PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मानव बेचबिखनको स्वरुप फेरियो : चरिमाया तामाङ, ‘शिक्षा, रोजगारी र विवाहको प्रलोभन फकाउने माध्यम’



मानव बेचबिखनको स्वरुप फेरियो : चरिमाया तामाङ, ‘शिक्षा, रोजगारी र विवाहको प्रलोभन फकाउने माध्यम’

काठमाडौं: शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले मानव बेचबिखनको स्वरुप फेरिएको बताएकी छन्।

आधुनिक दासता विरुद्धको सवालमा सञ्चारकर्मीसँग कार्यशाला गोष्ठीमा बोल्दै तामाङले शिक्षा, रोजगारी र विवाहको प्रलोभनमा बेचबिखन बढेको उल्लेख गरेकी हुन्। पहिले अशिक्षित महिला तथा बालबालिका बेचिने गरेकोमा अहिले शिक्षित नै परेको बताइन्। आधुनिक दासताको जड गरिबी भन्दै उनले दासता उन्मुलन र गरिबी उन्मुलनलाई सँगसँगै लानुपर्ने बताइन्।

मानव बेचबिखन आधुनिक दासताको एउटा पाटो भएको बताउँदै तामाङले सामुदायिक परिचालन समुदायले नै गर्नेपर्ने र गरिबीविरुद्ध पनि लड्नुपर्नेमा जोड दिइन्।

समयअनुसार दिदीबहिनीहरुले अपराधीलाई सजायँ गराउन सफल भएको र यो सकारात्मक पाटो भएको समेत उनको भनाइ छ। यो संवेदनशील पाटोमा सञ्चारको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले शक्ति समूहले अपराधीलाई छोड्दैन र पीडितलाई सशक्तिकरण गर्छ भनेर सञ्चारले नै स्थापित गरेको उल्लेख गरिन्।

अहिले समस्या थप जटिल बन्दै गइरहेको भन्दै उनले सामाजिक न्याय र कानुनी प्रक्रिया कसरी जाने भनेर छलफल चलाउनुपर्ने आवश्यकता औल्याइन्। उनले प्रमाण र तथ्यांक उपलब्धताका लागि आफूहरु प्रयासरत रहेको बताउँदै सञ्चारमाध्यमले पीडितको गोपनियतालाई ख्याल गरिदिनुपर्ने बताइन्।

संस्थाका कानुन संयोजक दिलीप कोइरालाले मानव बेचबिखनविरुद्ध संघीयदेखि स्थानीय सरकारसम्म दबाब दिनुपर्ने आवश्यकता औल्याए। उनले यसमा सञ्चारको भूमिका महत्वपूर्ण हुने बताए। प्रहरीले सक्रियताका साथ बेचबिखनका घटनालाई लिनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा उपस्थित सञ्चारकर्मीले बेचबिखनका घटना बाहिर ल्याउन तथ्य र तथ्यांक आवश्यक पर्ने भन्दै यसमा जोड दिन शक्ति समूहलाई सुझाव दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell