PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यस वर्ष महजोडी बने ‘महामुर्ख’, मन्त्री सोनल ‘मुर्खशिरोमणि’

यस वर्ष महजोडी बने ‘महामुर्ख’, मन्त्री सोनल ‘मुर्खशिरोमणि’

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : जनकपुरधाममा होली पर्वको पूर्व सन्ध्यामा आयोजित ‘महामुर्ख सम्मेलन’मा आफूलाई ‘महामुर्ख’को उपाधि अथवा ‘मुर्ख’को उपाधि दिइयोस् भन्ने ईच्छाका साथ जनकपुरधामको जानकी मन्दिरमा कयौँ गन्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो। सबै आ-आफ्नो मुर्खत्वको उपाधि पाउनका लागि लालायित थिए।

मिथिला नाट्य कला परिषद्को महामुर्ख सम्मेलनका लागि बनाइएको मञ्चमा नेपालका शिद्धस्थ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रदेश २ का मन्त्री जितेन्द्र सोनल, मैथिली विकास कोसका अध्यक्ष जिवनाथ चौधरीदेखि प्रदेशसभा सदस्यहरु, वडाध्यक्षहरु, कलाकार, कवि, पत्रकार लगायतको उपस्थिति रहेको थियो। मञ्चमा उपस्थित व्यक्तत्वहरुमध्ये मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलनमा ‘महामुर्ख’को उपाधि महजोडीको नामले परिचित मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्यलाई दिएको छ।

‘महामुर्ख’को उपाधि पाएपछि महजोडीको अनुहारमा अनौठो मुस्कान समेत देखियो। उनलाई प्रशस्ती पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारी मिश्रित माला र दोसल्ला ओढाएर सुशोभित गरेर सम्मान गरिएको छ।

सम्मान ग्रहण गर्दै मदनकृष्णले ४० वर्षको करियरमा कयौँ पुरस्कारहरु पाएपनि मिनापले दिएको महामुर्खको उपाधि धेरै नै खास रहेको बताए।

उनले भने, ‘हामीलाई सबैले विद्वान भन्थे तर हामी के हौँ हामीलाई मात्रै थाहा छ। बल्ल मिनापले हामीलाई चिनेर यो उपाधि प्रदान गरेको छ। मिनापसँगको ३० वर्षको सहकार्यकै कारण हामीलाई वास्तवमा चिन्न सम्भव भएको होला भन्ने मलाई लागिरहेको छ।’

हरिवंश आचार्यले ४० वर्षसम्म निरन्तर गरेको कामको प्रतिफल आज पाएको बताए। उनले आफूहरुलाई साँचो अर्थमा संयुक्त रुपमा यो सम्मान प्रदान गरेर एक बनाएको छ।

हाँस्य ठट्यौलीका साथै भएको सो सम्मेलनमा सहभागी कविहरुले आ-आफ्नो कविताको माध्यमबाट विभिन्न विषयवस्तु माथि कटाक्ष गरेका थिए।

‘महामुर्ख’को उपाधि दिने विगत २२ वर्षको परम्परा अनुसार यस अघि मिनापले कवि नरेश ठाकुर, एमाले नेता शत्रुधन महतो, जसपा नेता डा विजयकुमार सिंह, वरिष्ठ राजनीतिक विश्लेषक सीके लाल, माओवादी केन्द्रका नेता रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया, जसपाका नेता वृषेशचन्द्र लाल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका विशिष्ट व्यक्तित्वलाई ‘महामुर्ख’को उपाधि प्रदान गरिसकेको छ।

मिनापले आयोजना गरेको महामुर्ख सम्मेलनमा यस वर्ष मुर्खशिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरेको छ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ का वडाध्यक्ष सुदर्शन सिंहलाई बैशाखनन्दन, जसपाका केन्द्रीय सदस्य राजिव झालाई वंश कुरहरि, डेली एक्सप्रेस दैनिक पत्रिकाका प्रकाशक शंकर साहलाई मुसरीलाल, जसपा नेतृ विन्दु ठाकुरलाई खपसुरती, जसपा नेता शेषनारायण यादवलाई चोन्हमा, नेपाल शिक्षक संघका प्रदेश २ अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, चित्रकार एससी सुमनलाई तरघुस्का, सुरेश शर्मालाई हराशंख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुजित झालाई सिलौटानन्द, साहित्यकार एवं गीतकार अशोक दत्तलाई वोतलानन्द, नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष शीतल साहलाई ढोरबा, मोडेल क्याम्पसका सञ्चालक बीरेन्द्र साहलाई लोढाशंकर, कराँतेका प्रशिक्षक बीरेन्द्र कर्णलाई बज्रकीट र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell