PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदेश २ सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण : कार्यक्रममा नेताहरु भाषणमा मस्त, छात्राहरु भोकभोकै



सुमित मिश्र

प्रदेश २ सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण : कार्यक्रममा नेताहरु भाषणमा मस्त, छात्राहरु भोकभोकै

जनकपुरधाम : प्रदेश २ सरकारले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा १५ सयभन्दा बढी छात्रालाई साइकल वितरण गरेको छ। नारी दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको एक कार्यक्रममा महिला सशक्तिकरणको उद्देश्यले १ हजार ५ सय २० जना छात्रालाई साइकल वितरण गरिएको बताइएको छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेशसभाका उपसभामुख उपमा देवले संयुक्त रुपमा साइकल वितरणको शुरुवात गरे। मुख्यमन्त्री राउत र उपसभामुख देवले छात्राहरु आँचल कुमारी ठाकुर र प्रियंका कुमारी मण्डललाई संयुक्त रुपमा साइकल हस्तान्तरण गरेर साइकल वितरणको शुभारम्भ गरे।

यस वर्ष कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने लक्ष्य रहेकोे ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानका संयोजक प्रियंका यादवले जानकारी दिइन्। प्रदेश २ मा कक्षा ८ मा कुल २७ हजार छात्रा अध्ययनरत छन्। प्रदेश सरकारका अनुसार १७ हजार छात्रालाई चालु आर्थिक वर्षमा वितरण गरिने छ।

छात्राहरु चर्को घाममा भोकभोकै

प्रदेश सरकारले नारी दिवसको अवसरमा छात्राहरुलाई साइकल वितरण कार्यक्रममा सहभागी हुनका लागि बोलाएको थियो। सो कार्यक्रममा सहभागी हुनका लागि धनुषा जिल्लाका विभभिन्न पालिकाको विभिन्न विद्यालयबाट हजारभन्दा बढी छात्राहरु सहभागी भएका थिए। छात्राहरुलाई कार्यक्रममा सहभागी गराइएपनि उनीहरुलाई चर्को घाममा कार्यक्रम भरी भोकभोकै बस्नु परेको थियो।

कार्यक्रम ११ बजे हुने भनिएपनि करिब डेढ घण्टा ढिलो गरि साढे १२ बजेमात्रै शुरु भएको थियो। साढे १२ बजे शुरु भएको सो कार्यक्रममा सहभागी हुनका लागि आएका छात्राहरु मधेस भवनमा बिहान १० बजे नै उपस्थित भई सकेका थिए।

गाउँ गाउँबाट छात्राहरु आएका कारण उनीहरुलाई घरबाट भोकै निस्कनु परेको थियो। कार्यक्रममा सहभागी भएका अधिाकांश छात्राहरु चाउचाउ खाँदै थिए। यता नेताहरु उनीहरुको भोकको खयालै नगरी मधेसको वकालत गर्दै लामो लामो भाषण दिन मस्त थिए। कार्यक्रममा सहभागी भएका नेता तथा मन्त्रीहरु नारी दिवसमा मात्रै केन्द्रित नभएर मधेसको वकालत गर्दै लामो लामो भाषण दिएका थिए ।

एसिड छ्याप्नेलाई सार्वजनिक स्थलमा झुण्ड्याउनु पर्छ : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड छ्याप्ने व्यक्तिलाई सार्वजनिक स्थलमा झुण्ड्याउनु पर्ने बताएका छन्।

एसिड पीडित आरती साहलाई दोसला ओढाएर सम्मान गर्दै मुख्यमन्त्री राउतले भने, ‘यस्तो निर्मममता देखाउने अपराधी प्रवृतिका व्यक्तिलाई सार्वजनिक स्थलमै झुण्ड्याउनु पर्छ।’

कानूनले एसिड फाल्ने व्यक्तिलाई कडा सजाय दिने व्यवस्था गरेको उनको भनाइ थियो।

मुख्ययमन्त्री राउतले भने, ‘संविधानमै संशोधन गरेर भएपनि यस्ता अपराधीहरुलाई त सार्वजनिक स्थलमै झुण्ड्याउने व्यवस्था गर्नु पर्छ।’

संघीय सरकारको नीतिका कारण प्रदेश सरकारसँग आफ्नो प्रशासन नभएकाले पनि आशा गरे अनुरुप अपराध न्युनीकरण गर्न नसकेको उनले स्वीकार गरे।

उनले भने, ‘आशा गरौँ संविधानमा व्यवस्था भए अनुसार प्रदेश सरकारले चाँडै त्यो अधिकार पाउने छ र प्रदेश सरकारले आफै प्रदेशमा अपराधहरु निर्मूल पार्नेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell