PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रधानमन्त्री यो संसदसँग बदला लिन चाहन्छन्, गरिमा बचाउन डटेर लड्छौं : गगन थापा



प्रधानमन्त्री यो संसदसँग बदला लिन चाहन्छन्, गरिमा बचाउन डटेर लड्छौं : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदको गरिमा बचाउन डटेर लड्ने बताएका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्रीले संसदलाई असफल पार्न कामविहीन बनाउन खोजे पनि आफूहरु काम गर्न तयार रहेको बताए।

‘कहिले प्रश्न छल्न हठात बैठक स्थगित। कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग। अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च। यो विधेयक अधिवेशन हामी काम गर्न तयार छौं,’ थापाले भने।

एसिड आक्रामण विरुद्धको कानुन बनाउन दिएन भनेर प्रधानमन्त्रीले हल्ला गरेको तर संसदलाई एउटा विधेयक पनि नदिएको, विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रियसभा बैठक पनि नबोलाएको आरोप उनले लगाए।

‘हामी स्पष्ट छौं जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ। किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ,’ उनले भने, ‘संसदको गरिमा कायम राख्नका लागि हामी हाम्रो ठाउँबाट डटेर लड्नेछौं। बाँकी जिम्मा जनताको। यथोचित समयमा जनताले यसको हिसाबकिताब गर्नेछन्।’

थापाले सांसद र संसदको अपमान लोगो लगाउने केही थान सांसदको अपमान, तिरस्कार, उपेक्षा मात्र नभई जनताकै अपमान भएको बताए। ‘यो तिनीहरुको अपमान हो जसले संसद बनाएको छ। हामीलाई सांसद बनाएको छ,’ उनले भने, ‘आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन्। यो संसदभित्र बसेर यसको गरिमा जोगाउन हामी आफ्नो ठाउँबाट डटेर लड्नेछौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell