इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीलाई सरकार बनाउन बहुमत नपुग्ने देखिएको छ। उनको पार्टीले यो निर्वाचनमा १२० सिटमा करिब ५५ सिटसम्म ल्याउने अनुमान गरिएको छ। उनको पार्टीको गठबन्धले ६१ सिटको थ्रेसहोल्ड पूरा गर्न नसक्दा उनी अल्पमतमा पर्ने देखिएको हो।
नेतान्याहुलाई फेरि सत्तामा पुग्न अरु दलको साथ चाहिने हुन्छ। नेतान्याहुका विश्वासपात्र मानिएका नफताली बेनेटको राष्ट्रवादी यामिना पार्टीले सत्ता समिकरणमा निर्णयक भूमिका खेल्न सक्छ। बेनेटको दलले कम्तीमा ७ सिट जित्ने अनुमान गरिएको छ।
यता नेतान्याहुले भने निर्वाचनमा आफूले 'ठूलो जित' हासिल गरेको दाबी गरेका छन्। दुई वर्षमा भएको चौथो निर्वाचनमा समेत आफ्नो दल लिकुड पार्टी नै विजयी हुने उनले बताएक हुन्।
गत डिसेम्बरमा प्रधानमन्त्री नेतान्याहुले गठबन्धन सरकारमा मतभेद भएपछि संसद विघटन गरेका थिए। कोरोना संक्रमण नियन्त्रण गर्न असफल भएको भन्दै आलोचना खेपिरहेका नेतान्याहुको गठबन्धन सरकारले संसदमा बजेट पारित गराउन सकेको थिएन। यसबीच गठबन्धनमा रक्षा मन्त्री बेन्नी गान्ट्जसँग कुरा नमिलेपछि उनले संसद विघटनको घोषणा गरेका थिए।