घडीको सुईसँगै दौडनुपर्ने दैनिकी। हरेक बिहान उस्तै हस्याङ्फस्याङ्। सधैं उस्तै हतारो। ठीक समयमा काममा नपुगे बिरानो ठाउँमा अडिने खर्च कहाँ पुग्नु? समय, पैसा र बफादारीको हिसाब हुने ठाउँमा 'बिस्तारै पुगौं, केही मिनेट ढिला भएर केही हुँदैन' भन्न नैतिकताले पनि दिन्थेन प्रभा बराललाई। त्यसैले अघिल्लो दिनको कामले लोथ बनाएको शरीरलाई जबरजस्तीा ओच्छ्यानबाट उठाएर कामसम्म पुर्याेउँथिन् उनी।
काममा पुगेपछि मान्छेले आफैलाई बिर्सने स्थिति बन्थ्यो। शरीर गम्लङ्ग ढाक्ने गाउन, टाउकोमा टोपी, हातमा पन्जा। अनि ध्यान पूरै तरकारीका टुक्राहरूमा। प्रभाको काम थियो – मेसिनले काटेको तरकारीलाई प्लास्टिकमा प्याक गर्ने। मेसिनकै रफ्तारमा चलाउनु पर्थ्यो हात। पाँच घण्टा उभिएर निरन्तर उही काम, उही गति। थाकेर फतक्कै गल्दा पनि बस्न नियमले दिँदैन थियो। आँखा छलेर सुस्ताउन, नैतिकताले।
हुन त नेपालमा पनि उभिएरै गर्ने काम थियो उनको। तर, हातमा चक्कु वा छुरी होइन मार्कर र कलम हुन्थ्यो। अध्यापक थिइन्। कक्षा अवधिभर उभिनु, आवाज साविकभन्दा केही ठूलो पारेर कराउनु बाध्यता बन्थ्यो। थाक्थिन्। अनि विद्यार्थीको कापी जाँच्ने बहानामा थचक्क बस्थिन् पनि।
तर, जापानी कम्पनीमा कहाँ त्यो छुट हुनु?
'उनीहरू कामको समयमा बस्नुलाई अनुशासनहीन मान्दा रहेछन्,' उनी आफ्नो बुझाइ सुनाउँछिन्, 'त्यसरी घण्टौ उभिएर काम गर्दा बुझेँ, थकाइ भनेको त मनको भ्रान्ति रहेछ। शरीर त जस्तो बनायो त्यस्तै बन्दो रहेछ। महिला, पुरुष सबैको।'
काँचो तरकारी प्याक गर्दैमा बित्थ्यो प्रभाको आधा दिन। बिचमा डेढ घण्टाको विश्राम। त्यसपछि लाग्थिन्, तयारी खाना प्याक गर्ने ड्युटीमा। दुई फरक ठाउँमा दैनिक पाँच/पाँच घण्टा काम गर्दा लखतरान हुनु स्वभाविक हो। तर, आफूसँगै खट्ने अन्य महिलालाई हेरेर ऊर्जा बटुल्थिन् उनी।
त्यसरी समेटेको ऊर्जा आज झल्कन्छ उनको दैनिकीमा। नेपाल फर्किएको दुई वर्ष भयो। विदेशमा जे भोगिन्, देखिन् र अनुभूत गरिन् ती यथार्थमा कल्पनशीलतको रङ घोलेर उपन्यास तयार गरिन् 'फिलिङ्गो।' लकडाउन खुलेसँगै पुन: फर्किएकी छिन् अध्यापन पेशामै।
बिहानभर विद्यार्थीसँग बिताउँछिन् उनी। पाठ्यक्रम र अनुभवसँग जोडिएका विषयहरू साट्छिन्। आजभोलि पढाउँदा पढाउँदै बस्ने बहाना खोज्न शरीर र मन दुवै मान्दैन उनको। घण्टौसम्म शरीरलाई चलायमान राख्ने अभ्यास गरेकी उनलाई केही मिनेटको कक्षाले कहाँ गलाउनु? कलेज सकिएपछि पनि अनेक साहित्यिक जमघटमा भेटिन्छिन्।
नेपालमा प्राज्ञिक क्षेत्रमा रमाएकी प्रभा कसरी रमाएकी थिइन् होला जापानमा तरकारी काट्ने काममा?
'त्यो देशले मलाई सिकाएकै श्रमको सम्मान गर्न हो। काम जेसुकै होस् त्यसमा मान्छेले बगाउने पसिना कति मूल्यवान हुन्छ भन्ने बुझेँ,' उनले सुनाइन्।
भलै काम गरेर पैसा कमाउनु उनको प्राथमिताको विषय थिएन। उनी त जापानका श्रम गरिरहेका महिलाहरूको भिडमा मिसिन चाहन्थिन्। उनीहरूसँगै एउटा समय भोग्न चाहन्थिन्। र, लेख्न चाहन्थिन् यस्तो कथा जसले पसिना बगाउँदा बगाउँदै पनि जीवनमा चुकाइरहेका छन् अस्वभाविक मूल्य। त्यहाँ महिलाको अवस्थाबारे थाहा पाएकी थिइन् सन् २०१० मा पहिलो पटक जापान जाँदा। देखेका र सुनेका विषय समेटेर लेखेकी थिइन् नियात्रा – आत्महत्याको जंगल। उक्त पुस्तकले पाएको प्रतिक्रियापछि उनले सोचेकी थिइन्, बिरानो ठाउँमा दु:ख गरिरहेका महिलाको कथालाई लिपिवद्ध गर्ने।
त्यसैले सन् २०१७ मा उनी विद्यावारिधी गर्न लागेका श्रीमान रामचन्द्र तिवारीसँगै जापान गइन्। प्राज्ञिक क्षेत्र चटक्क छाडेर होइन, आफू एक अध्यापक हुँ भन्ने बिर्सिएर। कारण – यस पटक उनी लेखक बनेर अध्ययन गर्न होइन। कथाभित्रको पात्र बनेर भोग्न चाहन्थिन्, परिवेश।
'सुरुसुरुमा निकै गाह्रो भयो। पछि बानी पर्दै गयो। मैले काम गर्ने ती कम्पनीहरूमा मैले समय र श्रम लगानी गरेको थिएँ। बद्लामा पैसा त कमाएकै थिएँ। सँगै पाएको थिएँ अनुभवको खात। ती भोगाइहरू मेरा लागि लेखनको विषय थिए,' उनले सुनाइन्।
भूगोलको हिसाबमा पर कतै आफ्ना जस्तै लाग्ने नेपालीहरूको कथा बटुल्दै थिइन् उनी। तर, भोगाइ त छालाको रङ केही फरक हुने, आँखा र नाकको आकार नमिल्ने अनि एकअर्कोको भाषा नबुझ्ने दिदी बहिनीहरूको पनि उस्तै हुँदो रहेछ भन्ने थाहा पाइन्।
एकल जीवन बिताउन स्वतन्त्र, सम्बन्ध विच्छेद सामान्य, व्यक्तिगत जीवनमा कुनै अवरोध नहुने। तर, विवाहित महिलाहरू भने हरेक साँझ ५ बजेपछि जापानी महिलाहरू हतारमा निस्कन्थे। भन्थे – श्रीमान थाकेर आउँछन्। पुगेर उनका लागि खाना बनाउनु पर्छ।
'तिमीले चाहिँ थाकेका छैनौ र? तिम्रा निम्ती कसले खाना बनाइदिन्छ?,' प्रभा आश्चर्यमिश्रित प्रश्न सोध्थिन्। जवाफमा उनीहरू भन्थे – 'थाकेको छु तर खाना बनाउनु मेरो जिम्मेवारी हो।'
त्यति विकसित देशमा पनि पितृसत्ताको जरा नउखलिएको सत्यले झस्कायो उनलाई। 'जापानमा राज्यले महिला, पुरुष दुवैलाई समान हक अधिकार दिएको छ। बराबर सेवा सुविधा पनि तर त्यहाँ पनि महिला प्रकृतिले दिएको आमाको भूमिकामा खुम्चिएका रहेछन्। दु:ख लाग्यो,' उनी केहीबेर मौन रहँदै प्रश्न गरिन्, 'त्यो ठाउँमा नेपाली महिलाहरूको अवस्था नेपालमा भन्दा फरक होला भनेर कसरी अपेक्षा गर्नु?'
आफ्नो देशको तुलनामा जापानमा नेपाली महिला केही अगाडि रहेछन् भने त्यो उनीहरूले पाउने काम र श्रम अनुरुप कमाइ रहेछ। दुखद् पक्ष – अनिद्रा, भोक र थकान सहेर जम्मा गरेको रकममा कहाँ उनीहरूको हक हुनु?
प्राय श्रीमानको 'डिपेन्डेन्ट भिजा'मा गएका उनीहरू आफ्नो मेहनतको कमाइमा समेत श्रीमानकै अधिकार रहने विश्वास गर्दा रहेछन्। आफै कमाउन सक्ने भएर पनि श्रीमानमा निर्भर। परिवार, आफन्त, समाज र परम्पराले तोकिदिएको नियममा बाँधिएका।
'कस्तो आख्यान जस्तो जीवन बाँचिरहेका छन् त्यहाँ,' प्रभाले भनिन्, 'अनि मैले आख्यानमा त्यही जीवनमा उन्ने कोसिस गरेँ।'
हरेक पटक कुनै नेपाली दिदी बहिनीको अनुभूति सुन्दा त्यसको खेस्रा लेखन गर्थिन्। साताको दुई दिन बिदा लिन्थिन् र निस्कन्थिन् शहरबाट दूर कतै, त्यसैका लागि। कहिले काही सँगै काम गर्ने नेपाली साथीलाई आफूसँग निस्कन आग्रह नगरेकी होइनन्। तर, हरेक दिन समयको जोड घटाउमा आफैलाई अब्बल साबित गर्न लागि परेका हुँदा रहेछन् सबै। समय घट्दै जाँदा पैसा बढ्दै जाने।
'देश छोडेका ती महिलाहरूको बाध्यताको कथा कोठामा बसेर लेख्न सम्भव थिएन। फेरि नेपाली साहित्यमा महिलाको कथा भात, भान्सामै सीमित भए भन्ने आरोप नसुनिएका होइनन्,' उनले भनिन्, 'तर हाम्रा दिदी बहिनीको भोगाइ त कति फराकिलो रहेछ। ती भोगाइलाई शब्दमा उतार्ने जमर्को गरेँ।'
उपन्यास 'फिलिङ्गो' तयार भयो जसमा नेपाली महिलाले अनुभूत गर्ने जीवनको फरक र फराक पाटो समेटिएको छ। पहिलो पटक विदेश पुगेकी नेपाली महिला। त्यहाँको खटन। सम्बन्धमा आउने उताव चढाव लेखिएको छ। उनले एउटा पात्रको मनोदशामार्फत् समग्र अवस्था चित्रण गर्ने प्रयास गरेकी छिन्।
'जापानमा रहेका श्रमिक महिलाले भोगिरहेको एउटा कालखण्डको दस्तावेज हो। भोलि अवस्था उही नरहन सक्छ किनकि चेतनशील पुस्ता जाँदैछन्। प्राज्ञिक एवं अन्य क्षेत्रमा आफ्नो पखेटा फिजाउँदैछन्,' उनले पुस्तकबारे भनिन्, 'पीडा र समस्या त देखाएको छु नै। सँगै यसले महिलाले खोज्ने आर्थिक स्वावलम्बन, आत्मसम्मान र स्वतन्त्रताको समेत संकेत गर्छ।'
पूर्णताको परिभाषा के?
एउटी महिलाले श्रीमान, सन्तान खुशी राख्न सक्दा, समाजको नियममा बाँधिदा उनी पूर्ण कहलिन्छिन्। तर, खुशी राख्न दिनरात खट्नेहरू किन सधैं रित्तो? उनीहरूलाई किन थाहा छैन 'फिक्स्ड डिपोजिट'को अर्थ? किन जान्दैनन् बैंक स्टेटमेन्ट हेर्न? यिनै प्रश्न उठाउँछिन् प्रभा।
आजभोलि उनीसँगै आवाज मिलाउन थालेका छन्, उनका विद्यार्थीहरू। जसलाई प्रभाले कक्षामा सुनाउने अनुभवका कथा सुरुमा त काल्पनिक लागेका थिए। अविश्वसनीय पनि। पछि उनीहरूले पनि खोजे, बुझे। थाहा पाए नेपाली वा विश्वभरका महिलाहरू कसरी बाँधिएका छन् सामाजिक नियममा? कसरी गुम्सिएका छन् मानसिक दवावमा?
'यी प्रश्नको जवाफ समयले देला। तर, अब यी विषयमा बोल्न, लेख्न भने ढिला भइसक्यो। जति ढिला प्रश्न गरिन्छ, सुनुवाइ पनि त्यति नै ढिला हुन्छ,' प्रभाले भनिन्, 'कसैलाई पोले पोल्छ तर प्रश्न फिलिङ्गो सरह हुनुपर्छ।'