काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसदमा अब नयाँ खेलको सुरुवात हुने बताएका छन्। बुधवार बसेको प्रतिनिधिसभा बैठकपछि खनालले संविधानको भावनाअनुसार अघि बढनुको विकल्प नभएको बताउँदै संसदमा नयाँ खेल सुरु हुने बताएका हुन्।
'देशका सम्पूर्ण राजनीतिक खेलाडीले खेल खेल्ने ठाउँ संसद हो। अब नयाँ खेलको सुरुवात हुन्छ। नयाँ खेलको परिदृश्य तपाइले विस्तारै देख्दै जानुहुनेछ,' उनले भने।
संसदले देशलाई राजनीतिक निष्कर्ष दिनेमा आफू आशावादी रहेको समेत खनालले बताए। नेकपा विभाजित भएर एमाले र माओवादी बन्नु दर्भाग्य भएको उनको तर्क थियो।
'हामी त अब फेरी एमाले भयौं। हामी नेकपा भइसकेका थियौं। यो दुर्भाग्यको कुरा हो। जेसुकै खेलबाट विभाजित भएको भए पनि या हाम्रै मिस्टेकले भएको भए पनि हामी यो ठाउँमा आइपुगेका छौं। एमाले सधै वामपन्थी एकताको पक्षमा छ,' उनले भने।
एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अस्तित्वमा रहँदा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच मोर्चाबन्दी भएको थियो। पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनलाई हटाउन उक्त समूह सडक संघर्षमा उत्रेको थियो। उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा समेत मागेका थिए। तर, सर्वोच्च अदालतको दुवै दलको एकीकरणलाई मान्यता नदिएपछि पूर्ववत् रुपमा एमाले र माओवादी केन्द्र संसदमा जान बाध्य भएका छन्।
आजको बैठकमा पुगेका खनालले पहिला विरोध गर्दै आइरहेको ओली सरकारको बचाउ गर्नुपर्ने बाध्यमा परे। खनालले अहिलेको सरकार जोगाउनु मुख्य जिम्मेवारी नेकपा एमालेकै भएको बताए। साथै अहिलेकै सरकारको बाँकी दुई वर्ष निरतन्तरताको लागि शुभकामना समेत दिए।
'संसद भनेको राजनीतिक खेल खेल्ने मुख्य मञ्च हो। अहिले सरकार हामीसँगै छ। यो सरकारले २ वर्ष राम्रोसँग पूरा गर्नुपर्छ। मेरो शुभकामना छ। नेकपा एमालेको हैसियतले यो सरकार नै दुईवर्ष जानुपर्छ भन्ने ठान्छु। तर अब संसदको कुरा हो नी,' खनालले भने।
पत्रकारहरुले दुई वर्षपछि एमालेकै सांसदका रुपमा प्रतिनिधिसभा बैठकमा आउँदा कस्तो अनुभव भयो भनेर सोध्दा खनालले आफूलाई निकै रमाइलो लागेको प्रतिक्रिया दिए।