PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१८ घण्टापछि भारतमा भेटिएका सात किशोरी भन्छन् : गायिका बन्न भारत गएका हौं



सुमित मिश्र

१८ घण्टापछि भारतमा भेटिएका सात किशोरी भन्छन् : गायिका बन्न भारत गएका हौं

जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिका ८ बाट बेपत्ता भएका सात जना बालिका/किशोरीहरु भारतको सीतामढीमा फेला परेका छन्।भारतीय रेलवेका सुरक्षाकर्मीको सहयोगमा उनीहरुलाई फेला पारेर नेपाल ल्याउने तयारी भइरहेको छ।

मंगलवार दिउँसो २ बजेतिर घरबाट घाँस काट्न भनेर निस्किएका उनीहरु राति अबेरसम्म पनि घर नफर्किएपछि आफन्त र प्रहरीले उनीहरुको खोजी गरेको थियो। बेपत्ता भएको १८ घण्टापछि उनीहरु फेला परेका हुन्। उनीहरु आफैं भारत गए वा अन्य कसैले लग्यो भन्ने स्वतन्त्र पुष्टि भइसकेको छैन। तर, उनीहरुले प्रहरी तथा आफन्तसँग भने आफूखुशी नै भारत भएको बताएका छन्।

किन भारत गएको त भन्ने प्रश्नमा उनीहरुको जवाफ थियो -  गायिका बन्न।

भारत बिहारको सीतामढीमा फेला परेका भंगहाबाट बेपत्ता बालिका तथा किशोरीहरुले गायिक बन्न आफूहरु भारत गएको भारतीय प्रहरीलाई बयान दिएका हुन्।  उनीहरुलाई भारतको बिहार प्रहरीले सीतामढी स्थित रेल्वे स्टेसनबाट फेला पारेको हो ।

'हामीलाई जानकारी आएदेखि नै खोजी गरिरहेका थियौं। उनीहरुलाई नेपाल ल्याउने काम भइरहेको  छ,' जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेशराज आचार्यले भने।

उनीहरुको साथका अरु कोही नभेटिएकाले कसैले बेच्न लैजाँदै गरेको भन्न नसिकने सीतामढी प्रहरीको तर्क छ। उनीहरुलाई भेरिफाइ गरेर नेपाल प्रहरी तथा परिवारजनलाई सुम्पने काम भइरहेको बताइएको छ। तर, उनीहरुको बयानलाई मात्र विश्वास गर्ने आधार नभएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु बेपत्ता भएका थिए। उनीहरु फेला परेको ठाउँ गाउँबाट झन्डै ४० किलोमिटरको दुरीमा पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell