PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश २ मा ५ महिनादेखि बस्न सकेन प्रदेशसभा बैठक, अघि बढ्न सकेनन् दर्जनौँ विधेयक



सुमित मिश्र

प्रदेश २ मा ५ महिनादेखि बस्न सकेन प्रदेशसभा बैठक, अघि बढ्न सकेनन् दर्जनौँ विधेयक

जनकपुरधाम : पाँच महिनादेखि प्रदेश २ को प्रदेश सभा बैठक बस्‍न सकेको छैन। दलगत स्वार्थका लागि प्रदेश सरकारका मन्त्रीहरुले प्रदेश सभालाई बन्धक बनाई बैठक बसाउन नसकेको सत्तारुढ दलकै सांसदहरुले आरोप लगाएका छन्।

‘पार्टी एकीकरण भएपछि महिनौँदेखि संघीय समाजवादी पार्टी र राजपाबाट संसदीय दलको नेता र प्रमुख सचेतकको छुट्टाछुट्टै सुविधा पाइरहेका छन्,’ सत्तारुढ दल तत्कालिन राजपाका एक सांसदले भने।

प्रदेश सभाको पछिल्लो अधिवेशन नसकिँदै संसदीय दलको नेता फेरबदलका विषयमा विवाद हुँदै आएको छ। संसदीय समिति चयन गर्न जिम्मेवारी पाएका समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका लालबाबु राउत र राजपाबाट भौतिक पुर्वाधार मन्त्री बनेका जितेन्द्र सोनलले आफ्नै पद जाने डरले यसलाई लम्ब्याइरहेका छन्।

सत्तारुढ दलकै सांसदहरुले पटक–पटक ताकेता गर्दा प्रदेश सभाको आगामी बैठक बस्‍नु अगावै संसदीय समिति चयन गर्ने प्रतिबद्धता नेताहरुले जनाउँदै आएका छन्। तर, संसदीय समिति चयन हुँदा मन्त्रिपरिषदसमेत हेरफेर हुने डरले जिम्मेवारी पाएकाहरुले टार्दै आइरहेका छन्। पछिल्लो पटक चौँथो प्रदेश सभाको अधिवेशन कात्तिक ३ गते गते बसेर ४ गते अन्त्य भएको थियो। त्यस यता फेरी प्रदेश सभाको बैठक बस्‍न सकेको छैन। बैठक बोलाउन मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिपक्षी दलसहित सत्तारुढका सांसदहरुले दबाब दिएपनि आनाकानी गर्दै आएको आरोप सांसदहरुको छ।

बैठक बस्‍न नसक्दा प्रदेश सभामा थन्किएका दर्जनौँ विधेयक अघि बढ्न सकेका छैनन्। प्रतिपक्षी दलहरुले औपचारिकता पूरा गर्न मौखिक रुपमा आग्रह मात्र गरेको छ।

प्रतिपक्षी दुई समूहमध्ये दाहाल–नेपाल समूहका संसदीय दलका नेता शत्रुधन महतोले भने, ‘संघीय संसद विघटनले गर्दा हामी सबै दल आन्दोलनमा लागेका कारण बैठक तिर खासै ध्यान दिइएन। तर, आन्दोलनकै क्रममा भेटघाटको क्रममा मुख्यमन्त्रीज्यूले फागुन महिनाभित्रै बैठक बसाउने भन्‍नु भएको छ। अरु थप कुराकानी भएको छैन।’

त्यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले संसद बैठक बोलाउने विषयमा सहमति भएपनि दलहरु आन्दोलनमा लागेकोले बस्‍न नसकेको बताउँछन्। उनले पनि मुख्यमन्त्रीले चाँडै नै संसद् अधिवेशन आह्वान गर्ने आश्वासन दिएको बताउँछन्।

यता प्रदेश सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव भन्छन्, ‘कोरोनाको जोखिमका कारण पनि बैठक बस्‍न सकेन। त्यसपछि प्रतिनिधि सभा विघटनले गर्दा उत्पन्न राजनीति उथल पुथलको कारण बस्‍न सकेन। तर, चैतको पहिलो सातामै प्रदेश सभाको बैठक बोलाउने गरी तयारी भइरहेको छ।’

उनले कोरोना भाइरस संक्रमणको जोखिम कम भएको र प्रतिनिधि सभा पुनस्थापना भएकोले अब छिटै बैठक बस्‍ने बताए।

संसदीय दलको नेता चयन सम्बन्धी पार्टीको आन्तरिक किचिलोको कारण बैठक बस्‍न नसकिरहेको प्रसंगमा उनले भने, ‘यो गलत आरोप हो, त्यस्तो केही छैन। संसदीय दलको नेता चयन र प्रदेश सभाको बैठकबीच कुनै सरोकारै छैन।’  

यता सभामुख सरोजकुमार यादवले प्रदेश सभाको बैठक बोलाउने र अन्त्य गर्ने काम प्रदेश सरकारको भएकोले आफूले केही गर्न नसकेको बताउँछन्।

‘प्रदेश सभाको बैठक बोलाउने र अन्त्य गर्ने काम प्रदेश सरकारको हुन्छ, हामी त्यसमा केही गर्न सक्दैनौँ,’ यादवले भने।

एउटा अधिवेशन सकिएको बढीमा ६ महिनाभित्र अर्को बैठक बोलाउने संवैधानिक प्रावधान छ। तत्कालिन सत्ता पक्षका समाजवादी पार्टी र राजपाबीच एकीकरण भएको झण्डै ११ महिना भइसक्दासमेत प्रदेश सभामा दुवै दलबाट छुट्टाछुट्टै दलको भूमिका नेता र प्रमुख सचेतक हुन र दुवै पार्टी सेवा सुविधा बुझ्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell