PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

घरेलु फुटबलका सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास



घरेलु फुटबलका सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

काठमाडौं: थ्री नेशन्स कप अन्तर्गतको सोमवार सम्पन्न फाइनल खेलसँग विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। बंगलादेशविरुद्ध भएको फाइनल खेलको अन्तिम समयमा प्रवेश गरेका नेपाली फुटबल टोलीको पूर्व कप्तान विराजले आजको फाइनल खेलपछि सन्यास लिने घोषणा गरेका थिए।

आजको खेल नेपालले बंगलादेशविरुद्ध २-१ गोलले जित निकालेको हो।

सन् २००८ मार्च २५ मा पोखरामा सम्पन्न पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलिमा डेभ्यु गरेका उनी राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। उनको हासम्मको क्याप ७३ रहेको छ।

सन् २०१९ मा मलेसियाविरुद्ध खेल खेलेयता धेरै खेलहरुमा उनी टिम भन्दा बाहिर रहे। तत्कालीन प्रशिक्षकको स्क्वाडमा उनी फिटनेसका कारण भन्दै अटाएका थिएनन्। आफ्नो करियरमा उनले १८ खेलमा कप्तानी गरे। पहिलो कप्तानी उनले भारतविरुद्ध सन् २०१५ को साफ च्याम्पियनसिपमा गरेका थिए।

उनको कप्तानीमा नेपालले १२ औं साग र बंगबन्धुकप जितेको थियो।

घरेलु फुटबलमा उपाधिका हिसाबले उनी सर्वाधिक सफल कप्तान हुन्। उनले थ्री स्टार क्लब, मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्बलबाट लिगको उपाधि उचालिसकेका छन्। अघिल्लो सिजनमात्र उनको कप्तानीमा रहेको मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको थियो।

राष्ट्रिय टोलीका लागि उनले १ गोल गरेका छन्। सन् २००९ मा एएफसी च्यालेञ्ज कपमा कीर्गिस्तानविरुद्ध गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell