काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा १ देखि ८ सम्म नेपालभाषामा स्थानीय पाठ्यक्रम लागू गरेको छ। महानगरले एक कार्यक्रमबीच आज कक्षा १ देखि ४ सम्मको पाठ्यमक्रम र पाठ्यपुस्तक सार्वजनिक गरेको हो। कक्षा ५ देखि ८ सम्मको पाठयक्रम र पाठ्यपुस्तकपनि चाँडै सार्वजनिक गरिने महानगरले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रुपमा आज सभागृहमा पुस्तक विमोचन गरेका हुन्।
काठमाडौँ महानगर क्षेत्र भित्रका विद्यालयमा मातृभाषामा कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन गर्ने उद्देश्यसहित ‘येँ देय् म्हसीके’ पाठ्यक्रम र पाठ्यपुस्तक विमोचन गरिएको हो।
पाठ्यपुस्तक विमोचनपछि मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाले नेपालभाषामा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक ल्याउनुलाई ऐतिहासिक र साहसिक कामको संज्ञा दिए। उनले भाषाको स्रोतलाई नै लक्षित गर्दै महानगरले संविधान अनुरुप काम गरेको भन्दै उनले यसलाई काठमाडौं उपत्यकाभर विस्तार गर्नुपर्ने सुझाव दिए।
महानगर प्रमुख शाक्ले यो पाठ्यक्रम लागू गराउन कोसिस गर्दा विविध समस्याहरु आएपनि महानगरले आँट गरेर नेपालभाषामा नै पाठ्यक्रम ल्याएको बताए।
‘पाठ्यक्रम बनाएर पाठ्यपुस्तक तयार पार्नेसम्मको चरणमा आउँदा धेरै चुनौतिलाई अवसरका रुपमा परिणत गर्न सफल भएका छौँ’ शाक्यले भने।
उनले महानगर सामूदायिक विद्यालयको स्तर उकास्ने अभियानमामा रहेको भन्दै सामूदायिक विद्यालयको स्ततरोन्नती भए संस्थागत विद्यालय स्वतः बन्द हुने बताए।
उनले काठमाडौंमा ७७ वटै जिल्लाका मानिसहरुको बसोबास रहेको भन्दै नेपालभाषा पनि सबैको भाषा भएको बताए। काठमाडौंको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उदेश्यले यो शिक्षा लागु गरेको उनले बताए।
महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि आजको दिन सबैको लागि एतिहासिक दिन भएको भन्दै सामुदायक विद्यालयमा मात्रै निजी विद्यालयमा समेत यो पाठ्यक्रम लागू गर्ने बताइन्।
काठमाडौं महानगरपालिकाले आफु मातहत रहेका सम्पूर्ण सामुदायिक र निजी विद्यालयहरूमा यसै वर्षदेखि उक्त पाठ्यपुस्तक पठनपाठन गर्ने निर्णय गरिसकेको छ। नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो।
पाठ्यक्रम विमोचन कार्यक्रममा एन प्याबसनका अध्यक्ष भीष्म पाण्डले यो नेपालभाषामा पाठ्यक्रम लागू गर्ने भन्दा पहिला धेरै शंकाहरु रहेकोमा अहिले ती शंकाहरुको समाधान भएको बताए। उनले एन प्याबसन अन्तर्गतका सबै विद्यालयहरुमा यो पाठ्यक्रम लागू गर्ने भन्दै नेपालभाषा नेवार समुदायको मात्रै नभइ सबैको सम्पत्ति भएको बताए।
'नेपालभाषालाई पनि आफ्नै सम्पत्ति सम्झेर एन प्याबसनले स्वागत गर्छ' उनले भने।
उनले शिक्षकको दरबन्दीको व्यवास्था महानगरले नै गरेकोमा खुशी व्यक्त गर्दै चाँडोभन्दा चाँडो शिक्षक र पाठ्यक्रम उपलब्ध हुनुपर्ने बताए।
यस्तै, सामुदायिक विद्यालय पेशागत शिक्षण संगठनका अध्यक्ष डिल्लीप्रसाद शर्मा ढकालले 'येँ देय् म्हसीके' लागू भएसँगै अब काठमाडौंकाो भाषामात्रै होइन यहाँका कला, सम्पदा निर्माण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने दिशा तर्फ उन्मुख हुनुपर्ने बताए। उनले स्थानीय भाषाको पाठ्यक्रम अब ८ कक्षासम्ममात्रै सीमित नभइ कक्षा १२ सम्म नै पढाइ हुनुपर्ने बताए।
काठमाडौं महानगरपालिका क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले उक्त विषयको पठन–पाठन सुरु गरेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ।
पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको छ। पाठ्यपुस्तकमा नेवार समुदायको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन्।
बालबालिकालाई सिक्न सजिलो होस भन्ने उदेश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन गरिने छ। कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुनेछ भने कक्षा ६,७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको छ।