PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

थानकोटको २० आना जग्गामा गिद्धे नजर : मालपोतका कर्मचारीको चर्को सेटिङ



थानकोटको २० आना जग्गामा गिद्धे नजर : मालपोतका कर्मचारीको चर्को सेटिङ

काठमाडौं : मालपोतका कर्मचारी नै नक्कली जग्गाधनी बनाएर कागजपत्र कीर्ते गर्दै ठगी कार्यमा संलग्न हुन्छन् भन्ने अनुमान सायदै कसैले गर्छ। तर, त्यस्तै घटना भएको छ थानकोटको जग्गा बिक्री प्रकरणमा। उक्त घटनामा थप ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाण्डौं बुढानीलकण्ठ नगरपालिकाका ४७ वर्षीय विजयकुमार खड्का, चितवन राप्ती नगरपालिका पिप्ले बस्ने बालप्रसाद भट्ट, काभ्रे पनौती नगरपालिका रामचन्द्र पुडासैनी समेत भन्ने पुण्डेप्रसाद काफ्ले, सङ्खुवासभा नुनढाकी गाउँपालिका इन्द्रबहादुर खत्री भन्ने इन्द्र बहादुर घले, रामेछाप मन्थली नगरपालिका बस्ने बालकृष्ण बुढाथोकी, काठमाडौँ गोकर्णेश्वर ६ बस्ने लक्ष्मी घतानी,ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका विजय प्रकाश सुनुवार, सिन्धुली कमलामाई नगरपालिका कृष्ण थापा मगर भन्ने कृष्ण बहादुर दर्लामी र झापा, कचनकवल नगरपालिका कृष्ण बहादुर कटुवाल रहेका छन्।

यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नुवाकोट ककनी गाउँपालिका ८ घर भएका नारायण श्रेष्ठ, काठमाडौं टोखा नगरपालिका बस्ने दीपक दाहाल र खरिदार दीपा पङगेनीलाई पक्राउ गरेको थियो। श्रेष्ठ मालपोत कार्यालय कलङ्कीका नायव सुब्बा र दाहाल (तत्कालीन) शाखा अधिकृत हुन्। काठमाडौं जिल्ला अदालतको आदेशमा दाहाल र श्रेष्ठले ४ लाख रुपैयाँ र पङ्गेनीले १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन्।

उनीहरूले मीना खड्काको नामको  थानकोटमा रहेको २० आना जग्गाको नक्कली जग्गाधनी र कागजपत्र बनाएर ७२ लाख रुपैयाँ ठगी गरेको परिसरका एसपी रमेश कुमार बस्नेतले जानकारी दिए। वास्तविक जग्गाधनी भने बेल्जियममा छन्।

मालपोत अधिकृत र नासु मिलेर नक्कली धनी खडा गरेर २०७६ पुस २३ गते लिखत पारित गरेको फेला परेको हो। प्रहरीका अनुसार अधिकृत तथा नासुले कलङ्कीको एक होटेलमा बसेर कीर्ते कागजात तयार पारी उक्त कार्य गरेका हुन्।

केही समयमा वास्तविक जग्गाधनीले थाहा पाएपछि मालपोत कार्यालय कलङ्कीमा रहेको मोठ (जग्गाधनी दर्ता स्रेस्ता) सच्याई (केरमेट गरी) नामसारी बदर गरी मीना खड्काकै नाममा जग्गा कायम भएको अनुसन्धानमा देखिएको छ। अधिकृत दाहालले पीडितलाई बोलाई राजीनामा लिखत र जग्गाधनी पुर्जा फिर्ता लिई आफैँले राखेको खुलेको छ।       पक्राउ परेका मालपोत कर्मचारी                  


उनीहरूले मीना खड्काको  जग्गामा लक्ष्मी घरानीलाई मालिक बनाएका थिए। मीना खड्काको नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी प्रमाणपूर्जामा फोटो लक्ष्मी घरानीको टाँसेर गरी भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ बस्ने कृष्णगोपाल श्रेष्ठ, रत्न केशरी म्हका श्रेष्ठ, कृष्णभक्त माक श्रेष्ठ, विजय लक्ष्मी श्रेष्ठबाट बहत्तर लाख रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ। 

साथै, त्यही जग्गा फेरि काभ्रे धुलिखेल बस्ने कुमार दाहाल खत्रीलाई आनाको साढे १० मा मूल्याङ्कनमा राजीनामा पास गरी दिने भनी खत्रीबाट २०७६ मङ्सिर ३० गते बैना बापत ३५ लाख रुपैयाँ लिएको देखिएको छ।

ठगीमा कामको बाँडफाँड

रामचन्द्र पुडासैनी, रामबहादुर खड्का र पुण्यप्रसाद काफ्ले मुख्य योजनाकार भएको प्रहरीले जानकारी दिएको छ। उनीहरूले नै सबै योजना बनाएको र जग्गा देखाएर खरिद गर्ने वातावरण समेत बनाएको एसपी बस्नेतले जानकारी दिए।

इन्द्रबहादुर घलेले राजीनामा पास गर्दा जग्गाधनीको दाजु इन्द्र बहादुर खत्री बनेर सनाखत गरेको देखिएको छ। त्यस्तै  बालप्रसाद भट्ट नक्कली कागजातहरू बनाउने, रकमको बाँडफाँड गर्ने गरेका थिए।

विजयकुमार खड्काले वास्तविक जग्गाधनी मीना खड्काको नागरिकता र जग्गाधनी प्रमाण पुर्जाको फोटोकपी उपलब्ध गराएका थिए। मीना खड्काको नक्कली नागरिकता र नक्कली जग्गाधनी प्रमाण पुर्जा बनाउन कृष्ण बहादुर दर्लामीलाई उनैले जिम्मेवारी सुम्पिएको खुलेको छ।

बालकृष्ण बुढाथोकीको भूमिका भने जग्गा बिक्रीबाट आएको रकम अशोक माझीको नामबाट निकाली लिन र,जग्गा बिक्री गर्दा मालपोत कार्यालयमा 'रेकी' गर्ने गरेको देखिएको छ।

लक्ष्मी घतानीले वास्तविक जग्गाधनी भइ जग्गा राजीनामा गरेको, जग्गा बिक्रीबाट प्राप्त रकम मीना खड्काकै नाममा मुक्तिनाथ विकास बैङ्कमा खोलिएको खाताबाट रकम निकालेकी थिइन्।

विजय प्रकाश सुनुवारले भने लक्ष्मी घरानीलाई ल्याई मीना खड्काको रूपमा खडा गराउने, जग्गाधनीको अभिनय गर्न सिकाउने गरेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै कृष्णबहादुर दर्लामी कृष्ण बहादुर कटुवालसँग मिलेर कीर्ते नागरिकता र कीर्ते जग्गाधनी प्रमाणपूर्जा बनाउने गरेको देखिएको छ। घटनामा अझै एक जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

अपराधको पृष्ठभूमि

पक्राउ परेका अभियुक्तको यसअघि पनि विभिन्न घटनामा आबद्ध भएको खुलेको छ। रामचन्द्र पुडासैनी, रामबहादुर खड्का र पुण्यप्रसाद काफ्ले यसअघि  पनि ठगी मुद्दामा मुछिएका थिए। उनीहरू विरुद्ध २०६८ असार २८ गते ललितपुरमा ठगी मुद्दा रहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, उनीहरू विरुद्ध काठमाडौंमा ठगीको उजुरी परेपछि २०७१ साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो।

त्यस्तै, अर्का अभियुक्त इन्द्रबहादुर घले २०६९ वैशाख १७ मा ओम हस्पिटल छेउको जग्गा कीर्ते गरेको अभियोगमा पक्राउ परेका थिए। उनी ३५ हजार धरौटी २ वर्ष कैद भएपछि जेल बसेर छुटेको थिए।

विष्णु  र बालप्रसाद भट्ट पनि २०६८ असार २८ गते ठगी मुद्दामा पक्राउ परेका थिए। त्यसैगरी विजय कुमार खड्का २०६९ चैत २२ सरकारी छाप कीर्ते गरेकोमा समातिएका थिए। उनी अदालतको आदेशमा १ लाख रुपैयाँ धरौटी राखेर छुटेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell