पृष्ठभूमिमा बजिरहेको धुनसँगै सल्बलाउन थाल्छन् तीन युवतीका औंलाहरू। उनीहरू हाउभाउसहित आफ्ना रुची र रहरहरू अभिव्यक्त गर्न थाल्छन्। शब्दको प्रयोग बिनै थाहा हुन्छ – उनीहरूको अनुभूति क्षणभरमै बद्लिरहेको छ। उनीहरू कहिले खुशी हुन्छन् त कहिले दु:खी। एकछिन अघिसम्म दङ्ग देखिएका उनीहरू केहीबेरमै निराश हुन्छन्, घुर्क्याउन थाल्छन्।
ती युवतीहरू निख्खर सेतो कुर्ता र कालो सुरुवालमा उभिएका छन्। सेतो र कालोको बिचमा उनीहरूको पहिरनले संकेत गर्छ उनीहरू उभिएको ‘ग्रे जोन।’ उनीहरू सही र गलतको भेदभन्दा पर रहरको दुनियाँमा मग्न देखिन्छन्।
तर, आफूलाई एकोहोरो श्रृङ्गार गरिरहेकी युवतीले हातको नङमा पोतेको रङ बिग्रँदा कस्तो महसुस गर्लिन्?
कोसिस गर्दागर्दै आफूले चाहेको कुरा बुझाउन नसक्दा कस्तो होला एउटा शिक्षिकाको मनोदशा?
अनि पुज्दापुज्दै देउताले सुनेनन् आस्थाको भाका भने?
पृष्ठभूमिमा बज्दाबज्दैको धुन बन्द हुन्छ। भङ्ग हुन्छ आफ्नो दुनियाँमा मस्त ती युवतीहरूको एकाग्रता। उनीहरूले कालो र सेतोको भेद छुट्याउन नसक्दै आउँछन् एक झुण्ड केटा, हातमा उज्यालो बोकेर। उनीहरूले ती युवतीको मनोदशातर्फ सोझ्याउँछन् टर्च लाइट। ध्यानपूर्वक हेर्छन् र सुरु गर्छन् प्रहार। लाग्छ त्यो चेतनामाथि प्रहार भयो। कमजोरीमा प्रहार भयो। किनकि ती केटाहरूले जता धकेल्छन् त्यतै मोडिन्छन् केटीहरू र अडिन्छन् त्यहीँ।
त्यसरी अडिनुको नतिजा?
जबजब युवतीहरू चुनौतीको सामना गर्न खोज्छन् तबतब फेरि प्रहार हुन्छ। दृश्यले शारीरिक बलको प्रयोगमा हिँड्दाहिँड्दै रोकिएका छोरी मान्छेहरूको अवस्था झल्काउँछ। त्यसरी रोकिन बाध्यहरू चिच्याउँछन्, रुन्छन्, कराउँछन्। सुन्ने कसले? चिच्याइरहँदा उनीहरूको मुखमात्र खुला हुन्छ। आँखा र कान ठप्प। लाग्छ, उनीहरू समाजको प्रतिनिधित्व गरिरहेका छन्। त्यो समाज जो पीडितको चिच्याहट सुनेर पनि नसुने सरह गर्छ। देखेर पनि नदेखेजस्तो गर्छ।
नत्र भने खुलेआम बलात्कृत भएर मारिएकी निर्मला पन्तको अपराधी किन भेटिँदैन? अपराध हो, सजाय पाइन्छ भन्ने थाहा हुँदाहुँदै किन प्रेरित भइरहेछ नाबालक भागरथी भट्टको बलात्कार गर्न?
नाट्य प्रस्तुति ‘रेप मेसिन’ले तमाम प्रश्न उब्जाउँछ हेर्ने दर्शकहरूको हृदयमा।
एउटी केटी यौन दुर्व्यवहारको शिकार हुँदा उसको छोटो लुगामा प्रश्न गर्छ समाज। भोलि प्रश्न गर्नेकै झुण्डबाट अर्को कोही बलात्कृत हुँदा समाज फेरि भन्छ – ‘उत्ताउली गाई बाघले खाइ।‘
बलात्कारमा पीडितको चरित्र, लुगा वा स्वभावलाई प्रश्न गर्दागर्दै समाजले बिर्सिएको हुन्छ भोलि त्यही घटना आफूमाथि घट्न सक्छ। अझ सोचेकै हुँदैन – पीडितले संरक्षण पाइरहेको पाटो। उनीहरू खुलेआम हिँड्छन्। पीडितको पक्षमा आवाज उठाउँछन्।
नालीमा भेटिएको जुत्ता, रगत लत्पतिएको कट्टु, बालिकाको घाँघर र अर्धनग्न शरीर बोकेर प्रशासनलाई प्रश्न गर्छन् – बलात्कारी कहाँ छ?
घटना दोहोरिइरहन्छ। प्रश्न उठिरहन्छ। सम्बन्धित निकाय जवाफ दिइरहन्छ – अनुसन्धान भइरहेछ। तर, बोल्नु पर्नेहरू चुप रहन्छन्। उनीहरू मौनताको ललिपप चुस्छन्।
नाटकमा अपराधीहरूले बलात्कृत युवतीलाई माटोमुनि पुर्याउँदा पनि कोही बोल्दैनन्। यो संकेत हो कसरी समाजको संरचनाले अपराधीहरूलाई आड दिँदै आएको छ। अपराधीले आफैलाई ढाक्न प्लास्टिकको पहिरन प्रयोग गरेका छन्। उनीहरूको अपराध पनि त्यसैले छोपेको छ। प्लास्टिक लामो समय टिक्दैन।
उनीहरूको अपराध चाहिँ कति समय लुक्ला? नाटकले प्रश्न गर्छ। भलै, बलात्कारीहरूमा कुनै हिनताबोध छैन। उनीहरू गर्विलो उभिन्छन्। र, घटना लुकाउन सक्नुको उत्सव मनाउँछन्, मिठाइ खाएर।
नाटकमा समाजमा महिलाको अवस्था, उनीहरूले भोग्नु परेको दुर्व्यवहारको श्रृङ्खला एकपछि अर्को गर्दै जोडिन्छ। समाजमा संस्थागत् हुँदै गएको बलात्कार, यसले पीडितको जीवनमा पारेको आघात र पीडकलाई समाज र राज्यले दिइरहेको संरक्षणलाई प्रतीकात्मक ढङ्गमा प्रस्तुत गरिएको छ।
सुरज मल्ल निर्देशित ‘रेप मेसिन’ समाजलाई गरिएको प्रश्न र व्यङ्ग्य हो। सरकारलाई दिइएको दवाव हो, वर्तमान समयको तीतो यथार्थ। एक्टर्स स्टुडियोको उक्त नाटक फाइनप्रिन्टले आयोजना गरेको घुम्ती साहित्य महोत्सवको समापन समारोहमा देखाइएको थियो।