नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको 'दोहोरी च्याम्पियन' का संचालक गायक बद्री पंगेनीले सुरुका केही एपिसोडमा कमजोरी भएको स्वीकारेका छन्। उनले दर्शकहरुले दिएको गालीलाई आर्शिवादको रुपमा लिइने समेत बताए।
कार्यक्रममा निर्णायकहरुले दिएका अधिव्यक्तिहरु विवादित बन्न पुगेका थिए। निर्णायक चन्द्र शर्माले प्रतियोगी कल्पना दाहाललाई गरेको कमेन्ट सामाजिक सञ्जालमा भाइरल र विवादित बन्यो।
चन्द्रले 'तपाईं त्यो हामीले पहिला–पहिला अरु कुनै टीभीतिर देखेको कल्पना बहिनी हो र ? तपाईं अरु–अरु दोहोरी एकदुईचोटी कता–कता भाइरल साइरल भा’को बहिनी हो ? भनि सोधेका थिए।
शर्मासहित निर्णायकहरु रमेश बि जी र प्रजापति पराजुलीले दिएका अभिव्यक्तिहरु समेत विवादित बनेका थिए। पराजुलीले दोहोरी प्रतियोगितीहरुको पहिरन र हेयर स्टाइलमा गरेको कमेन्टको सामाजिक संजालमा विरोध भएको थियो।
पंगेनीले भने निर्णायकहरुले दर्शकको गालीलाई आशिर्वादको रुपमा लिएको र गल्ती सुधार गर्ने समेत बताइसकेको बताए।
कार्यक्रममा चन्द्र ढकालले कल्पनालाई नचिनेको जसरी देखिएको भन्दै पंगेनीले दुवैबिच पहिलादेखि नै चिनजान भएको बताए।
'लामो छांयाकन गरेको कार्यक्रम सम्पादन गर्दा सबै कुरा अटाएनन्। त्यसैले दर्शकलाई अनौठो लागेको हो। त्यही हो चन्द्र जी ले धेरै राम्रो गर्छु भन्दा बिग्रिएको हो,' पंगेनीले भने।
कार्यक्रमका आगामी एपिसोडहरु दर्शकको सल्लाह बमोजिम सुधार गर्दै लैजाने बताउँछन् पंगेनी। दर्शकबाट आएका प्रतिक्रियालाई सम्बोधन गर्दै दोहोरी च्याम्पियनलाई राम्रो बनाउने कोसिस गर्ने समेत उनले बताए।