PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओलीको विकल्पमा गठबन्धन तयार गर्न जसपाका राजेन्द्र महतो बाधक : मातृका यादव



सुमित मिश्र

ओलीको विकल्पमा गठबन्धन तयार गर्न जसपाका राजेन्द्र महतो बाधक : मातृका यादव
फाइल फोटो।

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री मातृका प्रसाद यादवले माओवादीले कुनै विकल्प तयार पारेर मात्र केपी शर्मा ओली सरकारको समर्थन फिर्ता लिने बताएका छन्।

जनकपुरमा सोमवार नेकपा माओवादी केन्द्र धनुषाले आयोजना गरेको जनयुद्धका शहीद अजवलाल यादवको १९ औँ श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री ओलीको विकल्पमा गठबन्धन तयार हुने बताए।

‘सम्भावना छ, ओलीको विकल्पको गठबन्धन तयार हुन्छ। विकल्प तयार भए लगत्तै  माओवादीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिन्छ’, नेता यादवले भने, ‘तर, गठबन्धनको सबभन्दा ठूलो बाधक जसपाकै एकगुट राजेन्द्र महतो भएका छन्।’

जसपालाई प्रतिगमनको विरुद्धमा मोर्चा बनाउन तल्लोस्तरबाट दबाब सृजना गर्ने वातावरण बनाउनु पर्नेमा यादवको जोड छ। राजेन्द्र महतोलाई एक बैठकमा प्रधानमन्त्री ओलीले आफूले जिताइदिएको र फेरि पनि जित्नु छ भने सँगै जाउँ भनेकाले उनी ओलीसँग जान चाहेको नेता यादवले खुलासा गरे।

अर्को प्रसंगमा नेता यादवले सर्वोच्च अदालतले सेटिङ्गमै फैसला गरेर पूर्व नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएको आरोप लगाए।

‘सर्वोच्च अदालतले जनदबाबकै कारण प्रतिनिधिसभा पुनर्स्थापना गर्न बाध्य भयो। राम्रो संदेश पनि गर्‍यो। तर, पार्टी  सम्बन्धी विवादमा सेटिङ्गमै पार्टीलाई पुरानै अवस्थामा फर्काउने फैसला गयो,’ नेता यादवले भने।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामचन्द्र झाले पहिलेदेखि नै ओलीको चरित्र ठीक नभएको आरोप लगाए। ओलीलाई कहिल्यै पार्टीको चिन्ता नभएपनि माधव नेपाल, झलनाथ खनालले प्राथमिकता दिएकै कारण कम्युनिस्टलाई यस्तो दुरावस्था भोग्नु परेको नेता झाको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell