
जनकपुरधाम : प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा राजेश झा (अहिराज)ले खेतखेतमा पुगेर किसानलाई सम्मान गर्ने अभियान थालेका छन्।
केही दिनअघि प्रदेश २ सरकारले पदक वितरण सम्बन्धी ऐनमा प्रदेश २ को मुख्य पेसा कृषि रहेको उल्लेख गरेतापनि किसानलाई सम्मान गर्ने कुरा समावेश नगरेको भन्दै प्रदेश प्रमुख झा किसानलाई पनि पदक दिने सूचिमा राख्न सुझाव दिएका थिए। सोही कारण प्रदेश प्रमुख झाले उक्त विधेयक प्रमाणिकरण नगरी फिर्ता गरेका थिए।
त्यस यता उनले स्वयं खेतखेतमा पुगेर किसानलाई सम्मान गर्ने अभियान शुरु गरेका हुन्। किसानको कर्मको उच्च सम्मान गर्दै खेतमा नै पुगेर सम्मान गर्न थालेको उनले बताए।
यसै क्रममा उनले सिरहाको गोलबजार नगरपालिका वडा नम्बर २ को गुरुधाम गाउँमा व्यावसायिक रुपमा तरकारी खेती कार्यमा संलग्न रहेका एक दर्जन भन्दा बढी किसानलाई गम्छा तथा खादा ओढाएर सम्मान गरेका हुन्। गुरुधाम गाउँका करिब दुई सय घरका किसानले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन्।
करिब २० वर्षदेखि सो वडामा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएको र उत्पादित तरकारीलाई पहाडी जिल्लाका साथै सिरहा, सप्तरी, उदयपुर तथा भारतको जयनगरसम्म किसानहरूले बिक्री गर्दै आएका छन्। उक्त गाउँमा करिब ४ सय बिघा क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती हुने गरेको स्थानीय अर्जुन थपलियाले जानकारी दिए। उक्त ठाउँमा प्रदेश प्रमुख पुग्दा किसानहरूले आफूहरूलाई सिँचाइको आवश्यकता भएको र राम्रो सिँचाइको व्यवस्था गरिदिन प्रदेश प्रमुखसँग आग्रह समेत गरेका छन्।
प्रदेश २ कृषि उत्पादनको दृष्टिकोणले देशमै अग्रणी रहेकाले प्रदेश प्रमुख झा खेतमै पुगेर कृषि कर्मलाई प्रोत्साहन गर्दै किसानको हौसला बढाउने काम गरिरहेका छन्।