काठमाडौँ: बालाजुको बाइपास क्षेत्रमा गैरन्यायिक रुपमा सडक विस्तार भएको भन्दै खबरदारी सभा आयोजना गरिएको छ।
करिब ७ वर्षअघि बाइपास क्षेत्रमा सडक विस्तारका क्रममा घरहरु एकतर्फी रुपमा भत्काइएका थिए। पीडितहरुले भने ७-७ मिटर छाडेर सडक बनाउन स्वीकृति दिँदादिँदै एकतर्फीमात्रै सडक विस्तार गरिएको भन्दै सर्वोच्चमा मुद्दा परेपछि उक्त सडक खण्ड निर्माण अवरुद्ध भएको थियो। त्यस क्षेत्रमा रहेका दुई घर भत्काइएपछि चर्किएको आन्दोलन महानगरले बाइपासमा सूचना केन्द्र बनाउन लागेपछि झनै चर्किएको हो।
दुई साताअघि बालाजु बाइपास सडक खण्डमा सडक विस्तारका क्रममा करिब ६ वर्ष अघि भत्काइएका घरहरु रहेको जग्गामा काठमाडौं महानगरपालिकाले सूचना केन्द्र बनाउन लागेपछि स्थानीय पीडितहरुले त्यहाँ राखिएका जस्तापाता भत्काएका थिए। त्यस क्रममा प्रहरीले मीन शाही, महेश्वर मानन्धर, संजय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ, रुक्षित श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यसपछि बालाजु प्रहरी वृत्तमा गएर उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि र अन्य अभियन्ता पीडितहरुलाई रिहा गर्न माग गरेका थिए। वृत्तमा नै पक्राउ परेकाहरुसँग संवाद गर्ने क्रममा सुमन सायमिले नेपालभाषामा भीमदेव श्रेष्ठको स्वास्थ्यबारे बुझ्न खोज्दा एक प्रहरीले नेवारीमा नबोल्न भनेपछि विवाद समेत भएको थियो। त्यसपछि वृत्तमा नै मातृभाषामा बोल्न रोकेपछि विवाद हुँदा सुमन सायमि र विरोचन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो।
बालाजुमा राख्दा दबाब बढ्ने देखेर उनीहरुलाई सोह्रखुट्टे वृत्तमा पठाइएको थियो। पीडित र अन्य अभियन्तालाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो। त्यसमा सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले पक्राउ परेका सबैलाई रिहा गर्न आदेश दिएको थियो।
आज नेवा: देय दबूको संयोजनमा विभिन्न खल: पुचहरुसँगै बृहत नागरिक आन्दोलन र उपत्यका सडक विस्तार पीडित संघर्ष समितिको आयोजनामा बाइपास क्षेत्रमा खबरदारी सभा गरिएको हो। सो क्रममा घर गुमाएका महेश्वर मानन्धरले शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शक्तिको आडमा एकतर्फी घर भत्काएको भन्दै आफूहरु पुनर्स्थापित हुनुपर्ने बताए।
केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्र मानन्धरले नेपाल भाषा बोल्न रोकेर राज्यले गल्ती गरेको भन्दै भाषिक आन्दोलनमा मानन्धर संघको साथ रहने बताए। साथै स्थानीयले विकासका नाममा विस्थापित गर्नु नहुने भन्दै आवश्यक परे गुठी आन्दोलनको स्वरुपमा नै आन्दोलन गर्ने बताए।
खबरदारी सभालाई सम्बोधन गर्दै मल्ल के सुन्दरले नेपालभाषा बोलेकै आधारमा प्रहरीले पक्राउ गरेको भन्दै सबै नेवारहरु जेल जान तयार रहेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले पनि बालुवाटारमा नेपालभाषा नै बोल्ने भन्दै प्रहरीले कस-कसलाई रोक्न सक्छ भन्दै उनले प्रश्न गरे। उनले सडक विस्तारको नाममा नागरिकहरुलाई विस्थापित गरेकोमा अब संयुक्त आन्दोलन आवश्यक रहेको बताए।
उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमिले आफूलाई नेपालभाषा बोलेकै आधारमा पक्राउ गरिएको भन्दै अब सशक्त आन्दोलन गर्ने घोषणा गरे।
उनले महानगरले बनाउन लागेको सूचना केन्द्रको काम अहिले नै नरोके जे पनि हुन सक्ने चेतावनी समेत दिए।