PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वडाले म्याद गुज्रेको लामखुट्टेको औषधि छर्किएपछि सिंगो गाउँमै देखियो स्वास्थ्य समस्या



सुमित मिश्र

वडाले म्याद गुज्रेको लामखुट्टेको औषधि छर्किएपछि सिंगो गाउँमै देखियो स्वास्थ्य समस्या

जनकपुरधाम : मौसम परिवर्तन भएपछि गर्मीको आगमनसँगै तराई मधेसका जिल्लाहरुमा लामखुट्टेको आतंक शुरु भएको छ। लामखुट्टे आतंकबाट बच्नका लागि प्रत्येक वर्ष यहाँका स्थानीय पालिकाहरुले लामखुट्टेको औषधि छर्किने गर्छन्।

तर महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ मा म्याद गुज्रिएको लामखुट्टेको औषधि छर्किएपछि सिंगो गाउँकै मानिसमा स्वास्थ्य समस्या देखिएको छ। जलेश्वर नगरपालिका वडा नम्बर ५ स्थित पर्सा, पतैली, चौरिया र बिसनपुर गाउँमा केही दिन अगाडिदेखि लामखुट्टेबाट बच्न वडा कार्यालयले लामखुट्टेको औषधि छर्किन लगाएको थियो।

औषधि छर्किएको केही घण्टा नबित्दै जलेश्वर नगरपालिका वडा नम्बर ५ का स्थानीय बालबालिका, युवा, बृद्ध देखि पशु चौपायामा समेत त्यसको समस्या देखिएको हो। त्यहाँका  बालबालिकाहरु रुनु, चिलाउनु, वान्ता लाग्नु, जिउ फुल्नु लगायतका समस्या देखिएको छ।

स्थानीय स्वास्थ्यकर्मी सरोज चौधरीले लामखुट्टेको औषधि छर्केपछि त्यहाँको मानिसलाई मात्र नभई पशु चौपायामा समेत त्यसको गलत प्रभाव परेको बताए।

‘गाउँका व्यक्तिहरु एकाएक सिट्रिच, सिटामोल, एन्टिबायोटिक लगायतका औषधि खोज्न थालेपछि मात्रै म्याद गुज्रिएको औषधि छर्किएपछि यस्तो समस्या उत्पन्न भएको थाहा पाएँ’, चौधरीले भने, ‘गाउँका मानिसहरुमा चिलाउने, जिउ फुल्ने लगायतका समस्या शुरु भएपछि खोज्दै जाँदा म्याद गुज्रिएको औषधि छर्किएको थाहा पाएका छौँ।’

लामखुट्टेको औषधि छर्किएको केही घण्टा नबित्दै गाउँमा त्रास फैलियो। कसैलाई चिलाउने, कसैलाई ज्वरो आउने, बालबालिकाहरु रुने लगायतका समस्या शुरु भएको र आफूमा पनि यस्तै समस्या देखिएको स्थानीय शत्रुध्न शर्माले बताए।

उनले भने, ‘वडा कार्यालयले लामखुट्टेको औषधि छर्किन लगायो, लामखुट्टेको आतंक त कम भएन तर हामी गाउँवासीमा विभिन्न खाले समस्याहरु देखिन थाल्यो।’

यता जलेश्वर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राकेश राउत म्याद गुज्रिएको औषधि छर्किएको आरोप निराधार रहेको दावी गर्छन्। उनले म्याद गुज्रिएको औषधि छर्किनुका कारण यो समस्या देखिएको नभई आवश्यक मात्राभन्दा बढी औषधि प्रयोग गरिएकोले यस्तो समस्या सिर्जना भएको हुनसक्ने बताए।

वडाध्यक्ष राउतले भने, ‘८ लिटर पानीमा एउटा प्याकेट मिलाउनु पर्नेमा त्यसभन्दा बढी प्याकेट मिसाइएकाले यो समस्या आएको हुन सक्छ, यद्यपि मलाई यस विषयमा अझैसम्म जानकारी आउन सकेको छैन।’

वडाध्यक्ष राउतका अनुसार लामखुट्टेको औषधि ६ महिना अगाडि वडा कार्यालयमा ल्याइएको थियो र औषधिको म्याद गुज्रिन २ महिना बाँकी नै थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell