PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

व्यवसाय र राजनीतिको सम्बन्धबारे खुले विनोद चौधरी, वाइवाइको सेयर निस्कासनको सुनाए योजना



स्वेच्छा राउत

व्यवसाय र राजनीतिको सम्बन्धबारे खुले विनोद चौधरी, वाइवाइको सेयर निस्कासनको सुनाए योजना

नेपालको निजी क्षेत्रका सर्वाधिक चर्चित व्यक्ति हुन् विनोद चौधरी। व्यवसायदेखि राजनीतिसम्म जोडिएका उनी फोब्स म्यागेजिनमा सूचीकृत नेपालका एकमात्र डलर अर्बपति हुन्। उनी यो उचाईमा कसरी पुगे त? फाइन प्रिन्ट फिभर अन्तर्गत शुक्रवार उनकै फार्म हाउस उन्नती कल्चर भिलेजमा धेरैले यो जिज्ञासाको उत्तर पाए।

चौधरीका अनुसार कुनैबेला आमाले दिएको एक सुका लिएर निस्कन्थे उनी। सार्वजनिक गाडी चडेर सरकारी स्कूल पुग्नु उनको दैनिकी थियो। साधारण पृष्ठभूमिमा हुर्किएका उनले सोचेका थिएनन् कुनैदिन आफू पनि व्यवसायमा लाग्छु भन्ने। तर, बुबा बिरामी भएपछि उनको काँधमा व्यवसायिक जिम्मेवारी आइलाग्यो। 

'त्यो बेला देखिनै मलाई लाग्थ्यो देशको ठूलोमात्र होइन सबैले सम्मान गर्ने नैतिकवान संस्था बनाउँछु,‘ उनले राज खोले।

प्रकाशक फाइन प्रिन्टको साहित्यिक समारोह ‘फाइन प्रिन्ट फिभर’ अन्तर्गत् छलफलमा उनले आफ्नो अनुभव र विचार सबैसँग साटेका हुन्। ‘अर्थनीति र राजनीति’ नामक सत्रमा उनीसँग छलफलमा थिए नयाँ पत्रिकाका सम्पादक उमेश चौहान।

चौहानले धनाढ्यहरू नेता बन्नु र नेता धनाढ्य बन्नतर्फ आकर्षित हुनुको कारण सोध्दै छलफलको सुरुवात गरेका थिए। उनीहरूले चौधरीले राजनीतिमा आर्थिक व्यवस्थापनको चर्चादेखि विदेशमा लगानी र लाखौंको संख्यामा श्रमिक बाहिरिनुले पार्ने असरबारे चर्चा गरे।

त्यसका लागि नीतिगत प्रभाव पार्नसक्ने हुनुपर्ने राजनीतिमा जोडिनुपर्ने उनको स्वीकारोक्ति थियो। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसी) को अध्यक्ष हुनुको पछाडि त्यही राजनीतिको कारण बताए उनले। ‘तर त्यहाँ रहेर कुनै किसिमको परिवर्तन ल्याउन सकिनँ,’ उनले भने, 'निजी संस्थाबाट समाज परिवर्तनमा योगदान पुर्‍याउन नसक्ने देखेरै राजनीतिमा आएको हुँ।'

चौधरीले आफू स्रोत र अर्थ व्यवस्थापनमा कुशल भएको र आजको राजनीतिमा आर्थिक व्यवस्थापकीय पाटो अत्यावश्यक भएको तर्क राखे।

’कोही अर्थमन्त्री हुने बित्तिकै उसले उद्योगीहरूलाई वरपर राखेर उद्योगको विज्ञ बनेर भाषण दिन्छन्। तर, नेपालमा आर्थिक विकासका मुद्दाहरूले राजनीतिलाई डोहोर्‍याउन सकेको छैन,' चौधरीले भने, 'राजनीतिज्ञहरू उद्योगीका कुरा त सुन्छन् तर ती कुरा कति आत्मसात् गर्छन् र व्यवहारमा उतार्छन् भन्ने विषय महत्वपूर्ण हो।‘

नवलपुरस्थित चौधरीको निजी फार्म हाउस ‘उन्नती कल्चरल भिलेज’का उद्घाटन पनि भयो। चौधरीले समुन्नत समाजका लागि अर्थसँगै कला, साहित्य, संगीत, सिनेमाजस्ता विषयको आवश्यकता महसुस गरेरै फार्महाउसलाई सांस्कृतिक उत्थानका लागि प्रयोग गरेको बताए।

‘सशक्त कार्यक्रमहरूले ठाउँलाई चिनारी दिन्छ। यो कार्यक्रम र यो ठाउँ त्यसैको सुरुवात हो,’ भने।

राजनीतिले गरिबहरूको समस्या कसरी सम्बोधन गर्छ त? भन्ने प्रश्नमा उनले देशमा भएको स्रोत व्यवस्थापनमा जोड दिनु पर्ने बताए। त्यस्तै हाल बाध्यताले विदेशिएकाहरू सिप र अर्थ लिएर फर्कनु र उनीहरूलाई लगानीका लागि उचित वातावरण राज्यले दिनुपर्ने तर्क चौधरीले राखे।

राज्यसँगै उद्योगीको हिसाबले आफूले पनि सामाजिक कल्याणमा पुर्‍याउनु पर्ने योगदानबारे चर्चा गरे। उनले चाँडै चौधरी ग्रुपको वाइवाइलगायत उत्पादनमा आम जनताको सेयर रहने बाटो खुल्ने सुनाए। भने, 'हामीले योजनावद्ध ढङ्गमा काम गरिरहेका छौं। आम मानिसको लगानी सुरक्षित रहने र तोकेको रिटर्न दिन सक्ने अवस्था पर्खिएका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell