
काठमाडौं : सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले जयनेपाल फिल्म हलसँगको सहकार्य तोडेको छ। क्वेष्ट इन्टरटेन्मेन्टले जग्गा भाडामा लिएर १९ वर्ष देखि सञ्चालन गर्दै आएको क्युएफएक्स फिर्ता भएको हो।
काठमाडौँस्थित हात्तीसारमा रहेको जय नेपाल हल पुरानो फिल्म हल मध्येको एक हो। सन् २००२ को जुलाईमा जय नेपाल हल भाडामा लिएर पहिलो पटक क्युएफएक्सले सिनेमा क्षेत्रमा पाइला चालेको थियो।
जयनेपालसँगको सम्झौता सकिएपछि हलबन्द गर्ने निर्णय गरिएको जय नेपाल हलका म्यानेजर स्याङ दोर्जे तामाङले जानकारी दिए। साथै क्युएफएक्सको स्वामित्वमा रहेको हलका सबै सामानहरु पनि बिक्री गरिसकेको शेर्पाले बताए।
सिनेमा घर संचालन गर्न गाह्रो भएकाले जयनेपाल हलबाट क्युएफएक्सले हात झिकेको मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिनले बताए।
'भाडामा लिएर क्युएफएक्स संचालनमा ल्याएका थियौँ। तर हल नचल्दा क्युएफएक्सले जयनेपाल हल छोडदैछ,' उनले भने।
सिंगल थिएटरमा फिल्म चल्न छोडेको उनको भनाई छ। केही वर्षदेखि व्यापार घाटामा भइरहेको र कोरोना महामारीपछि हल संचालन गर्न निकै गाह्रो भएकाले क्युएफएक्स बन्द गर्नुपर्ने अवस्था आएको उद्दिनले बताए।
भने, 'आजभोलि फिल्म चल्ने भनेकै मल्टिप्लेक्स मलहरुमा मात्र हो। क्युएफएक्सलाई सिगंल थिएटर चलाउन गाह्रो छ।'
वीरगंजमा भने क्युएफएक्सले नयाँ हल संचालनमा ल्याउने तयारी गरिरहेको छ।