खानेकुराको अनेक प्रकार हुँदा रहेछन्। कतिको त नामधरी पहिलो पटक सुने उनले। कुनैकुनै त उच्चारण गर्न समेत अप्ठ्यारो हुने। त्यसैले, होटलमा अर्डर दिनुअघि कागजमा लेख्छन्, नेपालीमा - आफूले बुझ्नेगरी, बोल्न सक्नेगरी। त्यसपछि छेउमा बिसाएको ठूलो झोला काँधमा भिर्छन् र हुइँकिन्छन्।
होटलका स्टाफले अर्डरअनुरुप खानेकुराको बट्टा तयार गरिदिन्छन्। त्यसलाई मगाउने मानिसको ढोकासम्मै पुर्याउनु उनको काम।
अँ ! यो कथा डेलिभरी ब्वायकै हो।
यति भनिसक्दा ती डेलिभरी ब्वायहरू सम्झनु भयो होला – काँधमा अनलाइन खाना डेलिभरी गर्ने एप्लिकेसन वा साइटको लोगो भएको झोला। प्राय मोटरसाइकलमा सरर गुड्छन् उनीहरू। यस्तो कामका लागि महत्वपूर्ण मापदण्ड नै हो – मोटरसाइकल हुनुपर्ने।
तर, सुरज त काठमाडौंको सडकमा प्याडलसँग संघर्ष गरिरहेको भेटिन्छन्।
पोशाक उस्तै। बोक्नु पर्ने झोलाको आकार उही। यताबाट उता गरिरहनु पर्ने सडक र गल्लीहरू पनि कहाँ फरक हुनु? कतै खाल्डाखुल्डी त कतै घण्टौं जाम। सहनुपर्ने धुँवा र धुलो उस्तै। सबैभन्दा महत्वपूर्ण – गर्नुपर्ने काम एकै। सुरज र उनका सहकर्मीबिच केही फरक छ भने त्यो हो रफ्तार। आखिर मोटरसाइकल र साइकलको हुइँकाइमा फरक पर्छ नै।
हेर्दा बट्टाजस्तो देखिने, बोक्नेको शरीरभन्दा ठूलो झोला बोकेर साइकलको पाइदान चलाइरहेका सुरजलाई मानिसहरू फर्कीफर्की हेर्दा रहेछन्। कहिले काहीँ ट्राफिक जाममा पर्दा उनीसँगै 'ग्रीन सिग्नल' पर्खनेहरू सोध्छन् – गाह्रो हुँदैन?
उनी अक्मकाउँदै भन्छन् – अँह !
गाह्रो त किन नहुनु?
दिनभर काठमाडौंको एउटा कुनाबाट अर्कोतिर पुग्दा शरीर पूरै गल्छ। पसिनाले भिजेको शरीर लिएर कोठामा पुग्दा, भाइले पकाएर ठीक्क पारेर खाना खाँदा कम्ता आराम मिल्दैन उनलाई। त्यतिखेर आफूले दिनभरी ओसारपसार गरेको खानाको बास्ना निक्कै याद आउँछ उनलाई।
'हामी त गाउँमा मकै, भट्मास खाएर हुर्किएको। तर, म:म, चाउमिनबाहेक अनेक खानेकुरा हुँदा रै'छन्। कहिले काहीँ त आफैलाई खाउँखाउँ हुन्छ,' सुरजले भने, 'एकदिन निकै थाकेँ। काम गरेर थाक्दा त आनन्द आउँदो रहेछ। अब त कमाउने भएँ भन्ने लाग्दो रै'छ। त्यस साँझ पिज्जा मगाएर खाएँ।'
साइकलमा खाना बोकेर कुद्दा धेरै खालका अनुभूति संगालेका छन् उनले। सबै अनुभव सुखद् भने रहेनन्।
डेलिभरी ब्वायका रुपमा पहिलो दिन – म:मको फरक परिकारहरू मगाए एक ग्राहकले। खानेकुरा पुर्याउनु पर्ने बानेश्वरबाट सिनामंगल। खाजा लिएर त निस्किए तर जाने कहाँ?
उनले काठमाडौंका गल्ली चिनिसकेका थिएनन्। फेरि पहिलो दिन, एप्लिकेसन चलाउनै अलमल भयो। काँधमा भारी अनि हातमा मोबाइल। साइकललाई घरी डोहोर्याउने, घरी गुडाउने गर्दागर्दै २ घण्टा बित्यो। दिउँसोको दुई बजेको अर्डर साँझको पाँच बजे लिएर पुग्दा सुरजलाई नै अप्ठ्यारो लागेको थियो।
'खाजा खान मगाएको कुरा, खाना खाने बेला ल्याइदिएर हुन्छ?'
ढोकामा पुग्दा प्रत्यासित आक्रोश सहनु पर्यो। उनी आत्तिए। क्यान्सिल भएको खाना लिएर कसरी फर्कनु अफिस? उनले धेरैबेर सोचे। केहीबेर बानेश्वर वरपरै यताउता गरे। विकल्प के त? उनी खाजाको डब्बासँगै आँट बोकेर छिरे 'पठाओ फूड'को कार्यालय।
त्यहाँ उनलाई ढिला हुनुको कारण सोधियो। उनले आफूले बाटो पत्ता लगाउन नसकेको सुनाए।
'ठूलै सजाय पाउँछु होला भनेर डराएको थिएँ। त्यस्तो भएन। मन चाहिँ बेलुकीसम्मै खिन्न भइरह्यो। शरीरको थकान अनि मानसिक तनाव। काम नै छाडौं कि भन्ने पनि सोचेको थिएँ,' उनी केही सतर्क हुँदै बोले, ’सोचेको मात्रै। कहाँ छाड्नु?’
पोहोर नै प्लस टु सकेका हुन् २१ वर्षीय सुरज भट्टले। कक्षा १२ पढ्दापढ्दै महसुस गरेका थिए – मेरो रुची त व्यवस्थापन विषयमा होइन रहेछ। उनीभित्र वेबसाइट डेभलपिङको हुटहुटी जागेको थियो। तर, पढाई बिचमै छाडेर नयाँ विषय सुरु गर्न सकेनन्। कारण – बा आमाको मेहनतको कमाइ त्यही पढाईका लागि खर्च भएको थियो। समय पनि त लगानी गरेका थिए। त्यसैले आफ्नो रहर र योजनाहरू थाँती राखे। काम खोज्न थाले। सोचेका थिए – अब घरमा दु:ख दिन्न। आफै कमाउँछु। स्नातक तह भर्ना हुनुभन्दा वेब सम्बन्धी तालिम लिन्छु।
खोज्नासाथ जागिर कहाँ पाउनु?
यता उता बुझ्दाबुझ्दै लकडाउन भयो। महिनौं त गाउँ, नुवाकोटको चारघरेमै बित्यो उनको। दसैं तिहार सकेर काठमाडौं फर्किए। व्यापार, व्यवसाय, बजार सबैतिर अवस्था नाजुक। अब त काम पाउनु झनै कष्टकर बनेको पत्तो पाइहाले। त्यसैले दिनभर कोठामै बित्थ्यो उनको। फेसबुक र युट्युबमा घण्टौं घोत्लिँदा सुरुसुरुमा त रमाइलै महसुस गरे। तर, बिस्तारै दिनहरू पट्यारलाग्दो बन्दै गए।
एक दिउँसो, फेसबुक स्क्रोल गर्दागर्दै पठाओ फूडको विज्ञापन देखे। त्यहाँ खानेकुरा डेलिभरी ब्वायको खोजी भएको रहेछ। सुरज त केही नसोची हान्निए पठाओको कार्यालय।
‘लकडाउन भर गाउँमा बस्दा आमाबुबाले गर्नु भएको मिहेनत देखेँ। त्यसैले फर्किएपछि पनि घरबाटै खर्च मगाउने हिम्मत नै आएन। खर्च जुटाउन पनि काम त गर्नै पर्ने थियो,’ उनी केही गम्भीर सुनिए।
कार्यालयमा उनलाई कामबारे बुझाइयो। उनलाई दुईवटा कुरा चित्त बुझ्यो। पहिलो कमाइ र दोस्रो समय। आफूले चाहेको वेब डिजाइनिङ कोर्सका लागि पुग्ने रकम जोहो हुने रहेछ, कामबाट। त्यसैले गएकै दिन काम गर्ने स्वीकारोक्ति दिइहाले।
काममा हिँडेको पहिलो दिन केही अप्ठ्याराहरू भोग्नु पर्यो उनले। सक्छु कि सक्दिँन होला? भन्ने अन्यौलता थियो। मानिससँग कसरी ‘डिल’ गर्ने? डराएका थिए। ती डर र अन्यौलता कम हुँदै गए पनि ज्यान फतक्कै गल्थ्यो। एउटा ठाउँ भनेर अर्कोमा पुग्थे। एप्लिकेसनको भाषा बुझ्न उस्तै गाह्रो। तर, केही दिनमा शरीरलाई साइकल र ब्यागको बानी पर्दै गयो। सडक र गल्लीहरू चिन्नेक्रम बढ्यो। एप चलाउन कार्यालयले दिएको तालिमलाई निखार्यो नियमित प्रयोगले।
‘अब त केही गाह्रो छैन। कसैले सोध्छन्, साइकलमा खानेकुरा बोकेर हिँड्दा कस्तो लाग्छ? मलाई त रमाइलो लागेको छ। पैसाभन्दा ठूलो अनुभव र मान्छे कमाइरहेको छु’, यति सुनाउँदा उनी खुशी देखिए।
अहिले उनको दैनिकी फेरिएको छ। बिहान छिटै उठ्न थालेका छन्। बिहान भाइ पढ्न जान्छन्, सुरज पकाउँछन्। बेलुकी भाइले पालो दिन्छन्। खाना खाएर काम सक्ने, केहीबेर इन्टरनेट चहार्ने। दिउँसो ठीक १२ बजेदेखि चाहिँ अर्डर लिनका लागि अनलाइन बस्ने। अनि बेलुकी ९ बजेसम्म उही काम - खानाको नाम टिप्ने, होटलमा अर्डर दिने, सेवाग्राहीसम्म पुर्याउने म्याप पच्छ्याउने। यस्तै बनेको छ उनको दैनिकी। एकदिनमा ८ वटा सम्म अर्डर लिएका छन् उनले।
मासिक १५ हजार तलब। दैनिक चारवटा भन्दा जति धेरैवटा अर्डर पूरा गरिन्छ प्रत्येकमा सय रुपैयाँ बोनस। आफ्नो मासिक कमाइ करिब ३० हजार हुने बताउँछन् उनी। काठमाडौंको जाम, खाल्डाखुल्डी, अनियन्त्रित सवारी साधन र धुलोले चाहिँ आजित बनाएको रहेछ उनलाई। ‘जाम र बाटोले गर्दा गुनासो गर्न मनलाग्छ,’ केहीबेर रोकिएर बोले, ’कहिले काहीँ चाहिँ लाग्छ, काठमाडौं कत्रो छ र? कहाँ नै पुग्नु पर्ला र?’
छोराले जागिर खाएको खबर सुन्दा दङ्ग परे सुरजका आमाबा। सोधे – काम चाहिँ के हो?
‘खाना पुर्याउने।’
आमाले भनिन् – हेर, कहिले काहीँ भात भान्सा गरेको भए सजिलो हुने रै’छ नि अहिले।
आमाको कुरो सुनेर हाँसे सुरज। बुझाउने चेष्टा गरेनन्। किनकि खाना डेलिभरीकै क्रममा फरक मानिसहरूसँगको भेटमा उनले बुझे – सबैकुरा बुझ्न समय लाग्छ।
केही अघि उनलाई नेपालटारबाट अर्डर आयो। टाढा भए पनि काम नकारेनन्। खाना लिएर पुगे। एउटा भटौराको ६० रुपैयाँ। डेलिभरी चार्ज एक सय। जुन रकम तिर्न तयार भएनन्, ती ग्राहक। पटक पटक सोधे – कसरी यति महङ्गो?
‘२४/२५ वर्षको जस्तो देखिने ती ग्राहकले अनलाइन खाना डेलिभरीबारे बुझेकै रहेनछन्। मेरी आमाले झन् कसरी बुझ्नु?,’ उनले सुनाए।
यस्ता घटनाहरूले उनलाई समाजको नजिक बनाएको, मानिसहरूसँग घुलमिल हुन सघाएको सुनाए सुरजले।
‘फरक मान्छेसँग भेट हुन्छ। सबैको स्वभाव फरक। काम गर्न थालेपछि बल्ल सिकाइ सुरु भयो जस्तो लागेको छ। हरेक दिन नयाँ च्याप्टर,’ उनले भने, 'आजभोलि त नबोली सामान लिनेहरूसँग पनि हाँसेर बिदा माग्छु। के थाहा फेरि भेट हुन्छ कि हुँदैन।'