PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

काठमाडौंले प्रश्न गर्ने कहाँ कहाँका मान्छे !



काठमाडौंले प्रश्न गर्ने कहाँ कहाँका मान्छे !

  • शिशिर वैद्य ­-

‘कहाँ कहाँका मान्छे दुई चारजना जम्मा भएर विरोध गर्न आउँछन्। कोही अभियन्ता रे! कोही के समाज रे!’

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका यस्तो अभिव्यक्तिले न म अचम्मित भएँ न स्तब्ध नै। किनभने उनले रैथाने मानसिकताको 'पेटेन्ट' भाषा बोलेका थिए। काठमाडौंका सडकमा निस्कने हरेक जुलुसका सहभागीलाई लाग्ने स्थायी दोष हो, ‘कहाँ कहाँका मान्छे!’। चाहे त्यो राजनीतिक दलको जुलुस होस्, या नागरिक समाजको नै। चाहे किसान मजदुरको होस या महिलाको अथवा दलितको नै किन नहोस्।

ती कहाँ कहाँका मान्छे नै त थिए जो काठमाडौंबासीको एक मात्र खुला चौर टुँडिखेलमा बसपार्क राखेको विरोधमा सडकमा उत्रिए। सेनाले अतिक्रमण गरेको आक्रोशमा टुँडिखल हाम्रै हो भन्दै नागरिक मार्च गर्दै टुँडिखेल छिर्न खोजे। टावर कम्पनीले खुलामञ्चमा पसल खोल्न खोज्दा आवाज उठाउँदै भत्काउन आए। रानीपोखरीलाई स्विमिङ पुल बनाउने महानगरको योजना भताभुँग पारे। ती सब कहाँकहाँका मान्छे नै त थिए जसका कारण रानीपोखरीले आजको रुप पायो, मनमोहक र कलात्मक। ती कहाँकहाँका मान्छे फेरि जुर्मुराएका छन् महानगरको कमलपोखरी ड्रिम प्रोजेक्टमाथि धावा बोल्न। किन रानीपोखरी जस्तै सुन्दर र कलात्मक कमलपोखरी बनाउन पहल हुँदैन? किन चाहियो सिमेन्टको कमल? किन लगाइयो ढुंगाको पर्यावरण विनाशी पर्खाल? ती कहाँकहाँका मान्छे नै त हुन् जो उठिबास भएका सडक विस्तार पीडितका पक्षमा महानगरको द्वारमा धर्ना दिन पुगे, मातृभाषा बोलेकै कारण थुन्ने प्रहरीको विरोधमा सडकमा उत्रिए।

नगरवासी भन्दैछन् ­ काठमाडौंको रैथाने सोचको चस्मा उतार्नुस् मेयरज्यू, अब तपाईँ रैथानेहरूको मात्रै मेयर होइन, सम्पूर्ण महानगरवासीको मेयर हो। अनि यो महानगरमा अब रैथाने नेवारहरू मात्रै बस्दैनन् सतहत्तरै जिल्लाका मानिस बस्छन्। जसलाई यहाँको आँखाले कहाँ कहाँका मान्छे मात्र देखिरहेको छ। चुनाव लड्दा के यहाँलाई रैथानेहरूले मात्रै भोट दिएका थिए? के यहाँको घोषणापत्रले रैथानेहरूको मात्रै विकास गर्ने प्रण गरेको थियो? चुनाव लड्दासम्म तपाईँ नेकपा एमालेको कार्यकर्ता, जितेपछि त सम्पूर्ण महानगरवासीको मेयर होइन? घरमा तपाईँ शाक्य थरको नेवार। कुर्सीमा बसेपछि शुद्ध मेयर, महानगरमा बसोबास गर्ने सम्पूर्ण जातजातिको प्रतिनिधि। नगरपिता पनि भन्छन् क्यारे मेयरलाई। ती कहाँ कहाँका मान्छेले काठमाडौंलाई रैथानेले जत्तिकै माया गर्छन्। त्यसैले त संघीय र स्थानीय सरकारलाई खबरदारी गर्न सडकमा छन्, कहिले सम्पदा बचाउन, कहिले भाषा बचाउन। किन विरोध र खबरदारी गर्न सडकमा उर्लिएकाहरूलाई कहाँ कहाँको मान्छे देख्छ यो शहर सधैँ?

खुलामञ्च खाली गर्न शुरु भएको छ। यसका लागि धन्यवाद। तर, महानगरवासीको टुँडिखेल किन सेनाको कब्जामा? यो महानगरको सम्पत्ति होइन र? किन पहल गर्दैन महानगर यसलाई नागरिकको अधिनमा ल्याउन? विना मुआब्जा महानगरका मतदाता र स्थानीय सरकारका करदाताको उठिबास भएको छ। उदाहरण धेरै छन्। ती सबैको चर्चा अरु नै समयमा गरौला। बालाजु अहिले चर्चाको शिखरमा छ जहाँका जनताको उठिबास भएको छ। आफ्ना मतदातालाई परेको समस्या पहल गर्न किन लाचार छ स्थानीय सरकार?

यतिखेर संघीय गणतान्त्रिक देशको स्थानीय सरकारको आभाष किन पाइरहेका छैनन् जनताले? नागरिक र अभियन्ताहरूले उठाएका आवाजलाई कहाँकहाँका मान्छे आएर विरोध गरे भनेर बोल्नु महानगरको मेयर पदको गरिमा सुहाउँदो अभिव्यक्ति कसरी हुनसक्छ?

स्थानीय सरकार गठन भएको तीन वर्ष बितिसक्यो। तर, हामी नागरिकले अनुभूत गर्ने गरी केके काम भयो त? सडक अँध्यारा छन्। गल्ली फोहर। सार्वजनिक यातायात अव्यवस्थित। आकाशे पुल खिया लागेर जिर्ण। अव्यवस्थित सडक व्यापारीका कारण पैदल यात्रुलाई हिँडिसाध्य छैन। ट्राफिक बत्ती बल्दैन। टेलिफोन र केबलका तारले शहर कुरुप। सार्वजनिक शौचालय अति नै थोरै छन्। जति छन् ती पनि दुर्गन्धले छिरिसाध्यका छैनन्। सम्पदाहरू लथालिंग। कति थपौं? थप्दै जाने हो भने यहाँका १०० बाचा बेलुनको हावा भइहाल्छ।

यो आलेख तयार पार्दै गर्दा ‘यें दे म्हसिके’ लोकार्पण हुँदै थियो। काठमाडौं शहरलाई चिनौं शिर्षकको कक्षा १ देखि ४ सम्मका लागि तयार पारिएका पुस्तक सार्वजनिक भएको खबरले म निकै हर्षित बनेँ। मातृभाषा पढाउन, सिकाउन र काठमाडौंका चाडपर्व, संस्कृति, कलाकौशल, भाषा र इतिहास बारेमा जान्न बुझ्न तयार पारिएको पाठ्यपुस्तकले पक्कै पनि नेपाल भाषाको जगेर्नामा मद्दत पुर्‍यायो। नेपाल भाषा फेरि उपत्यकाको बोलिचालीको भाषा बन्ने सम्भावना बढायो। यहाँको जस्तै पहल सबै स्थानीय सरकारले गरोस्, शुभकामना छ। तर, सभाहलमा ‘यें दे म्हसिके’ लोकार्पण हुँदै गर्दा केही ‘कहाँकहाँका मान्छे’हरू पुल्चोक देखि मंगलबजारसम्म भाषिक अधिकारका लागि मार्च गर्दै थिए।

‘हैन एकै जातिको यो देश, पेवा कसैको हैन है, जाति भाषा मार्नु हो, रेट्नु घाँटी देशको।’

कवि दुर्गालाल श्रेष्ठको कविता वाचन गर्दै गरिएको मार्चका सहभागीले मेरो भाषा सबथोक हो, भाषामाथिको दमन अन्त्य गर, मेरो पहिचान, मेरो जीवन­मेरो मातृ भाषा लेखिएका व्यानर बोकेका थिए। उनीहरू प्रश्न गरिरहेका थिए­ के मेरो भाषा भाषाजस्तो सुनिदैन?

यी प्रश्न ती मार्चमा सहभागीहरूको मात्रै थिएन, समग्र भाषिक समुदायको थियो, जो नेपाली बाहेकका आफ्नो मातृभाषा बोल्दछन्। यता महानगरका विद्यालयहरूमा मातृभाषा पढाउने वातावरण तयार हुँदै थियो उता महानगरकै केही नगरबासी आफ्नो मातृभाषा बोलेको कारणले प्रहरीको दुर्व्यवहार भोगिरहेका थिए। अब प्रश्न उठ्छ बोल्नै नपाइने मातृभाषा पढेर बालबालिकाले के गर्ने? के सरकारी कार्यालयमा मातृभाषा बोल्न बर्जित हो र?

महानगरको एक नागरिक, मतदाता, युवा, नेवार, रैथाने सबै भइकन पनि किन म यहाँ भएका भनिएका विकास देख्न सकिरहेको छैन? महानगरमा केही पनि भएको छैन नभनौं। जति राम्रा काम भएका छन् त्यसको जस पाउने व्यक्ति नगरपिता नै हो। बहाः बहीः हरूको पुनर्निर्माण र संरक्षण सम्वर्द्धनमा येथेष्ट बजेट खर्च भएको छ। गल्लीहरूमा ब्लक छाप्ने कार्य भएको छ। सडकमा ब्रुमर गुडेको छ। काष्ठमण्डपले प्राचिन स्वरुप पाउनै लागेको छ। वृद्धहरूले विशेष भत्ता पाइरहेका छन्। केही क्षेत्रमा स्मार्ट पार्किङले सवारी साधन पार्किङ व्यवस्थित भएको छ।

राम्रा कामको शुरुवात भए तर प्रचारमा मात्रै। मानवमुक्त सडक बनाउने भनेर शुरु गरिएको अभियान तुहिइसकेको छ। स्मार्ट सार्वजनिक ट्वाइलेट, इ ट्वाइलेट के हुन् आजसम्म देख्न पाइएको छैन। काठमाडौंका फुटपाथ अपांग मैत्री निर्माणकार्य देख्दा हाँस्यास्पद लाग्छ। पैदल यात्रुमैत्री र एकरुप हुनुपर्ने फुटपाथ शहरका घरधनीको तजबीजमा बनेका छन्। महानगरभित्र ठूला बसहरूलाई प्रोत्साहन गरिएको छ तर सार्वजनिक यातायात व्यवस्थित नहुँदा भिड र कोचाकोच यथावत छ। रातको आठ बज्दानबज्दै सार्वजनिक यातायातका साधन सडकबाट हराइसक्छन्। यसरी नै हुन्छ त शहर जिवन्त? शहरलाई स्मार्ट सिटी बनाउने भनिएको छ। के हो स्मार्ट सिटि? केके बनेपछि बन्छ त शहर स्मार्ट? स्मार्ट सिटीको एउटै मात्र नमूना बनेको छ स्मार्ट पार्किङ। काकाकुल काठमाडौंको पानीका स्रोतहरू सुक्न थालेका छन्। जमीनमुनिको पानीको सतह दिनानुदिन घट्दैछ। जमीनमुनिको पानीको सतह संरक्षण गर्न रिचार्ज काठमाडौं अभियान कहाँ पुग्यो? महानगरको नगरसभाले पारित गरेको १९२ बुँदामध्ये कति प्रतिशत कार्य सम्पन्न भए त? यसको मूल्यांकन गर्ने हो कि?

हरेक न्यूनतम आवश्यक सेवा उपभोग गर्दा कर तिरिरहेका छन् महानगरवासीले। घर बहालकर, घरजग्गा कर, सामान्य सिफारिस लिन दस्तुर, यातायात कर, ढल शुल्क, साइन बोर्ड शुल्क, व्यवसाय कर, विज्ञापन कर.... सूची लामै छ। शौच गरेको पैसामा समेत कर लिने महानगरले सास फेर्न दुषित हावा, अनि हिँड्न खाल्डाखुल्डी परेका सडक बाहेक महानगरबासीलाई सुविधा चाहिँ के दिएको छ त?

कहाँकहाँका मान्छेको मानसिकतालाई त्याग्नुहोस् मेयरज्यू। वास्तवमा यिनै कहाँकहाँका मान्छे परिवर्तनका सम्वाहक हुन्। यहाँहरू जबजब चुक्नु हुन्छ, दीर्घकालीन असर पर्नेगरी केही निहीत स्वार्थपूर्तिका साथ योजनाहरू बनाउनु हुन्छ, वातावरण र सम्पदा नै नासिने गरी ठेक्कापट्टा अघि बढाउनु हुन्छ, तबतब हरेक मोडमा यिनै कहाँकहाँका मान्छे उभिएका पाउनुहुनेछ। यहाँहरूको विरोध गर्न हैन, यहाँहरूलाई सचेत बनाउन, काठमाडौंलाई जोगाउन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell