
नेदरल्यान्ड्सले अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिनको प्रयोग स्थगित गरेको छ। सम्भावित 'साइड इफेक्ट' लाई मध्यनजर गर्दै डच सरकारले उक्त निर्णय लिएको बीबीसीले जनाएको छ।
यसअघि आयरल्यान्ड लगायतका देशहरुले अक्सफोर्ड-अस्ट्राजेनेका भ्याक्सिन लगाएका केही व्यक्तिमा 'ब्लड क्लट'को समस्या देखिएको भन्दै भ्याक्सिनको प्रयोगमा अस्थायी रुपले रोक लगाउने घोषणा गरिसकेका छन्। यद्यपि, विश्व स्वास्थ्य संगठनले भने भ्याक्सिन र 'ब्लड क्लट' को समस्यामा कुनै सम्बन्ध नगरेको दाबी गर्दै आएको छ।
डेनमार्क, नर्वे, बुलगेरिया, आइसल्यान्ड र थाइल्यान्डले समेत अस्ट्राजेनेकाको प्रयोगमा रोक लगाइसकेको छ।
डच स्वास्थ्य मन्त्री हुगो डे जोन्गेले भ्याक्सिनबारेमा कुनै पनि सन्देहलाई स्थान दिनु उपयुक्त नभएको भन्दै सबै कुरा ठिक भएको ग्यारेण्टी गर्न हाल उक्त भ्याक्सिन अभियान रोकिएको बताएका छन्।
नेदरल्यान्ड्सले अस्ट्राजेनेकाको १२ मिलियन डोज अर्डर गरेको छ।
अस्ट्राजेनेकाले भने भ्याक्सिनका कारण 'ब्लड क्लट' को बढ्दो समस्याबारे केही आधार नभेटिएको दाबी गरेको छ। हालसम्म युरोपमा १ करोड ७० लाख मानिसले आफ्नो भ्याक्सिन लगाइसकेको भन्दै उनले 'ब्ल्ड कल्ट' को समस्या एकदम न्यून रहेको जनाएको छ।