PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मालपोत कार्यालय लहानमा भएको बम विस्फोटका मुख्य योजनाकारसहित दुई जना पक्राउ



सुमित मिश्र

मालपोत कार्यालय लहानमा भएको बम विस्फोटका मुख्य योजनाकारसहित दुई जना पक्राउ

जनकपुरधाम : चैत १ गते सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विस्फोटका योजनाकार भनिएका सिरहाका सुखीपुर नगरपालिका-५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका-३ का २६ वर्षीय अभिमन्यु गिरी छन्।

दुवैजनालाई प्रदेश प्रहरी कार्यालय जनकपुरधामको विशेष टोलीले पक्राउ गरेको हो। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलका अनुसार पक्राउ परेका दुवै जनाले विस्फोट गराएको स्वीकार गरिसकेका छन्। प्रहरीले मोलपोत कार्यालयमा जडित सीसीटीभी क्यामेराको भिडियोमार्फत विस्फोटमा संलग्नहरुको पहिचान गर्न सफल भएको उनले बताए।

घटनास्थलमा भेटिएको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा, विस्फोटक राख्ने व्यक्ति लगायतको क्लूको आधारमा घटना अनुसन्धान गर्दा मुख्य योजनाकार पक्राउ गर्न सफल भएको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी धिरजप्रताप सिंहले बताए।

डीआइजी सिंह भन्छन्, ‘घटना भएको १५ दिनमै विस्फोटमा संलग्न मुख्य योजनाकारसहित दुवै जनालाई हतियारसहित पक्राउ गर्न सफल भएका छौँ। रामरिझनको साथबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई राउन्ड गोली समेत बरामद भएको छ भने अभिमन्युको साथबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई राउन्ड गोली बरामद भएको छ।’

यसै घटनामा संलग्न रहेको अभियोगमा सशस्त्र प्रहरी बल सिरहाले एक जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ।

पक्राउ परेका दुवै जनाको आपराधिक पृष्टभूमी

पक्राउ परेका दुवै जना धेरै पहिलादेखि आपराधिक गतिविधिमा लागेको देखिएको छ। रामरिझन यसअघि दुई वटा बम विस्फोटको अभियोगमा पक्राउ परी अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन्। रामरिझन २०७४ साल चैत ९ गते सिरहाको लहानस्थित विकास ज्वेलर्समा भएको बम विस्फोट मुद्दामा जिल्ला अदालत सिरहाबाट एक लाख धरौटी तिरी रिहा भएका हुन्।

यस्तै, उनी २०७५ साल साउन ३१ गते विराटनगर उपमहानगरपालिकाको बम विस्फोट मुद्दामा जिल्ला अदालत मोरङबाट ३५ हजार धरौटी तिरी रिहा भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, पक्राउ परेका अभिमन्यु गिरी विगत ५ वर्षदेखि तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समुह)मा संलग्न रही बल पूर्वक चन्दा असुली गर्ने काम गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell