
जनकपुरधाम : महोत्तरीका झा दम्पती बेपत्ता प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले एकै परिवारका तीन जनासहित चार जनालाई आज सार्वजनिक गरेको छ। जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाबाट झा दम्पती बेपत्ता भएको ४ सातापछि ४ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजनिक गरेको हो।
प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको अभियोगमा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र भारतको बिहार प्रान्त मधुवनी, थाना मधुवापुर, ग्रामपंचायत तरैया वडा नम्बर २ अनदौली घर भई हाल महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ बनौली चौक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता भएका दम्पतीको अवस्था सार्वजनिक गर्न नसकेपछि सीआइबीले अनुसन्धान थालेको २ दिन नबित्दै चारै जनालाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरी सार्वजनिक गरिएको हो। यद्यपि दम्पतीको अवस्था वा उनीहरु जीवित रहे नरहेको विषयमा अहिलेसम्म केही स्पष्ट हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।
गत फागुन १० गते राति घरमा सुतिरहेकै अवस्थामा ओछ्यानसहित सरकारी जागिरबाट अवकास प्राप्त ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा बेपत्ता भएका थिए।
प्रहरीले बेपत्ता भएका दम्पतीको खोज तलास गर्न हालसम्म डग स्निफिङ, शुक्ष्म निगरानी, वरपरको घरहरूको तलासी, ५४ वटा साना ठूला पोखरी तथा पानी जमेको खाल्डाहरू, सम्भावित स्थानहरू, नदी, बगैँचा, नहर र पुल समेतमा खोज तलास र ठूला पोखरीहरूमा दुई वटा डुंगा समेतको प्रयोग गरी खोज तलास गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रहरीले भारतीय सीमामा रहेका प्रहरी युनिटहरूसँग समन्वय समेत गरेको छ।
उक्त घटनामा हालसम्म जिल्ला प्रहरी कार्यालय महोत्तरी, २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा जनकपुरबाट विभिन्न टोली खटिएर अनुसन्धान गरेका छन्। र हाल नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले थप अनुसन्धान गरिरहेको छ।
प्रहरीले यस सम्बन्धमा कोही कसैलाई कुनै जानकारी वा सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको मोबाइल नम्बर ९८५४०३२४५५ मा जानकारी गराउन समेत अनुरोध गरेको छ।
प्रहरीको अनुसन्धानमा देखिएको घटनाको कारण
पक्राउ परेका भारतीय नागरिक हरेन्द्र ठाकुरले महोत्तरीको सहोडवा गाविस वडा नम्बर ६ स्थितको अं. १३ बिगाहा जग्गामा प्लटिङ गरेको, सो प्लटिङको उत्तर तर्फ हाल बेपता पारिएको मुसाफिर झाको १४ कट्ठा जग्गा रहेको, सो जग्गा भन्दा उत्तर तर्फ निज हरेन्द्र ठाकुरको हाल बाटो नभएको २ बिगा जग्गा रहेको, सो जग्गामा जान निज मुसाफिर झाको जग्गा हुँदै बाटो लैजान मुसाफिर झा को १४ कट्ठा जग्गा बिक्री गर्न भनी पटक-पटक दबाब दिएको पत्ता लागेको छ।
पटक-पटक सोही सम्बन्धमा हरेन्द्र ठाकुरले आफ्नो प्लटिङमा मुसाफिर झालाई बोलाउने गरेको पनि खुलेको छ। निजको जग्गामा बाटो नभएको कारण उक्त जग्गा खेतको भाउमा बिक्री हुने तर सोही जग्गा बाटो जोडी प्लटिङ गर्दा घडेरीको रूपमा उच्च मुल्यमा बिक्री हुने देखिएको छ।
पक्राउ परेका रामबाबु यादवको माध्यमबाट हरेन्द्रले प्लटिङको जग्गा खरिद गरेको र सो कारोबारमा हरेन्द्र र रामबाबु साझेदार रहेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ। सोही जग्गा बिक्री गर्न भनी रामबाबुले पनि पटकपटक मुसाफिर झा तथा उनकी श्रीमती गीता देवी झालाई दबाब दिएको देखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारैजना कसरी भए अभियुक्त?
१. रामबाबु यादवको घरको पश्चिमतर्फको ढोकाको दक्षिण भित्ता र घरको कोठा भित्र विभिन्न स्थानहरूमा रगत जस्तो रातो पदार्थ फेला परेको।
२. उक्त पदार्थ परीक्षण गर्दा मानव रगत नै हो भनी परीक्षण प्रतिवेदन प्राप्त भएको।
३. पक्राउ परेका चारै जना आशंकित व्यक्तिहरूको पोलिग्राफ गरिएको, पोलिग्राफ गर्दा निजहरू झुटो बोलेको प्रतिवेदन प्राप्त भएको।
४. हरेन्द्र ठाकुरको २०७७ फागुन १० गते प्लटिङ गरिएको जग्गामा उपस्थिति रहेको र घटना भएको राति पटकपटक अस्वभाविक रूपमा कुराकानी भएको, गतिविधि शंकास्पद रहेको प्राविधिक अनुसन्धानमा देखिएको।
५. मुसाफिर झाको हाल बन्दै गरेको पक्की घर रामबाबु यादवले नै बनाएको हुँदा उक्त घरको सम्बन्धमा सम्पूर्ण वस्तुस्थितिको बारेमा राम्रो जानकारी रहेको।
प्रहरीले घटना स्थलमा भेटेका सवुद प्रमाणहरु
मुसाफिर झा र निजकी श्रीमती गीता देवी झा समेत सुत्ने छुट्टाछुट्टै घर कोठा भित्रबाट रगत जस्तो रातो पदार्थ।
गीता देवी झा सुत्ने घर कोठा भित्रबाट मुसाफिर झाले प्रयोग गर्ने सिम सहितको मोबाइल १ थान।
मुसाफिर झाको कोठा भित्र र कोठा बाहिरबाट झाले प्रयोग गर्ने रिलेक्सो कम्पनीको १ जोर चप्पल।