PahiloPost

Dec 4, 2024 | १९ मंसिर २०८१

अर्थ नलागे पनि नेपालको राजनीति अर्थ्याउने नाटक



स्वेच्छा राउत

अर्थ नलागे पनि नेपालको राजनीति अर्थ्याउने नाटक

छिमेकी देशको योजनासहित एक सैनिक गोप्य भ्रमणमा आए। साँझमा दरबार पसेका उनी मध्यरातसम्म महाराजसँग कुराकानीमा व्यस्त रहे। उनलाई पुर्‍याउन ढोकासम्मै पुगेका महाराजको फर्कँदा शरीरबाटै सुरुवाल गायब। अर्धनग्न हुँदा पनि उनको मुहारमा सरमको नामोनिशान देखिन्न। बरु छिमेकी सैनिकले उपहार दिएको कालो रङको कट्टुप्रति गर्व गरिरहे। त्यसैले लाज ढाकिदिएकोमा प्रशन्न रहिरहे।

हल्ला राज्यभर। राजाका सल्लाहकारहरू स्पष्टिकरण दिन अघि सरे। उनीहरूले महाराजको सुरुवाल हराएको नभइ च्यातिएको तर्क गर्न थाले। त्यसले लाज नढाक्ने भएकाले माग्नेलाई दिइपठाएको कथा बनाए।

'महाराजको सुरुवाल हराएको खबर भ्रामक, कपोलकल्पित र दुरुत्साहन प्रेरित हो। उहाँले सुरुवाल धारण गरिबक्सेको छ,' सल्लाहकारले भने, 'महाराजको कुशल नेतृत्वमा देशले हासिल गर्न लागेको सम्वृद्धिबाट आँखा चिम्लिएकाहरूले मात्र सुरुवाल नदेखेका हुन्। तिनीहरूले आँखा उपचार गराउनु।'

घटनाले नेपालको सम्झाउँछ पटकपटक हाम्रो देशको प्रमुखसँग जोडिएर घटेका उस्तै घटना।

भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको जसरी नेपाल आए र सोझै प्रधानमन्त्रीलाई भेटे, त्यस्तै सन्दर्भ जोडियो। गोयल नेपाल आए र गए पनि। उनको भ्रमण तालिकाबारे परराष्ट्र मन्त्रालय बेखर थियो, राजा सुरुवाल गुमाउँदा बेखबर भए झै। आखिरमा, गोयलको गोप्य भेट सम्‍बन्धी प्रश्नहरू उठे। जवाफदेही निकाय मौन रह्यो। स्पष्टिकरण दिनुपर्ने विषय त अरु नै छन्। सुरुवाल हराएका महाराजको सल्लाहकारले दिएको स्पष्टिकरण जस्तै।

राजा र गुप्तचर सेनाको भेट र त्यसलाई टालटुल पारेर लुकाउन खोज्ने सन्दर्भले फेरि प्रधानमन्त्रीका सल्लाहकारको स्मरण गरायो।

एक वर्षअघि भारतीय कांग्रेसका नेता सोनिया गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्दै जारी गरेको भिडियो प्रधानमन्त्री केपी शर्मा ओलीको खाताबाट रिट्वीट भयो।

रिट्वीटले नेपाली ट्वीटर प्रयोगकर्ताहरूलाई प्रश्न र व्यङ्ग्यको विषय दियो। सँगसँगै प्रधानमन्त्रीको खाताबाट भएको त्यस असावधानिपूर्ण कार्यले कुटनीतिक पाटोमा पार्ने असरबारे चर्चा समेत भयो।

घटनाबारे प्रधानमन्‍त्रीका सल्लाहकारहरूले स्पष्टिकरण दिए – अकाउन्ट ह्याकपछि दुरुपयोग भएको हो। नाङ्गिएका राजाको सुरुवाल गायव भएको लुकाए झै उनीहरूको पनि अभिव्यक्ति आयो, उहाँले ट्विट गर्नु भएको होइन।

महाराज र हराएको सुरुवालको प्रसंग भने पत्रकार शरच्चन्द्र वस्तीले लेखेको नाटक 'अर्को अर्थ नलागेमा'। जति अर्थ नलगाए पनि नाटकको व्यङ्ग्य मुलुकको राजनीतिसँग जोडिएकै छ।

वस्तीको व्यङ्ग्यात्मक स्तम्भ 'अर्को अर्थ नलागेमा…' को त्यस अंकसहित अन्य नौ वटा लेखलाई रंगमञ्चमा उतार्ने जमर्को गरे नाट्य केन्द्र ‘ज्ञ’का नाट्यकर्मीले।

+++

भ्यू टावर उद्घाटनको प्रसङ्गबाट सुरु हुन्‍छ नाटक। भत्किएको विद्यालय, ओखतीबिनाका स्वास्थ्य चौकी, अनिकाल र अभावबिच बाँचिरहेका गाउँलेहरू प्रश्न गर्छन् – भ्यू टावरले गर्छ चाहिँ के?

त्यही प्रश्न गरिरहेको अनुभूति हुन्छ - ठडिरहेको धरहराले पनि।

लाग्छ – प्रश्न गर्नेहरू समग्रमा निरिह नेपालीको प्रतिनिधित्व गरिरहेछन्। जसले देशभर भौतिक विकासको योजना अन्तर्गत भ्यू टावर बन्ने सुनिरहेका छन्। अनि बाध्य छन्, विकट गाउँका बिरामी डोकोमा बोकेर अस्पताल ओसार्न। सडक र सवारी नपुगेकै कारण कतिले अस्पताल पुग्दा नपुग्दै ज्यान गुमाएको खबर नौलो होइन उनीहरूका लागि।

नाटकमा भ्यू टावर बनाउने ठेकेदारले भन्छन् – 'हामीलाई ठूला लाग्ने नेताहरू भ्यू टावरबाट होचा देखिन्छन्।'

सूत्रधारले उसलाई सच्याउँदै भन्छ – नेताहरू त जहाँबाट हेरे पनि होचा देखिन्छन्।

उनीहरूले संवादले नैतिक उचाई इंगित गर्छ। ती नेताको प्रवृत्तिबारे कुरा गर्छन् जसले आफ्नो धरातल बिर्सिएका छन्। नेताहरू सबैभन्दा माथि उभिन चाहन्छन् जसको धरातल भने केही हुन्न। हरेक कुरा माथिबाट हेर्छन्, सतहमा। गहिराइ नाप्न आवश्यक नै लाग्दैन उनीहरूलाई। मानौं सिंहदरबारले देखेको देश।

योजना बनाउने मात्र कहाँ हो र? ती योजना कार्यान्वयन गर्न खट्ने संयन्त्र र संलग्न कर्मचारीहरूको पनि अवस्था उही। आर्थिक लोभ र व्यक्तिगत् स्वार्थको भाकामा ताण्डव नाच्छन् उनीहरू। नाच्नेहरूको पैतालामुनि पर्छन् श्यामलाल भण्डारीजस्ता निरीह पात्र।

६२ वर्षीय श्यामलालले मुग्लानमा पसिना बगाएर कमाएको पैसाले घडेरी जोड्छन्। प्रशासन भित्रको 'खेल'का कारण त्यो जग्गा जोगाउन उनले उनी जिउँदो हुनुको प्रमाण पेश गर्नुपर्ने हुन्छ।

मान्छे भन्दा कागजले चर्को बोल्ने कुरामा विश्वास राख्ने कर्मचारी श्यामलाललाई भन्छन् ‍- तपाईँ प्रमाण बिना जिवित हुन पाउनुहुन्न।

उनीहरूको अगाडि हरेक मान्छे कमजोर ठहरिन्छन्। नाटकमा त्यो कमजोरी श्यामलालको काटिएको औंलामार्फत् संकेत गरिएको छ। श्यामलाल जिवित साबित हुन्छन्, अनेक झमेला र निराशाबिच २ लाखभन्दा बढी रकम घुस खुवाएपछि।

अन्तत: नाटकका कर्मचारीपात्रले कागजमा भन्दा बढी शक्ति देख्छन् पैसामा। नेपाली कर्मचारी प्रशासनको ठूलो हिस्सा यस्तै पैसामा संकुचित हुँदै गएको अनुभूति गराउँछ नाटकले।

नाटकमा एउटा घटनासँग अर्को घटना जोड्न गीत/संगीतलाई 'ट्रान्जिट' बनाइएको छ। भ्यू टावर बनाउने र जिउँदो हुनुको प्रमाण माग्नेहरूको कथा जोड्न शिव ताण्डव स्तोत्र गाइन्छ। शिवको शक्ति बखान गर्ने यस स्तोत्र नाटकमा कसको शक्तिका रुपमा प्रयोग गरियो होला? स्वार्थको शक्ति कि निर्दोषता?

श्यामलाल जिवित साबित भएपछि चर्चित गीत 'ब्लोइङ इन द विन्ड' गाउँदै सोधिन्छ – तिम्रो लागि मान्छे कहलिन उसले अझै कति बाटो हिँड्नु पर्छ?

गीत, संगीतलाई पात्रहरूको संवाद र दर्शकको संवेदनाबिचको पुल बनाइएको छ।

+++

देहव्यापारी र बुद्धिजीवी बिच भिन्नता के?

देह व्यापारीले शरीर बेच्छ। बुद्धिजीवीले अक्कल। नाटकमा एक पात्र भन्छिन् – देह व्यापारी र बुद्धिजीवीको तुलना गरेर देह व्यापारीको अवमूल्यन नगर्नुस्।

चेतना बेच्नुलाई निकृष्ट संकेत गरिएको छ। कथित बुद्धिजीवीहरूलाई व्यङ्ग्य हो नाटक। समाजको बिचमा उभिने वर्गका रुपमा चित्रित छन् उनीहरू जो प्राय गम्भीर मुद्रामा भेटिन्छन्। लाग्छ, उनीहरूलाई समाजमा घट्ने अनेक घटनाको पर्वाह छैन। विशेष परिस्थितिमा भने उनीहरू चर्को आवाज निकाल्छन् र त्यही समाजलाई हल्लाउने ल्याकत राख्छन्।

कथित बुद्धिजीवी पैसामा बिक्छन् या त पद, गाडी, तलब र भत्तासँग साटिन्छन्। देखिन्छन् एउटा हुन्छन् अर्कै। उनीहरूको आवरण भलाद्मी देखिन्छ र गुँदी जंगली हुन्छ – नाटकको पोस्टरले नाटकमा प्रस्तुत यही पाटोको चित्रण गरेको छ।

राजनीतिज्ञहरू कहाँ फरक हुनु?

उनीहरू पुस्तकालयलाई अनुत्पादक घोषणा गर्छन्। र, पुस्तक पढ्नेलाई शत्रु मान्छन्। उनीहरूलाई लाग्छ पुस्तक पढ्ने वातावरण बनाउनु भनेको विरोधी जन्माउनु हो। किनकि प्रश्नसँग डराउँछन् नेपालका नेता।

'हामीले नै बुर्जुवा शिक्षाको विरोध गर्‍यौं। पुस्तक च्यात्यौं। पुस्तकालय जलायौं। अब हामीले नै पुस्तकालय बनायौं भने हामीजस्तो सिद्धान्तहीन को हुन्छ?', एक नेता पात्र प्रश्न गर्छन्। विद्यार्थीलाई राजनीतिमा लगाएर ढुङ्गा हान्न लगाउने प्रवृत्तिदेखि पुस्तकमा कर थोपर्नेहरूको अनुहार झल्झल्ती गराउँछ ती प्रश्नले।

'अर्को अर्थ नलागोस्…'ले हँसाइ हँसाइ तीतो यथार्थ याद दिलाउँछ – सरकारमा भएकाहरूलाई विवेकशील र अनुशासित नभइ बलिया मान्छे खोज्छ। सत्ताको भजन गाउन।

घुम्नेहरू ती हुन् जो सरकारले दिने हरेक सुविधाको सबैभन्दा नजिक हुन्छन्। उनीहरू परेको खण्डमा सबैभन्दा शक्तिशाली प्रस्तुत हुन पनि सक्छन् र सबैभन्दा निरीह देखिन पनि।

गरिबी निवारणका लागि गरिब पहिचान अभियान सुरु हुन्छ। गरिबका लागि छुट्याइएको बजेट आफ्नो कुम्लोमा पार्न पदमा रहेकाहरू नै लागि पर्छन्। झुक्याएर होस् या धम्क्याएर। यथार्थमा अवस्था कहाँ फरक छ र? सुकुम्बासी टोलमा मासिक छाप्रोको भाडा उठाउन गाडी चडेर पुग्नेहरू याद आउँछन्। नेपाल सरकारको गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण अलपत्र छ।

सरकारले २०६९ मै गरिब पहिचानको जिम्मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय (तत्कालीन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय) लाई दिइए पनि यकिन तथ्यांक आउन सकेन। नाटकले बताइदिन्छ कसरी भइरहेको छ अध्ययन। कस्ता मानिस समेटिएका छन् हालसम्म 'रेकर्डेड' गरिबको सूचीमा।

+++

केकेको कालोसँग डराउँछ सरकार?

डराउँछ र त, प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा कालो रंगको मास्क, टोपी, पञ्जा लगायतका सामाग्री निषेध गरियो।

सरकारलाई नअत्याउने त कालोबजारले मात्र हो।

बजार कालो, मुख कालो, आँखा छोप कालोले

चकमन्न, अन्नधुन्न विषैविषको जालोले

कोरोना भाइरस महामारी र भाइरस नियन्त्रणका लागि जारी लकडाउनले व्यापार, व्यवसायमा प्रत्यक्ष असर गर्‍यो। भूकम्प, लकडाउनपछि जस्तै फस्टायो कालोबजारी। नाटकमा प्रयोग गीतले संकेत गर्छ। अगाडि भन्छ :

बेसार पानी खाउ, स्यानिटाइजर लाउ

ह्युम्यानिटी मरिसक्यो, इम्युनिटी जोगाउ

भाइरसका कारण स्वास्थ्यप्रति सचेत बनेको समाज र महामारीलाई पनि मौकाको रुपमा प्रयोग गर्ने पात्रहरू छन्। यथार्थमा छ त्यो विरोधाभाष। कोरोना कालपछि फेरिएको नेपाली परिवेशलाई हाँस्यास्पद् ढङ्गमा देखाइएको छ। रोगका कारण भोक र शोक सहेकाहरूका लागि दिक्दारी र डरबाट उम्कने गज्जव माध्यम बन्न सक्छ यो नाटक।

यसरी विभिन्न घटनामार्फत् समसामयिक अवस्थामाथि प्रकाश पार्छ नाटकले। चाहे त्यो राजनीतिको खेल होस् या त्यसले मानिसमा जगाएको आक्रोश र दिक्दारी। कर्मचारीतन्त्रको ढिलासुस्ती, लोभ र स्वार्थले निम्त्याएको नैराश्यतालाई पनि देखाइएको छ। र, कोरोना भाइरस महामारीको त्राससँगै यसले हरेकको जीवनमा पारेको प्रभाव, ल्याएको परिवर्तनहरू मञ्चन भइरहेको छ।

कलाको आवाज मीठो अनि तीब्र हुन्छ। त्यसैले नाटकले समाज र यसका अनेक आयाममा व्याप्त समस्याको उठान गरेको छ। जवाफदेही निकायलाई प्रश्न गरेको छ। जो जवाफ दिन चाहँदैनन् तर चर्को आवाज निकालिरहन्छन् उनीहरूलाई व्यङ्ग्य पनि।

नाटक 'अर्को अर्थ नलागेमा…' मानिसलाई सचेत गराउने एक कलात्मक अभियान हो। र, झापड हो ती आसेपासे विरुद्ध जसले महाराजहरूलाई जहाँ पनि योग्य देख्छन्। र, थमाइदिन्छन् कुचीदेखि बाँसुरीसम्म। महाराजहरूसँग सिप नभए पनि आत्मविश्वास पक्कै हुन्छन्। त्यसैले त लत्पताइदिन्छन् रङ। बाँसुरी फुकेर निकाल्छन् कर्कश आवाज र तर्सन्छन् आफैँ।

केहीअघि ठूला नेताहरूले बाँसुरी, मादल आदि समाएर रमाएको दृश्य सम्झाउँछ एउटा दृश्यले।

यी दृश्यहरूको साक्षात्कार गर्ने एक बालिका भने प्रश्न गर्छिन् – के तपाईँहरू मलाई यस्तै देश दिन चाहनुहुन्छ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell