PahiloPost

Dec 4, 2024 | १९ मंसिर २०८१

राजनीतिको सिकार बनेको त्यो जमीन : 'कागज कारखाना'को खाका पूरा नहुँदा 'कलाघर'ले लियो आकार



स्वेच्छा राउत

राजनीतिको सिकार बनेको त्यो जमीन : 'कागज कारखाना'को खाका पूरा नहुँदा 'कलाघर'ले लियो आकार

मन लगानी गरेर बनाएको 'कलाघर'मा कहिल्यै समय बिताउन पाएका थिएनन् विनोद चौधरीले।

'सोचिन्छ एउटा। भइदिन्छ अर्कै'- यसैलाई भाग्य मान्छन् उनी। भाग्यले उनलाई त्यो कलाघरमा लगभग ३० वर्षपछि उभ्याइदियो। उनी उभिएको ठाउँ त्यही हो जहाँ उनी कुनै समय उद्योग खोल्न चाहन्थे। तर, चाहेजस्तो भएन।

नेपालको एकमात्र फोर्ब्स सूचिकृत अर्बपतिले पनि चाहेको सबै कुरा पूरा नहुँदो रहेछ। कस्तो अनौठो संयोग! त्यही असफल संयोगले दिलाएको सन्तुष्टि भने दुई साताअघि उनको मुहारमा छछल्कियो, त्यही 'फेलियर प्रोजेक्ट' परिसरमा देशका चर्चित लेखक, कलाकार, नेतादेखि साहित्यानुरागीका बिच।

कहिले अभिनेता राजेश हमालको संस्मरण सुनेर दङ्ग देखिन्थे उनी त कहिले नाट्य प्रस्तुति हेरेर भावुक। प्राय काममा व्यस्त रहने उनी बेपर्वाह समय बिताइरहेका थिए, घण्टौं कला र साहित्य क्षेत्रबारे संवाद सुनेर, ताली बजाउँदै। त्यही कलाघर प्राङ्गणमा जुन ठाउँसँग उनी भावनात्मक रुपमा जोडिएका छन्।

'कागज कारखानाका लागि किनेको जग्गा हो यो। ४० वर्षजति अघि। तर, त्यो योजना फोहोरी राजनीतिक खेलको सिकार भयो,' राजनीतिक प्रहार र असफल प्रयासको कथा सुनाए उनले।

‌+++

२४ वर्षको ठिटौले उमेरमै कागज कारखानाको खाका कोरेका थिए विनोद चौधरीले। त्यसैका लागि जग्गा पनि किने। देशको मध्यविन्दु अर्थात् गैंडाकोटमा।

तर, नेपालको पहिलो कागज कारखाना बनाउने उनको योजनाले आकार लिनै पाएन।

अनुभव र व्यवसाय विस्तारको अनुसन्धानले उनको जीवन निखारिँदो थियो। कल्पिएको कागज कारखानाका लागि जग्गा आफ्नो बनाइसकेका थिए। नाम पनि जुराए – सरस्वती पेपर मिल। उक्त कारखाना सम्भाव्यताको अध्ययन गरेको थियो चिनियाँ प्राविधिक टोलीले। चीनबाटै प्लान्टका लागि आवश्यक सबै कुरा झिकाउन तय पनि भयो।

त्यो त्यही समय थियो जुन नेपालको राजनीतिक इतिहासको एउटा महत्वपूर्ण कालखण्ड मानिन्छ।

२०३६ मा जनमत संग्रह घोषणा भयो। प्रधानमन्त्री थिए सूर्यबहादुर थापा। उनीसँग नजिकको सम्बन्ध थियो चौधरी परिवारको। चुनावका लागि थापाको आग्रहमा विनोदको परिवारले पनि आर्थिक सहयोग गर्‍यो।

जनमत संग्रहमा सुधारिएको पञ्चायतले जित्यो। जितलगत्तै विनोदले सूर्यबहादुर थापासँग केही योजनाको प्रस्ताव राखे। थापाले स्वीकारे पनि। तर, प्रधानमन्त्री थापाको सरकार लामो समय टिक्न सकेन। कारण - उनीविरुद्ध भूमिगत गिरोह नै सक्रिय हुनु। थापासँगको निकटताकै कारण चौधरी पनि मुछिए आरोपको खेलमा। विभिन्न आरोपमध्ये एक थियो– सत्ता टिकाउन पेपर मिलको लाइसेन्स प्रधानमन्त्री सूर्यबहादुर थापाले व्यवसायी विनोद चौधरीलाई बेचे।

थापासँग यही भूमिमा पेपर मिल खोल्ने प्रस्ताव चौधरीले राखेकै थिए। थापाको राजनीति सक्ने होडमा कागज बनाउँदा वन विनाश हुने तर्क आए। थापाले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि औद्योगिक विकास निगमबाट मिल्न लागेको ऋण खारेजीमा पर्‍यो। विनोद चौधरीको योजना पछ्याएरै सरकारले भृकुटी कागज कारखाना खोल्यो।

कारखानाकै लागि ६ विघा जमीन त किनिसकेका थिए। तर, तत्काल केका लागि प्रयोग गर्ने? कुनै योजना बनेन। चौधरीले त्यस जग्गालाई फार्म हाउस बनाए। आँप र लिच्ची रोपे। हरिण पनि पाले यहाँ। कलात्मक सामाग्री सहितको कलाघर पनि रहरैले बनाएका हुन् उनले।

'कागज कारखानाको योजना त रोकियो। अब के गर्ने त? फुर्सद हुँदा आएर बस्ने फार्म हाउस बनायौं,' उनले सुनाए, ’बन्न त बन्यो। तर,प्रारब्धकै कुरा हुनुपर्छ मैले कुनै पनि दिन यहाँ आएर समय बिताउन पाइँन। साइतै जुरेन।‘

व्यवसायिक व्यस्तता र राजीनिक उथपपुथलकै कारण रहेछ उनले फार्म हाउससम्म धाउन नपाएको। फेरि, त्यहाँबाट करिब १२ किलोमिटर मात्र पर उनको उद्योगग्राम, कार्यालयदेखि अन्य सुविधासहितको। प्राय त्यहीँ पुग्थे उनी।

'देश लामो समय द्वन्द्वको मारमा पर्‍यो। सबैका लागि असुरक्षित थियो। मेरो परिवारले पनि असुरक्षाकै कारण यहाँ आउन दिएनन्,' उनले सुनाए, 'आउने, समय बिताउने वातावरण नभए पनि मेरो आत्मा भने यो ठाउँसँग नजानिदो तरिकाले जोडियो।'

हेर्न र देखाउनका लागि त भव्य फार्म हाउस बनेकै थियो। तर, उनलाई जीवन दिनु थियो जग्गा र त्यस वरपर रहेका मानिसहरूलाई। चौधरी कल्पन्थे – कसरी सजिव बनाउने यो ठाउँ? सोचको खोजीमा थिए उनी।

बेलाबखत् त्यस ठाउँमा रिजोर्ट निर्माणको अवधारणा अघि सर्‍यो। व्यवसाय पनि हुने र आसपासका मानिसले रोजगार पनि पाउने। तर, काम अघि बढाउन उनको मन मान्दै मानेन।

'कुनै पनि काम गर्ने प्रक्रियामा सबैलाई परिस्थिति र आफैभित्रको चिन्तनले 'पुस' गर्नुपर्छ। गर्दागर्दै अडिइन्छ भने त कसको के लाग्छ र? तर, चिन्तन अनुरुप अघि बढिन्छ भने नतिजा सकारात्मक बन्छ,' चौधरीले भने।

उनको चिन्तनको नतिजा – त्यो ६ विघा खाली ठाउँको गैर-व्यवसायिक प्रयोग।

+++

कला, साहित्य र सांस्कृतिक विषयहरूले विनोदको ध्यान आकृष्ट गरिरहेको थियो। ती त सम्भावना भएर पनि पछाडि छोडिएका विषय हुन् भन्ने महसुस गरे उनले। तिनको प्रवर्द्धन र संरक्षणका लागि दीर्घकालीन आधार नबनेको उनको ठम्याइ रह्यो। त्यसैले उनले यो थलो निर्माण गर्ने भए जहाँ विविध विधाको चर्चा होस्। कला, कृति बनोस्। अनेक प्रतिभा र स्रष्टाहरूको मेल होस्। र, सुरु गरेको हरेक सिर्जनात्मक कामले निरन्तरता पाओस्। बिस्तार नभएको बजारसँग कलाकार डराउनु नपरोस्। एक अर्कासँग सिक्ने वातावरण रहोस्।

सिप भएर पनि आम्दानी नहुनुका कारण कला, साहित्य जगतका धेरै यस क्षेत्रबाट टाढिएको नसुनेका होइनन् उनले। चौधरीले चाहे - कला अनुरागीहरूले आफ्नो सिप पुन: अंगालुन् र भनुन् – हाम्रो सिप निखार्ने ठाउँ बनेको छ। त्यो ठाउँ हाम्रो लागि स्रोत हो।

चौधरीको यही परिकल्पना चरितार्थ भयो र बन्यो - उन्नति कल्चरल भिलेज।

'कला र संस्कृतिसँग मानिसको जीवनशैली जोडिएको हुन्छ। कुनै कृति होस् या खानाको परिकारदेखि भेषभुषाको प्रदर्शनी होस्। एउटा मूर्तिकारले खुला आकाशमुनि घण्टौ बसेर काम गरोस्। चित्र र साहित्यको प्रदर्शनी होस्,' उनले उन्नति कल्चरल भिलेज निर्माणको औचित्य प्रष्ट्याए, 'परम्परागत् र ऐतिहासिक पृष्ठभूमि जोडिएका विषयहरूको प्रवर्द्धन होस्, आधुनिकताबाट पर नभागी।'

व्यवसायी हुनुको राज नै हो, कलाको पनि अर्थशास्त्र खोज्छन् उनी। त्यसैले अध्ययन, अनुभव र लगन मिसिएको सिर्जनालाई बजार दिन चाहन्छन्। नेपालीपन मिसिएको कलाकृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन चाहन्छन् – प्रयोग गर्न सकिने सामाग्रीका रुपमा।

'प्रयोग गर्न नमिल्ने चिजको त सीमा हुन्छ। सजाउनमात्र बनाइने वस्तुको बजार दीगो हुँदैन। कलाको पनि,' उनको बोलीमा सिर्जना र बजारको सन्तुलन देखियो। आज संगीत र चलचित्र व्यवसायिक भएकै कारण तिनको विकास, संरक्षण, प्रवर्द्धन तीव्र रुपमा भएको उनको बुझाइ छ। कलाका यी दुई विधा पैसासँग जोडियो, बजार बढ्यो र त बलिउड र हलिउड छन्।

कलाका अन्य विधालाई पनि संगीत र सिनेमाजस्तै पुँजीसँग जोड्ने जमर्को गरेका हुन् चौधरीले।

'कसैले त पुलको भूमिका निर्वाह गर्नुपर्छ। र, म त्यो पुल बन्न प्रयत्नरत् छु,' उनले सुनाए, 'कलाकारले कलाकारिता गरेरै जीविकोपार्जन गरुन्। यही हो मेरो ध्येय। आम्दानी केन्द्रित हुनु थियो भने घुम्न आउने ठाउँ बन्थ्यो होला यो ठाउँ।'

उन्नति कल्चरल भिलेजले मानिसको जीवनको फरक आयामलाई समेट्नेमा विश्वस्त सुनिए उनी।

+++

चितवनको नारायणगढ बजारबाट १२ किलोमिटर पर। नवलपुरको हर्कपुरमा छ उन्नति कल्चरल भिलेज। पूर्व पश्चिम राजमार्गको छेवैमा। वर्षौ सुनसान भूमिमा आजभोलि भने चहलपहल देखिन्छ। स्थानीयहरू कामदारका रुपमा खटिएका छन्।

सामाजिक उत्तरदायित्व अन्तर्गत् स्थापित् यस कलात्मक परिसरले रोजगारीको ढोका खोलेको छ।

आँप र लिची बगानको हेरचाहदेखि परिसरमा निर्मित संरचनामा स्थानीयको पसिना मिसिएको छ। संरचनाको नमुना बनाएका जीवन चौधरीले भने, 'थारु संस्कृति र समुदायको पुरानो भेषभुषा र परम्परा जोखाउन सघाएको छ।'

उनले भनेजस्तै हरियाली बिच निर्मित संरचना झट्ट हेर्दा लाग्छ – हामी कुनै थारु गाउँमा छौं।

छाप्रोका भित्ताभरी कोरिएका चित्रहरूले थारु जातिको परम्परा, संस्कृति, पर्व र उत्सवहरूको झल्को दिन्छ। भान्सादेखि कोठासम्म हेर्दा लाग्छ, थारु समुदायको सजिव चित्र हो यो।

यहाँ आर्ट ग्यालरीदेखि  रंगमञ्चसम्म अटाएको छ। प्रकृति हेर्दै रमाउन बगैंचादेखि कलाकृतिको संग्राहलय र प्रदर्शनीका लागि स्टुडियोहरु पनि। यहाँ पुग्नेले परम्परागत् आथित्यताको मजा लिन सक्छन्। थारु संस्कृति झल्काउने रेस्टुराँ र बारले मौलिक स्वाद पस्कन्छ।  

विनोद चौधरी जोडिएपछि यसलाई मुनाफामा आधारित होला भन्ने लाग्यो भने गलत हुन सक्छ। यो मुनाफा केन्द्रित योजना नभएको र यहाँबाट हुने आम्दानी यहीँका लागि खर्च हुने बताइन् उन्नति भिलेजका निर्देशक सुरभी चौधरीले। सुरभी विनोद चौधरीकी बुहारी हुन्। उन्नति कल्चरल भिलेजको शाखा सातै प्रदेशमा बिस्तार गर्ने योजनामा छिन् सुरभी। हरेक प्रदेशमा कुनै एक समुदायको परम्परा र संस्कृतिलाई कला केन्द्रको संरचनागत् आवरणमा झल्काउने उनको सोच छ। 

उन्नति भिलेज त तयार भयो। तर, अबको चुनौती भने बनाइएको संरचना जोगाउनु र योजनाहरूलाई मूर्त रुप दिनु भएको बताउँछन् विनोद। 'हुन त यो भिलेज बनाउनु पनि सहज काम थिएन। तर, बनाउनुभन्दा गाह्रो काम जोगाउनु र निरन्तरता दिनु हो। यो भिलेज र यससँग जोडिएका मानिसहरू सीजी (चौधरी ग्रुप)को जिम्मेवारी हो,' उनले भने।

यस कलात्मक गाउँसँग जोडिएका मानिसको सोच र अपेक्षा जीवित राख्ने ध्ययमा देखिन्थे उनी।

नेपालको मध्यविन्दुमा रहेको यस ठाउँलाई हरेक नेपालीले साँझा गाउँ मानुन् भन्ने उनको अपेक्षा। त्यसका लागि हरेकको पहुँच सहज बनाउने जमर्को गरेका छन्। 'यो व्यापार गर्ने ठाउँ होइन भन्ने विश्वास दिलाउनु छ। भलै कला साहित्यसँग जोडिएका मानिसले अभावकै कारण सिप छोड्न नपरोस् भन्ने विषयमा चाहिँ विशेष ध्यान दिन्छौं,' उनले उन्नति भिलेज टिक्ने मेलो सुनाए।

चौधरीलाई अहिले लाग्छ, राजमार्गसँग जोडिएको यो जमिन त कारखानाका लागि उचित रहेनछ। रिजोर्ट नै बनाएको भए पनि – जमिनको सही प्रयोग हुने थिएन। जसै उन्नति कल्चरल भिलेज बन्यो, चौधरी थप उत्साही छन्। 'व्यवसायका लागि लोकेसन समस्या होला तर यस्तो खालको गन्तव्य जहाँ बनायो त्यहीँ लोकेसन बन्छ,' उनले भने, 'मलाई लाग्छ, राजनीतिक खेलले तुहाएको त्यो कागज कारखानाभन्दा केही गुणा बढी सिर्जनात्मक नतिजा उन्नतिले दिनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell