- दुर्गा पंगेनी-
'ह्या नेपाल एयरलाइन्स? हुन्न हुन्न। त्यही दिन कतार एयरलाइन्सको टिकटको मूल्य कति छ? चार सय मात्र महँगो? को उड्छ त्यो भर नै नभएको जहाजमा! कतार एयरलाइन्स कै टिकट काट्दिनु।'
कार्यालयको आडैमा छ - ट्राभल एजेन्सी। त्यहाँ काम गर्ने टिकट एजेन्ट एक ग्राहक कुरा गर्दै थिए।
म उनको नेपाल एयरलाइन्सप्रतिको वितृष्णा देखेर अचम्मित भएँ। त्यस्तो किन हुन्छ?
मनमा उब्जिएको जिज्ञासा सम्बोधन गर्न मैले ती मानिसलाई सोधेँ - किन यत्रो आक्रोश पोख्नुभएको आफ्नै राष्ट्रिय ध्वजावाहकमाथि?
उनले मलाई प्रतिप्रश्न गरे – तपाईँ कहिल्यै उड्नुभएको छ आरएनएमा?
उनी जवाफ नपर्खिइ अघि बढिसकेका थिए। हातमा कतार एयरलाइन्सको टिकट बोकेर।
+++
एक समय, कारणबस् नेपाल एयरलाइन्सको उडान ठप्प थियो। मैले हिमालयन एयरलाइन्सको टिकट काटेको थिएँ। विरक्त लाग्दो जहाज, क्रु मेम्बरहरूको कर्कश व्यवहार, अघिल्लो उडानको फोहोर टिस्यु पेपर र पोखिएको तरकारी अनि वान्ता होलाजस्तो शौचालयका फोटा खिचेर मैले पत्रिकामा छपाएँ।
त्यो लेख हटाउन या परिमार्जन गर्न ठूला ठाउँबाट फोनहरू आए। मुद्दा हाल्ने धम्की खेप्नु पर्यो। धन्न सम्पादकले आफू कानूनी लडाइ लड्न तयार भएको जवाफ दिए। हिमालयन एयरलाइन्सका स्टाफको कर्कश व्यवहारको भिडियो। फोहोर शौचालय र तरकारीको झोलले भिजेका सिटका फोटोहरू – मसँग भएका प्रमाणहरूले पनि केही आड दिएको थियो।
त्यस उप्रान्त मैले हिमालयन एयरलाइन्सको जहाज सकेसम्म नचढ्ने निधो गरेँ।
राष्ट्रिय ध्वजावाहक प्रति भने मेरो बेग्लै लगाव थियो। दर्जनौँ पटक म यसको जहाजमा उडेको छु। भलै आजसम्म तोकिएको समयमा जहाज उडेको अनुभव सम्झन सक्दिनँ। कति पटक दुई घण्टासम्म पनि धैर्यवान् रहेको छु। कति पटक व्यवस्थापनलाई गाली गर्दै पर्खिएको छु।
'नेपाली टाइम'जस्ता सस्ता बहाना बनाएर ध्वजावाहकका कमजोरीहरूलाई ढाकछोप गर्दै त्यसैमा यात्रा गरिरहेँ। आफूमात्र होइन सम्पर्कमा रहेका साथीहरू र मसँगै काम गर्ने अन्य कर्मचारीलाई पनि 'आफ्नै जहाज'मार्फत् यात्रा गरौं भनेर प्रोत्साहित गरेँ। ती मान्छेहरूले आरएका कमजोरीहरू भट्याउदै गाली नगरेका होइनन्। आखिर चढ्न सुझाव दिएकै हुँ! गाली सहेँ।
तर ध्वजावाहकका व्यवस्थापकीय कमजोरीको शृङ्खला त घटेन। बरु बढ्दै गयो।
गत डिसेम्बरमा मसँगै काम गर्ने साथी नेपाल जाने भए। टिकट काट्न हामी नेपाल एयरलाइन्सको कार्यालयमा गयौँ। त्यतिबेला कतार एयरवेजले अफरमा तिस र सात केजी लगेजसहित ४२ हजारमा टिकट बेचिरहेको थियो। रुट – दोहाबाट काठमाडौं।
त्यही टिकटका लागि हामीले एनएमा झण्डै १९ सय रियाल (लगभग ५५ हजार) को टिकट काट्नु पर्ने भयो।
केही हजारको कुरा होइन। समस्या त के भने – टिकटको शुल्क क्यास नै तिर्नपर्ने, कार्ड भुक्तानी गर्न नमिल्ने। अनि टिकटको बिलसमेत दिन नमिल्ने बताए त्यहाँका कर्मचारीले।
यो कस्तो तरिका हो? म केही आक्रोशित भएको थिएँ। तर, महामारीबिच घर जान लागेको साथी समस्यामा पर्ला भनेरै चुप लागेँ।
टिकट जारी नहुँदासम्म उनले पेमेन्ट कसरी गर्ने केही जानकारी दिएनन्। हामीले भुक्तानी लिनका लागि कार्यालयमा बिल बुझाउनै पर्ने थियो। तर, ध्वजावाहकका कर्मचारी कुनै पनि हालतमा बिल दिन तयार थिएनन्। मैले तत्काल अनुमान गरेको थिएँ – टिकट ४२ हजारभन्दा माथिको हुँदै होइन।
लागेको थियो – ठगिइयो। तर पनि चुप बस्न बाध्य भइयो। किनकि यस्तो कोभिड-१९ परिक्षण र उडानको तालिकाको तालमेल बल्लतल्ल मिलेको थियो। मौका गुमाउन सकिएन। टिकट किन्यौं।
+++
घटनाको तीन महिना बित्यो। समस्या थियो भने समाधान खोजिन्थ्यो होला। तर, आजको मितिसम्म पनि नेपाल एयरलाइन्सको दोहा अफिसमा कार्डबाट पैसा तिर्न पाइने व्यवस्था मिलाइएको छैन। त्यो सिस्टम बिग्रेको बहाना बनाएर नगद नै माग्छन्। यो त गैरजिम्मेवारीको पराकाष्ठा होइन र?
जिम्मेवारी सम्हालिरहेकाहरूले बिग्रिएको 'सिस्टम' मर्मत गर्न किन चाहँदैनन् ?
समस्या पैसा तिर्ने माध्यममा मात्र कहाँ हो र?
तोके बमोजिम ३० केजी सामान बोकेर एयरपोर्ट पुगेको मेरो साथीलाई कर्मचारीले फेरि हकारे। यो पटक सामान २० केजी भन्दा बढी लान नमिल्ने बताउँदै। टिकटमा लेखिएको '३० केजी'ले बोर्डिङ पास दिनेलाई जिस्काइ रहेको थियो। किनकि त्यहाँ पनि मोलमोलाइ सुरु भयो। '१० केजी सामानको पैसा चाहिन्छ' भन्दै।
त्यो झगडामा परेपछि पर्वतका साथी प्रेम न्यौपाने सामान फालेरै नेपाल फर्कन बाध्य भए। हाल उनी नेपालमै छन्।
यी प्रसङ्ग पुराना भइसके। तर, प्रवृत्ति त उही हो।
मसँगै १५ वर्षदेखि काम गरेका साथीहरू नेपाल फर्कने भए। फर्कने माध्यम बनाए उही एनएलाई। कारण – कतार र नेपाल एयरलाइन्सको टिकट शूल्क बराबर हुनु। मैले नै हो उनीहरूका लागि दुई वटा टिकट काटिदिएको। मार्च २३ तारिखका लागि तय भएको थियो उनीहरूको यात्रा।
अचानक मार्च १५ तारिख राती ट्राभल एजेन्टले मेसेज पठाए। भने – तुरून्त फोन गर्नु। कल ब्याक गर्दा भने – २३ तारिखको उडान रद्द भयो। नयाँ मिति तय गर्नु। सँगसँगै जानकारी दिए – एनएको मार्च २५ बिहानको मात्र टिकट छ। त्यो पनि तत्काल बुक नगरे पाउने सम्भावना न्यून। उनीहरूसँग वैकल्पिक व्यवस्था पनि रहेनछ।
नेपाल एयरलाइन्समा फोन गरेर बुझ्दा – जवाफ उही।
समस्या अर्कै थियो। २३ तारिख उडान भएका मेरा दुवै साथीहरूको भिसा सकिएको नब्बे दिन पुरा हुँदै थियो। उनीहरू अर्को एक दिन बस्न पाउने अवस्थामा थिएनन्। त्यसदिन देश छोड्न नसके अर्को कागजी प्रक्रिया सुरु गर्नुपर्थ्यो जुन निकै झन्झटिलो हुन्छ।
उनीहरूले कतार एयरवेजको टिकट काटे। केही दिन अगाडि काट्दा २७ हजार रुपैयाँले पुग्थ्यो। यो पटक ३७ हजार तिर्नुपर्यो। दुई जनाको टिकट फेर्न झण्डै २० हजार रुपैयाँ खर्च। यात्राको अन्तिम अवस्थामा आएर खर्चनु परेको त्यो रकमले नेपाल फर्किएपछि धेरै खर्च धान्न सक्थ्यो।
ध्वजावाहक चलाउने व्यवस्थापकहरूको कमजोरीको कारण मेरा साथीहरूको अनर्गल खर्च हुँदा थकथकी लागिरह्यो।
समाचार पढिन्छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी अलपत्र पार्किङ गरिएका छन् या ह्याङ्गरमा थन्क्याइएका छन्। तर, आकर्षक गन्तव्यमा उडान रद्द गरिएका छन्। घाटा हुन्छ भनेर काठमाडौं रुटमा वाइडबडी जहाज उडाइँदैन रे।
कतार एयरवेजको वाइडबडी भने आउँछ, जान्छ। उनीहरूको उत्रै जहाज उड्दा घाटा नहुने तर हाम्रो जहाज उडाउँदा रुट छोटो भएकाले घाटामा जाने – यो कस्तो व्यापारिक लजिक हो? आखिर कसको स्वार्थमा यसरी उडान रद्द हुन्छन्? बुझी नसक्नु छ। उसो त उडान रद्द भएपछि दिने जवाफमा समेत कुनै जिम्मेवारी बोध छैन। नेपालीसँग बोल्ने बोली र गर्ने व्यवहारमा आफ्नोपन छैन।
व्यवस्थापकीय कमजोरी हो भने सक्षम व्यवस्थापक ल्याउनुपर्यो तर जनतालाई यसरी दुख दिन त भएन नि। नत्र सधैँ यस्तो केटाकेटी पाराले त कसरी फराकिलो उडान भर्छ हाम्रो ध्वजावाहक डिम ‘प्रकाश’ सर?