PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कला क्षेत्रलाई राज्यले महत्व नदिएको मनिषा कोइरालाको आरोप, राजेश हमाल मैथिली फिल्ममा अभिनय गर्न इच्छुक



सुमित मिश्र

कला क्षेत्रलाई राज्यले महत्व नदिएको मनिषा कोइरालाको आरोप, राजेश हमाल मैथिली फिल्ममा अभिनय गर्न इच्छुक

जनकपुरधाम : जनकपुरधाममा जारी ४ दिवशिय जनकपुर साहित्य महोत्सवको आज चौथो दिनमा सिनेमाको रंग सत्रमा बोल्दै नायिका मनिषा कोइरालाले कला क्षेत्रलाई राज्यले महत्व दिन नसकेको आरोप लगाएकी छन्।  नायिका कोइरालाले राज्य तथा समाजले कला क्षेत्रलाई सहयोग नगरेका कारण नेपाली फिल्म जगतले प्रगति गर्न नसकेको बताइन्।

उनले कला, साहित्य तथा खेललाई सहयोग नगर्ने समाज खल्लो हुने गरेको बताइन्। विकसित देशहरुले कला, साहित्य, खेललाई निकै सहयोग एवं महत्व दिने गरेको बताउँदै अभिनेत्री कोइरालाले यी विधाहरुलाई राष्ट्रले महत्व दिनुपर्नेमा जोड दिइन्।

नायिका कोइरालाले नेपालमा कलाकारहरुले प्लेटफर्म नपाएको समेत स्वीकार गरिन्। उनले नेपालमा कलाकारको अभाव नरहे पनि कलाकारहरुले प्लेटफर्म पाउन नसकेको तीतो यथार्थ सबैले स्वीकार्नु पर्ने बताइन्। उनले आफन्तको पहुँचले मात्रै फिल्म लगायत कुनै पनि क्षेत्रमा स्थापित हुन नसकिने बताउँदै त्यसका लागि योग्यता, क्षमता एवं अत्यन्तै मिहिनेत गर्नुपर्ने अनुभति व्यक्त गरिन्।

मैथिली फिल्ममा अभिनय गर्न ईच्छुक छु : राजेश हमाल

सोही सत्रमा सहभागी नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमालले देशको सम्पूर्ण भागका समूदायको प्रतिनिधित्व हुने गरी चलचित्रहरुमा अभिनय गरेपनि आफू मैथिली फिल्ममा अभिनय गर्न ईच्छुक रहेको बताएका छन्। मधेश तथा मैथिली क्षेत्रको प्रतिनिधीत्व हुने गरी अभिनय फिल्ममा किन गर्नु भएन भन्ने सहभागी विकास साहको प्रश्नको जवाफमा अभिनेता हमालले भने ‘म देशको पूर्वदेखि पश्चिम र हिमालदेखि तराईमधेशसम्मका सम्पूर्ण समुदायको प्रतिनिधित्व हुने अभिनय गरेको हुँ। एउटा भाषामा मात्र मैले अभिनय गरेको छु। त्यो नेपाली भाषा हो।’

अभिनेता हमालले आफु मैथिली सिनेमामा पनि अभिनय गर्न इच्छुक रहेको समेत बताएका छन्। ‘म मैथिली फिल्ममा अभिनय गर्न इच्छुक छु। सौख छ मैथिली फिल्ममा अभिनय गर्न मौका पाए म मैथिली फिल्ममा अभिनय गर्छु,’ हमालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell