महोत्तरी : भगवान राम र माता सीताले त्रेता युगमा रंग अबिर दलेर होली खेलेको सम्झनालाई मिथिला मध्यमा परिक्रमामा सहभागीहरुले ताजा गरेका छन्। परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनबन पुगेका परिक्रमामा सहभागीहरुले एक अर्कालाई रंग अबिर दलेर होली पर्व मनाएका छन्। कञ्चनबनमा परिक्रमामा सहभागीहरुले रंग अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ।
कञ्चनबनमा महिलादेखि पुरुष सबै होलीमा रमेका थिए। परिक्रमा डोला कञ्चन बनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविद्हरु बताउँछन्। त्यहाँको होली मिथिलाञ्चलका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, साँस्कृतिक, राजनीतिक क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागिता हुन्छ।
फागुन शुक्ल प्रतिपदाबाट शुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला बिहारीको डोलासँगै ध्रुवकुण्ड बाट कञ्चनबन पुग्ने गर्छ। यहाँ इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल समेत रहेको छ। इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ। यो स्थानमा भगवान राम र माता जानकीले होली पर्व मनाएका थिए। यहाँ परिक्रमामा सहभागीहरु रंग अबिरबाट होली खेल्ने गर्छन्।
कञ्चनबनको होलीको प्राचिनतालाई देखेर विगत केही वर्ष यतादेखि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले होली महोत्सव मनाउँदै आइरहेको छ। किशोरीजी डोलाका प्रमुख महन्थसमेत रहेका नवलकिशोर शरणका अनुसार जुन होली कञ्चनबनमा हुने गरेको छ, त्यस्तो मिथिलाञ्चलमा कहीँ कतै हुँदैन। एकातिर रंगअबिर, अर्को तर्फ होरैया गान, फेरी हजारौँको सहभागिता हुने यहाँको होली आनन्दमय हुन्छ। जनकपुरधामको हनुमान नगरबाट डोलासहित हिँडेको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड घुमेर कञ्चनबन पुगेको हो।