PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बाँचुञ्जेल महिला केन्द्रित सिनेमा बनाउँछु : रेखा थापा



बाँचुञ्जेल महिला केन्द्रित सिनेमा बनाउँछु : रेखा थापा

अभिनेत्री रेखा थापाले आफूले बाँचुन्जेल महिलालाई हिरो बनाएर महिला केन्द्रित सिनेमा निर्माण गर्ने बताएकी छिन्। सोमवार महिला दिवसको दिन चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा थापाले महिलालाई केन्द्रमा राखेर कथा लेखिनुपर्ने कुरामा जोड दिइन्।

नेपालमा महिला केन्द्रित सिनेमा खासै निर्माण हुन नसकेको कुरा उल्लेख गर्दै उनले नारीलाई रुवाएर र शृङ्गारिक रुपमा सिनेमामा प्रस्तुत गरेर महिला प्रधान फिल्म हुन नसक्ने धारणा राखिन्। थापाले भनिन्, ‘फिल्ममा महिलालाई रुवाएर, उनीहरुको पीडामात्रै देखाइन्छ। महिलालाई हिरो देखाए पो महिला प्रधान फिल्म हुन्छ त। फिल्ममा खाली महिलाहरुलाई प्रयोग गर्ने सोचले मात्रै फिल्म नबनोस्।’

आफूले सिनेमा निर्माण गर्दा कर्णाली र मधेशका महिलालाई केन्द्रमा राख्ने गरेको उनको भनाई थियो। ‘मैले फिल्म निर्माण गर्दा कर्णालीका र मधेशका महिलाहरुलाई केन्द्रबिन्दुमा राख्छु। शहरका महिलाहरु त उसै शिक्षित छन्। सबैले महिला केन्दित फिल्मको स्क्रिप्ट लेख्न सोच्नुपर्छ,’ उनले थपिन्।

आफूले बनाउने हरेक सिनेमामा महिलालाई नै केन्द्रमा राख्ने दृढता उनको थियो। ‘मैले छान्ने कथामा त पक्कै मैले आफूलाई नै हिरो बनाउन चाहन्छु नि,' रेखा भन्छिन्, ‘जब मैले आफूलाई हिरो बनाउँछु, सबै महिलाले आफूहरूलाई हिरो देख्नुहुन्छ।’

हरेक ठाउँमा महिलाले महिला कार्ड प्रयोग गरेकोप्रति रेखाले दुखेसो पोखिन्। आफूहरू महिला कार्डको प्रयोग नगरी भिडेर समान भएमात्र समानताको प्रश्न गर्न सकिने रेखाको भनाई रह्यो।

महिलाको मनमा हुने महिला सभ्यता नभत्किएसम्म महिलाले आफूलाई पुरुष समान सोच्न नसक्ने रेखाले बताइन्। ‘हामी महिला हौँ भन्ने सोच राखेर नै डराइरहेका हुन्छौँ। जबसम्म समाजको संरचना भत्किँदैन तबसम्म त्यो डर रहन्छ र हामी समान बन्न सक्दैनौँ,’ थापाले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell