।

भने, 'केपी ओलीलाई पनि हामी अन्तिम मौका दिइरहेका छौं। राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भए पनि देखाउनुहोस्। नभए इतिहासमा तपाईँ सधैभरी कलंकित मात्रै हुनुहुनेछ। धेरै फुर्ती नदेखाउनुहोस्। तपाईका फुर्ती देखाउने दिन गए।'

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको कदम चालेर आफैले बनाएको संविधानलाई मृत अवस्थामा पुर्‍याएको बताए।

'कम्युनिष्ट विचार बोक्नेहरु प्रतिगमनमा पनि लाग्दा रहेछन् भन्ने एउटा उहाँले नकारात्मक उदाहरण दिनुभएको छ। विगतमा पनि कम्युनिष्ट आन्दोलनमा लागेका मान्छे दक्षिणपन्थी दिशामा विर्सजन भएर गएका छन्। यो नौलो कुरा होइन। त्यसबाट हामी निराश हुदैनौं। केपी ओलीको कदम विरुद्ध सिंगो देश नै आन्दोलित, तरंगित भयो। यो पार्टीमात्रै होइन संसदमा भएका राजनीतिक दलहरुपनि आन्दोलनमा उत्रिए' उनले भने।

सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको उनले उल्लेख गरे। पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री ओली पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको उनको टिप्पणी थियो।

भने, 'अत्यन्तै गलत प्रवृति बोकेका केपी ओली पार्टीको अध्यक्षबाट निष्कासित भईसकेपछि पनि , पार्टी सदस्यबाट हटिसकेपछि पनि अटेर भएर अझै पनि कुनै नैतिकता नराखेर,सर्वोच्चको फैसला पछि पराजित भईसकेपछि पनि पदमा टाँसिएर बसेको देख्दा सारा दुनिया आश्चर्य चकित छन्।'

उनले पार्टीको नाम र चुनाव चिह्नको संघर्ष जारी नै रहेको भन्दै कसैलाई पनि आफुहरुप्रति कर्केनजर नलगाउन चेतावनी समेत दिए।

'कसैले पनि कर्के आँखा नदेखाए हुन्छ। मूल पार्टी यही हो। सूर्य चिन्ह यही पार्टीको हो। कसैले खोसेर लान सक्दैन। केपी ओली सँग अझै पनि अलमलियएर बसेका मान्छेहरुलाई भ्रमबाट मुक्त भई मुल पार्टीमा समाहित हुन आग्रह गर्दछु।'

नेत्रविक्रम चन्द विप्लव राजनीतिको मुल प्रवाहमा आएपनि कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा आउन बाँकी रहेकाले आफूहरु कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा विप्लवलाई स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको नेपालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell