जनकपुरधाम : मिथिलाञ्चलको धार्मिक एवं ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजबाट सुरु भएको छ। परिक्रमामा अन्य वर्षहरु झैँ यस वर्षपनि श्रद्धालुहरुको भीड देखिएको छ।
जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोला संगै १५ दिनसम्म भारत देखि नेपाल हुँदै विभिन्न धार्मिक स्थलहरुको पैदल यात्रा गरेर परिक्रमा गरिने गरिन्छ।
मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ। धनुषा कचुरीका सुखदेव दास परिक्रमामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने बताउँछन्। उनले पक्रिमा पारिवारिक कल्याणका साथै सामाजिक कल्याणका लागि समेत महत्वपूर्ण रहेको बताए।
परिक्रमाको प्रारम्भ
यस परिक्रमाको प्रारम्भ बारे कतै उल्लेख भएको पाइदैन यद्यपि भगवान गणेशद्वारा तीनै लोकको परिक्रमाको क्रममा माता पार्वती र पिता महादेवको परिक्रमा गरेको धर्मग्रन्थहरुमा उल्लेख पाइन्छ। आफ्नो अराध्य देव वा देवी तथा पुण्य भूमिको परिक्रमा गर्नाले पुण्यको प्राप्ति हुने जनविश्वास रहेको छ। मन्दिरहरु देवी देवताको पूजा गरेपछि त्रिपेक्षण गर्नुलाई परिक्रमाकै स्वरुपको रुपमा लिइन्छ।
परिक्रमाको इतिहास उल्लेख नभएपनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयासलाई सराहनीय मान्न सकिन्छ। सोही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ। परिक्रमाको नेतृत्वको विषयलाई लिएर कचुरी मठ र जनक दुलारी कुटीबिच मुद्दा मामिला समेत चलेको थियो। तर वि.सं. १९९०मा जिल्ला अदालत धनुषाले कचुरी मठकै पक्षमा फैसला सुनायो।
हुनत मिथिला मध्यमा परिक्रमा सम्बन्धमा मिथिला महात्ममा चर्चा भएको पाइन्छ। मिथिला महात्म १८औँ शताब्दीमा लेखिएको मानिन्छ। यस हिसाबले मिथिला मध्यमा परिक्रमा १८औँ शताब्दीभन्दा पहिले नै शुरु भएको हुन सक्ने अनुमान गरिन्छ।
विश्राम स्थलको आ–आफ्नै महत्व
नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राका लागि नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन्। मिथिला महात्म्यमा यी विश्रामस्थलका पौराणिक एवम् धार्मिक महत्वबारे चर्चा गरिएकाले यी स्थलप्रति भक्तजनको आस्था रहेको पाइन्छ। नेपालको १०७ एवम् भारतको २६ गरी १३३ किलो मीटर भूमिमा परिक्रमा(पैदलयात्र) गर्ने परम्परा छ।
यस परिक्रमामा भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, वैद्यनाथधामका साधुहरुको उल्लेख्य रुपमा सहभागिता रहेको हुन्छ। यद्यपि नव पुस्ता भने साधु सन्तहरुसँग १५ दिने परिक्रमा गर्न रुचाउन छाडेका छन्। विगतमा भएका पाप नास भएर मनोकामना पूरा हुने धार्मिक मान्यता अनुसार परिक्रमाका यात्रुहरु भारतको कलाणेश्वर, गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुँदै धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक-एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् र पूर्णिमाको दिन जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेलेर १५ दिवसीय यात्रा सम्पन्न हुन्छ।
फागुन शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने यो धर्मयात्रा सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शनगरे बराबरको फल प्राप्ति हुने विश्वास रहेको छ। प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निर्माण गरिएका कलाणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानी यो परिक्रमा यात्रा सुरु गरिएको हो।
कलना : परिक्रमाको पहिलो बिसौनी भारतको बिहार राज्य स्थित कलना रहेको छ। कलनामा रहेको कलाणेश्वर महादेवको मन्दिर रहेको छ। परिक्रमामा सहभागी श्रद्धालुहरु कल्याणेश्वर महादेवको पूजा अराधना गर्ने गर्छन।
गिरिजास्थान : कल्याणेश्वर महादेवको पूजा अराधना गरी परिक्रमामा सहभागीहरु दोश्रो बिसौनी गिरिजास्थानका लागि प्रस्थान गर्छन। प्राचीन समयमा जानकी माता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी माता गिरिजाको पूजाअर्चना गर्ने गरेको विश्वास गरिन्छ। माता जानकी र भगवान रामको पहिलो भेट यही स्थानमा भएको जनविश्वास रहेको पाइन्छ।
मटिहानी : गिरिजास्थानबाट परिक्रमाका सहभागीहरु फेरी तेश्रोदिन नेपालकै महोत्तरीस्थित मटिहानीका लागि प्रस्थान गर्छन। परिक्रमा यात्रीहरुको तेश्रो बिसौनी त्यहिँ हुने गर्छन्। मटिहानी जानकी माताको विवाहमा मटकोर भएको धार्मिक ग्रन्थहरुमा उल्लेख पाइन्छ। अहिले पनि विवाहपञ्चमीको समयमा रामजानकीको विवाहका लागि यही मटकोर विधि सम्पन्न हुन्छ।
जलेश्वर : चौथो मटिहानीबाट परिक्रमाको डोला महोत्तरीको सदरमुकाम जलेश्वर पुग्ने गर्छ। यहाँ भगवान् शङ्कर जलमै निवास गरेको हुनाले यो स्थानको परिक्रमामा बेग्लै महत्व रहेको छ। त्यसैले पनि यो महादेवको नाम नै जलेश्वरनाथ महादेव पर्न गएको हो।
मडै : फागुन पञ्चमी तिथिमा परिक्रमाको पाँचौ दिन जलेश्वरबाट महोत्तरीको मडै भन्ने स्थानमा परिक्रमाको डोला बास बस्दछ। उक्त ठाउँ माण्डव्य ऋषिको बास स्थान रहेको जनविश्वास रहेको छ।
ध्रुवकुण्ड : मडैबाट षष्ठी तिथि (छैठो) दिन परिक्रमाको डोला ध्रुवकुण्डका लागि प्रस्थान गर्छ। ध्रुवले यही स्थानमा कठोर तपस्या गरेको हुनाले यो स्थानकै नाम ध्रुवकुण्ड पर्न गएको हो।
कञ्चनवन : सप्तमी तिथिमा (सातौ दिन्) ध्रुवकुण्ड बाट परिक्रमाको डोला कञ्चनवन पुग्ने गर्छ। यहाँ इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल रहेको छ। इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ। यो स्थानमा भगवान राम र माता जानकीले होली पर्व मनाएका थिए। यहाँ परिक्रमामा सहभागीहरु रंग अबिरबाट होली खेल्ने गर्छन।
पर्वता : आठौ दिन अष्टमी तिथिमा कञ्चनवनमा होली खेलेर परिक्रमामा सहभागी श्रद्धालुहरु पर्वताका लागि प्रस्थान गर्छन। यो स्थानमा पाँच पर्वतको संगमस्थल रहेको जनविश्वास छ। त्यसैले यो स्थलकै नाम पर्वता पर्न गएको हो।
नवौ दिन धनुषाधाम : परिक्रमामा धनुषाधामको विशेष महत्व रहेको पाइन्छ। मिथिलाका राजा जनकले आफ्नो छोरी सीताका लागि आयोजना गरेको स्वयम्वरको क्रममा भगवान रामले शिवजीको धनुष भाँच्दा ३ टुक्रा भएको धर्म ग्रन्थहरुमा उल्लेख पाइन्छ। जसमध्ये एक टुक्रा आकाशमा, एक टुक्रा पातालमा र एक टुक्रा धरतीमा झरेको थियो। धरतीमा झरेको धनुषको टुक्रा यही स्थानमा झरेको जनविश्वास रहेको छ। त्यसैले स्थानको नाम धनुषाधाम पर्न गयो। नवमी तिथिका दिन परिक्रमामा सहभागीहरु यही स्थानमा विश्राम गर्छन।
दशौं दिन सतोषर : दशमी तिथिका दिन परिक्रमा धनुषाधामबाट सतोषरका लागि प्रस्थान गर्छन। यो स्थल सप्तऋषिको तपोभूमि रहेका कारण यसको पनि विशेष महत्व रहेको छ।
त्यसपछि परिक्रमा ११ औं दिनमा औरही, बार्हौ दिन करूणा हुँदै तेर्हौ दिनमा पुनः कल्याणेश्वर स्थान हुँदै सो दिन बिसौलमा विश्राम गर्छ। यो स्थलमा विश्वामित्रको मन्दिरमा पूजापाठ गर्ने गरिन्छ। १४ औं दिन चतुर्दशीका दिन उक्त ठाउँबाट डोला जनकपुरधाम आई विश्राम गर्छ। त्यसको भोलीपल्ट१५ औं दिनमा पूर्णिमाका दिन जनकपुरधामको अन्त गृह परिक्रमा गरी मिथिला मध्यमा परिक्रमा सम्पन्न हुन्छ। परिक्रमा सम्पन्न भएको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने परम्परा रहेको छ।
परिक्रमामा श्रद्धालुहरुले उडाउँछन् धूलो ?
साधु किशोरी सरनका अनुसार त्रेता युगमा अहिल्या सति सावित्री थिइन्। तर उनको पति गौतम ऋषिलाई अहिल्याको सतित्वमाथि सन्देह भएपछि ढूंगा बन्ने श्राप दिए। त्यसपछि अहिल्या ढुंगा बनेकी थिइन्। ढुंगा बनेकी अहिल्यालाई भगवान राम मिथिलामा आउँदा आफ्नो पैतालाले छोएपछि फेरी मानव योनीमा फर्केकी थिइन्। यस विषयमा मिथिला महात्ममा भनिएको छ।
जेही रज मुनी तरी
सो ढुंढत गजराज
एक पटक हात्तीले आफ्नो सुंढले धूलो उडाई रहँदा एकजनाले सोधे : तिमीले यो धूलो किन उडाई रहेका छौँ ?
त्यसको जवावमा उसले भन्यो ‘अहिल्याले राम जीको चरण स्पर्शबाट ढुंगा बाट फेरी मानव योनी पाइन्। उनी त रामजीको पैतालामा लागेको मिथिलाको धूलो छोएर मानव योनी पाएकी थिइन्। यसले मिथिला भूमिको धूलोको पवित्रतालाई झल्काउँछ। त्यसैले मिथिला मध्यमा परिक्रमामा सहभागी श्रद्धालुहरु धूलो उडाउने गर्छन्।