PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बेसहारा बृद्ध आमालाई आश्रय दिने बृद्धाश्रम आफैँ बन्यो सहाराविहीन, उधारोमा चल्दैछ गुजारा



सुमित मिश्र

बेसहारा बृद्ध आमालाई आश्रय दिने बृद्धाश्रम आफैँ बन्यो सहाराविहीन, उधारोमा चल्दैछ गुजारा

जनकपुरधाम : बुढेसकालमा सन्तान आमाबुबाका लागि सहारा हुन्छन्। तर, बुढेसकालको सहाराको रुपमा रहेको सन्तानबाटै जब बृद्ध आमाबुवा अपहेलित हुन्छन्, त्यसपछि बाध्य भएर घर बाहिरै आफ्नो नयाँ संसार बनाउने सोचका साथ बृद्धाश्रम पुग्छन्। र, त्यहीँ आफ्नो आश्रय स्थल बनाउँछन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित जानकी आँखा अस्पतालको छेउमै जानकी बृद्धाश्रम छ। त्यो वृद्धाश्रमको स्थापना २०५३ मंसिर २० गते भएको हो। जानकी बृद्धाश्रमले १८ जना बृद्ध आमाहरुलाई सहारा दिएको छ। यद्यपि अचेल बृद्धाश्रम आफै बेसहारा भएपछि सञ्चालनमा समस्या हुँदै आइरहेको छ।

बृद्धाश्रमकी सञ्चालिका सीता अधिकारीले कुनै निकायबाट आर्थिक सहयोग नभएका कारण उधारोकै भरमा बृद्धाश्रम चलिरहेको बताइन्। उनका अनुसार जानकी बृद्धाश्रममा सहयोगी भावनाका साथ कार्यरत ६ जना कर्मचारीले समेत गत एक वर्षको तलब पाएका छैनन्।

उनले भनिन्, ‘तलबको कुरै छोडौँ गत चैत महिनादेखिको दूध, ग्यास, तरकारी, औषधि लगायतको उधारो तिर्न बाँकी नै छ। पहिले पहिले संघ सरकारबाटै बृद्धाश्रम सञ्चालनका लागि रकम आउँथ्यो तर प्रदेश सरकार मातहत आएपछि उधारोको चाङ नै बढेको छ।’

उनले अगाडि भनिन्, ‘कति दिन यसरी उधारोकै भरमा यो बृद्धाश्रम चलाउनु पर्छ ठेगान छैन, अब त उधारोको ताकेताले बाटो हिड्न पनि गाह्रो भइसकेको छ।’

समाज कल्याण मन्त्रालय मार्फत सञ्चालनमा आएको जानकी बृद्धाश्रमका लागि प्रत्येक वर्ष ६ लाख रुपैयाँ सञ्चालनका लागि सीधै आश्रमको खातामा आउने गरेकोमा पछि महिला विकास कार्यालय मार्फत बजेट आउन थाएको उनले बताइन्। हाल प्रदेश सरकार गठनपछि बार्षिक बजेट त परको कुरा सहयोग पनि गर्न कसैले नचाहेको उनको भनाइ छ। प्रदेश सरकार गठन भएपछि आर्थिक वर्ष २०७५ मा ४ लाख रुपैयाँ बजेट छुट्याउनु बाहेक बाँकी वर्षमा बजेट छुट्याउन नसकेको उनले बताइन्।

यद्यपि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले जानकी बृद्धाश्रम सञ्चालनका लागि आफूहरु तत्पर रहेको दावी गरे। उनले बृद्धाश्रमकै लागि २० लाख रुपैयाँ चालु आर्थिक वर्षमा बजेट छुट्याइएको जानकारी दिए। यद्यपि सो बजेट बृद्धाश्रमको माथिल्लो तल्लाको निर्माणका लागि छुट्याइएको छ। बृद्धाश्रम सञ्चालनका लागि आफूहरुले गम्भिरता देखाउने मन्त्री साहले बताए।

एक वर्षदेखिको तलब पाएका छैनन् कर्मचारीले

बृद्धाआश्रममा सञ्चालिका सीता अधिकारीसहित ६ जना कर्मचारी कार्यरत छन्। कर्मचारीहरु समेत गत एक वर्षदेखिको तलब पाएका छैनन्। बृद्धाश्रममा कार्यरत मेस्तरलाई मासिक ७ सय ५० रुपैयाँ, भाँडा वर्तन माँझ्नेलाई मासिक १ हजार रुपैयाँ र बाँकी कर्मचारीलाई ४ हजार रुपैयाँको दरले मासिक तलब दिइन्छ। बृद्धाश्रमकी सञ्चालिका अधिकारीका अनुसार बृद्धाश्रम सञ्चालनका लागि मासिक कम्तीमा ७५ हजार रुपैयाँ आवश्यक पर्छ। तर, कुनै निकायबाट सहयोग नपाउँदा आश्रम सञ्चालन गर्न धौ–धौ परिरहेको अधिकारीले बतइन्।

बृद्ध आमाहरुको व्यथा   

वृद्धाश्रममा १८ जना आमा आश्रय लिएर बस्दै आइरहेका छन्। अधिकांश आमाको आफ्नै सन्तान, नाति नातिनी छन् कतिपय निसन्तान पनि छन्।

‘कोही कोही आमा आफैँ आश्रममा आउनुहुन्छ भने कोहीलाई प्रहरी प्रशासनले पनि बाटो, गल्लीबाट उद्धार गरेर ल्याउने गरेका छन्’, अधिकारीले भनिन्, ‘आश्रममा रहनुभएकी केही आमाहरूको भने सन्तान नै नभएका पनि छन्।’

महोत्तरीको भंगहा नगरपालिका बिर्ता पलासकी ८० वर्षीया आमा देवसुन्दरी देवीको आफ्नो कुनै सन्तान थिएनन्। पछि देवरले नै सबै जग्गा तथा सम्पत्ति हडपे पछि बाध्य भएर आफु बृद्धाश्रममा आश्रय लिनु परेको देवसुन्दरीले बताइन्।

उनले भनिन्, ‘आफ्नैले धोखा दिएपछि फेरी त्यो ठाउँ फर्केर जाने ईच्छा नै हुँदैन। अब यहि आश्रम मेरोलागि मेरो संसार हो। यहाँ जति नै कष्ट भएपनि यहिँ रमाइलो लाग्न थालेको छ।’

धनुषाको सबैला नगरपालिकाकी पानो देवी गुप्ता पनि आफ्नो घर फेरी फर्केर जान चाहदिँनन्। उनको गाउँमा सम्पन्न परिवार छ। सन्तानको राम्रै व्यापार पनि छ। उनी सन्तानबाटै अपहेलित भएपछि जानकी बृद्धाश्रममा आश्रय लिन पुगेकी थिइन्। पछि उनको नातिको बिहे हुँदा छोरोले समाजको दबाबमा उनलाई घर लिएर गएका थिए। तर, पछि घरमै छोरो बुहारीले फेरी दुःख दिन थालेपछि आफै फेरी यहाँ बृद्धाश्रममा आश्रय लिन आएको उनले बताइन्।

कसरी भयो वृद्धाश्रमको स्थापना?

२०५३ मंसिर २० गते नेपाली कांग्रेसकी नेतृ लिला कोइरालाले असहाय बृद्ध महिलाको सुरक्षाका लागि जानकी बृद्धाश्रम स्थापना गरेकी थिइन्। उनी महिला, बालबालिका तथा सामाजिक कल्याण विकास मन्त्री रहेको समयमा स्थापना गरिएको थियो। स्थापनाकालमा २ जना आमालाई राखेर आश्रम सञ्चालन गरिएको थियो। केही महिना नबित्दै आश्रममा बृद्ध आमाहरुको संख्या १६ पुगेको थियो।

शुरूमा २ वटा कोठा भाडामा लिएर जनकपुरधामको भानुचोकमा सञ्चालन गरिएको बृद्धाश्रमा पछि १६ वटा कोठा सहितको फ्ल्याट भाडामा लिएर ९ वर्षसम्म आश्रम सञ्चालन भएको थियो। त्यसपछि गुठी संस्थान मातहत रहेको राजगुठी रत्नसागर मठका महन्थ रामप्रकाश दास वैष्णवले आश्रमका लागि साढे २ कठ्ठा जग्गा उपलब्ध गराएका थिए।

जनकपुर अञ्चल प्रहरी कार्यालयका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक डा चुडाबहादुर श्रेष्ठले विभिन्न ठाउँबाट आर्थिक सहयोग चन्दा जुटाएर आश्रमका लागि नयाँ भवन बनाउन लगाएको अधिकारीले बताइन्। भवन निर्माणका लागि समाज कल्याण मन्त्रालयले पनि ११ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो। २०६२ सालमा आश्रमको नयाँ भवनको उद्घाटन गरिएको थियो। हाल आश्रममा भान्साबाहेक बस्ने कोठा १६ वटा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell