PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सोसल मिडियाबाट विद्रोहमा सेन्ट मेरिजका विद्यार्थी : कपालको आकारले छेड्यो बहस



स्वेच्छा राउत

सोसल मिडियाबाट विद्रोहमा सेन्ट मेरिजका विद्यार्थी : कपालको आकारले छेड्यो बहस

मार्च १७ मा सेन्ट मेरिज विद्यालयकी छात्रा श्रुती (नाम परिवर्तन) नयाँ ‘हेयर स्टाइल’सहित स्कूल पुगिन्। छोटो बनाएर काटेको कपालबारे साथीहरूले फरकफरक प्रतिक्रिया जनाए। प्रतिक्रियाले दिएको उत्साह धेरै समय भने रहन पाएन। कारण अध्यापक भारती देवानको प्रश्न - ‘तिमीलाई केटीजस्तो देखिएको छैन। के तिमीलाई केटी मान्छे हुनुमा गर्व छैन?’

श्रुती कराँते खेलाडी पनि। पढाईसँगै खेलकुदमा समय दिन पर्ने भएकाले लामो कपाल स्याहार्न गाह्रो भएको थियो उनलाई। त्यसैले सहजताका लागि छोट्याएकी थिइन् कपाल। तर, कपालको लम्बाईलाई लैङ्गिकतासँग जोडेर आएको त्यो प्रश्न सामना गर्न हम्मेहम्मे पर्‍यो।

अध्यापक देवानले प्रधानाध्यापकको कार्यालयसम्म पुर्‍याइन्। कपाल छोटो पारेकै कारण स्पष्टिकरण मागिन्। श्रुतीलाई कपाल काट्नुको उचित कारण र अभिभावकको हस्ताक्षर सहित निवेदन पेश गर्न लगाइयो।

भोलिपल्ट कराँतेलाई कारण देखाउँदै निवेदन ल्याइन् श्रुतीले। सँगै आए उनका मामा। किनकि त्यस विद्यालयमा निवेदन प्राय: विद्यार्थीले गल्ती गर्दा लेख्न लगाइन्छ। श्रुतीको मामाले सोधे - कपाल काट्नु मेरी भान्जीको गल्ती हो?

विद्यालयले त्यहाँ हरेक विद्यार्थीको कपाल काँधभन्दा माथि हुनुपर्ने नियम रहेको बतायो। तर, विद्यालयको निर्देशिकामा कपाल छोटो हुन नहुनेबारे कुनै बुँदा उल्लेख गरिएको छैन। यसबारे श्रुतीका मामाले प्रश्न गरे। प्रत्युत्तरमा जवाफ पाए – तपाईँ आफ्नी भान्जीलाई स्कूलबाट निकाल्न सक्नुहुन्छ।

घटना यतिमै सीमित रहेन। कपाल छोटो भएकै कारण केही विद्यार्थीले सामूहिक अपमान सहनुपर्‍यो।

I am stuck in an abusive institution which values its reputation more than the education it provides from r/TrueOffMyChest

कपाल र भित्री बस्त्रको लम्बाई !

मार्च १९ को बिहान, प्रधानाध्यापकले कपाल छोटो भएका सबै विद्यार्थीहरूलाई सभाको अगाडि बोलाइन्। कपाल काट्नेहरूले आफ्नो लैङ्गिकतालाई अंगाल्न नसकेको हो? भन्ने आशयको प्रश्न गरिन्।

उनले छोटो कपाल केही महिना भित्रै लामो बनाउनुपर्ने र त्यसो नभएको खण्डमा विद्यालयबाट निस्कासन गर्ने चेतावनी समेत दिइन्। स्वास्थ्य समस्याका कारण कपाल छोटो बनाएको खण्डमा मेडिकल रिपोर्टको पेश गर्न भनिन्।

घटना सबैका लागि सह्य र सामान्य थिएन। भुक्तभोगी एक विद्यार्थीले सामाजिक सञ्जाल रेड्डिटको सहायता लिइन्। त्यहीँ पोखिन् आफ्नो छट्पटाहट - 'म यस्तो अपमानजनक संस्थामा फसेको छु जहाँ शिक्षाभन्दा बढी महत्व प्रतिष्ठालाई दिइन्छ।'

एक साता अघिदेखि रेड्डिटमा छाएको त्यो पोस्ट सामान्य छलफलको विषय छैन। त्यहाँ काठमाडौंको प्रतिष्ठित विद्यालय, सेन्ट मेरिजमा विद्यार्थीविरुद्ध हुने दुर्व्यवहार र विभेदबारे लेखिएको छ। महिलाको शिक्षा र सशक्तिकरणमा जोड दिने भनिएको विद्यालयमा कसरी विद्यार्थीलाई नियमको नाममा बाँधिएको छ? भन्नेबारे छरपस्ट पारिएको छ।

त्यो पोस्टले भन्छ - समस्या कपालको लम्बाइमा सीमित छैन।

उक्त पोस्ट गर्ने प्रयोगकर्ताले विद्यालयमा भित्री बस्त्र जाँच गरिने प्रसङ्ग उठाएकी छिन्। पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन्, 'कक्षा १ देखि ६ सम्म हामी सबैको भित्री बस्त्र जाँच भयो। अहिले पनि प्रिन्सिपल चाहन्छिन् पुरुष अध्यापकहरूले विद्यार्थीलाई नहेरुन्। यदि कुनै अध्यापकले हेर्छन् भने त्यो समस्याको समाधान चाहिँ हामीले स्कर्टभित्र लगाउने लुगाको लम्बाइ हो भन्ने बुझाइ छ।'

स्कर्टले पूरै घुँडा नछोप्ने भएकै कारण प्रधानाध्यापकले एक विद्यार्थीको स्कर्ट च्यातिदिएको बताइन् उनले। भनिन्, 'विद्यालयको नियम होइन, कुनै शिक्षक वा प्रिन्सिपलको रुढीवादी सोच लाद्न खोजिन्छ। एक शिक्षिकाले पढाउँदै गर्दा बलात्कारको मुख्य कारण केटी मान्छेको लुगा भएको बताइन्।'

यी शिक्षिकाले एउटा कक्षामा केटीहरूको लुगाको ‘एक्सपोजर’कै कारण क्याट कलिङ अर्थात् बोलेर गरिने यौनजन्य दुर्व्यवहार हुने गरेको बताएकी छिन्।

पहिलोपोस्टसँग सम्पर्कमा आएकी एक छात्राले आफू पढ्ने विद्यालय लैङ्गिकताको विषयमा निकै संकीर्ण भएको आरोप लगाइन्। किनकि त्यहाँ कपाल छोटो हुनुलाई मात्र लैङ्गिकतासँग नजोडिने उनको दावी छ। लैङ्गिक तथा यौनिक विविधता स्वीकार्नु परको विषय, महिला-महिला बिच हात मिलाउनु, अंकमाल गर्नु समेत पापको संज्ञा दिइने बताइन्।

About all the B.S inside St. Mary's from r/Nepal

केही वर्षअघि उनी आफ्नो कक्षाको ‘मनिटर’ थिइन्। एकदिन सबै कक्षाको मनिटरहरूलाई बोलाएर भनियो – एउटा केटीले अर्कोसँग अंकमाल गरेको वा हात समाएको देख्यौ भने उनीहरूलाई रोक्नु। त्यसो गर्नु पाप हो।

‘उनीहरू एउटै लैङ्गिकता भएकाहरू बिचको सम्बन्धलाई रोग मान्छन्,' पहिलोपोस्टसँग विद्यालयमा भइरहेको गतिविधि सुनाउँदा उनी आक्रोशित देखिन्थिन्।

विद्यालयमा मान्य रुढीवादी सोचकै कारण लैङ्गिक तथा यौनिक रुपमा फरक पहिचान चाहने विद्यार्थी मानसिक रुपमा विक्षिप्त भएको उनीहरूको भनाइ छ।

‘केही साथी छन् जसले आफूलाई अन्य छात्राभन्दा फरक महसुस गर्छन्। उनीहरूले आफ्नो फरकपन स्वीकारेका छन्। तर, विद्यालयले उनीहरूको अनुभूति विपरीत व्यवहार गर्दा उनीहरूको मानसिक स्वास्थ्य बिग्रदो छ,' उनले भनिन्।

अर्की छात्रालाई भने विद्यालयले महिला सशक्तिकरणलाई नारा बनाएर विद्यार्थीलाई ‘गर्भ पतन पाप र गैर कानुनी हो’ भन्ने सन्देश प्रवाह गरेको चित्त नबुझेको रहेछ।

विद्यालयको विषयमा हामीसँग सम्पर्कमा आएका पाँच जना अहिले त्यहीँ पढिरहेका छन्। बाँकी दुई जना भने पूर्व विद्यार्थीहरू हुन् जसले आफ्नो पहिचान गोप्य राखेर विद्यालयको विषयमा बोल्न तयार भए।

धर्मको आधारमा विभेद

दुई वर्षअघि सेन्ट मेरिजको कक्षा ६ मा अध्ययनरत् छात्रा अस्वस्थ थिइन्। उपचार प्रक्रियाका कारण उनी दुई महिना विद्यालय जान पाइनन्। पुन: जान थालेको पहिलो दिन प्रधानाध्यापकले आफ्नो कार्यालयमा बोलाइन्। आँखा चिम्लिएर कामना गर्न लगाइन्। छात्रालाई सोधिन् – कुन भगवानलाई सम्झेउ?

उनले आफ्नो आमाबाबालाई सम्झेको बताइन्। प्रतिक्रिया स्वरुप प्रधानाध्यापक केही आक्रोशित हुँदै भनिन् - भगवानमाथि आस्था नराखेकै कारण तिमीलाई सञ्चो नभएको हो। भगवानमा विश्वास गर्दैनौ भने जिन्दगीमा कहिले पनि सफल र खुशी हुन सक्दैनौ।

'आइ एम नट रेसिस्ट' नाम गरेकी रेड्डिट प्रयोगकर्तालेआफ्नो अनुभव साटेकी छिन् - सेन्ट मेरिजमा धर्मको नाममा समेत दवाव र विभेद हुने गरेको छ।

उनका अनुसार त्यहाँ इसाइ धर्म मान्ने विद्यार्थीहरूलाई फरक सेक्सनमा राखिन्छ।

उनले आफ्नो विद्यालय सशक्तिकरण केन्द्रित नभएको बताएकी छिन्। त्यस्तै यहाँ सबै पृष्ठभूमि र विचारधारका मानिसलाई नस्वीकारिने उनको आरोप छ।

दुर्व्यवहारको श्रृङ्खलाबारे लेख्ने प्रायले सम्भावित जोखिमका कारण आफ्नो परिचय गोप्य राखेका छन्। पहिचानबिना लेख्नुकै कारण केहीले उनीहरूलाई झुट र स्कूलविरुद्ध मिथ्या आरोप लगाएको बताएका छन्। प्रश्न गरेका छन्।

सेन्ट मेरिजमै अध्ययनरत् एक रेड्डिट प्रयोगकर्ताले लेखेकी छिन् : 'तपाईं पनि सेन्ट मेरिजकै सदस्य भएको नाताले भन्दैछु, भद्र हुनु उक्त संस्थामा हुनुको गुण हो। र, यस गुणलाई त्यहाँ कडाईका साथ पालन गरिन्छ। छोटो स्कर्ट लगाउनु विद्यालय पोशाक सम्बन्धि नियमविरुद्ध जानु हो। त्यसैले स्कर्ट लामो वा छोटो बनाउ भन्नु विद्यालयको अधिकार हो। म स्वीकार्छु प्रिन्सिपलले कहिले काहीँ अनावश्यक कुरा बोल्छिन्। तर, उनी त्यही कारणले त्यो पदमा छिन्।'

विद्यालय भित्र हुने व्यवहारको विरोध गरिरहेकहरूले भने त्यहाँ जे भइरहेको छ त्यसले लुगा, कपला लगायतलाई यौनिकरण गरिरहेको बताएका छन्।

हाल अध्ययनरत् मात्र नभइ पूर्व विद्यार्थीहरूको प्रतिक्रिया समेत आक्रोशपूर्ण छ। उनीहरूले सेन्ट मेरिजभित्र हुने विभेदपूर्ण र अपमानजनक व्यवहारका कारण वर्षौसम्म असर पारेको बताएका छन्। जीवन चलिरहन्छ नामबाट रेड्डिट चलाउने एक जनाले भनेकी छिन् : 'रुपका कारण त्यहाँका अध्यापकहरूले गर्ने विभेदका कारण अहिलेसम्म आफूमा आत्मविश्वास जगाउन सकेको छैन। मैले कति पटक आफैलाई मार्न खोजेँ तर सधैँ हस्पिटलबाट त्यही तनावपूर्ण ठाउँमा फर्कनु पर्थ्यो।' उनले विद्यालयभित्रको दोषपूर्ण र हेपाहा प्रवृत्तिका कारण आफ्नो मानसिक स्वास्थ्य बिग्रिएको जनाएकी छिन्।

कुरा गर्न चाहिनन् प्रधानाध्यापक मरियडले

प्रधानाध्यापक सिस्टर मरियडले यस विषयमा कुरा गर्न चाहिनन्। कुरा गर्न आज बिहान १० बजे उनले विद्यालयमा बोलाएकी थिइन्। त्यही विद्यालयमा आवद्ध शिक्षक निरजामार्फत् समय तय भएको थियो। तोकेको समयमा विद्यालयमा पुग्दा भने उनको व्यवहार फरक भयो। आफैँले बोलाएर पछि 'व्यस्त भएको' भन्दै सिस्टर मरियडले कुरा गर्न मानिनन्।

स्कुलको विषयमा चुलिएको असन्तुष्टिको विषयमा उनको प्रतिक्रिया लिन उनको व्यक्तिगत मोबाइलमा सम्पर्क गर्दा पनि उनले विद्यार्थीबाट आएको प्रतिक्रिया त सुनिन् तर त्यसपछि भने डिस्कनेक्ट गरिन्।

त्यसो त मरियडलाई विद्यालयभित्र छात्राहरू कुन अवस्थाबाट गुज्रिरहेका छन्, थाहा नभएको होइन। त्यहाँ अध्ययनरत छात्राहरुका अनुसार उनले आफूलाई कट्टर क्याथोलिक भएको बताउँदै धर्म, लुगा, कपाल र लैङ्गिकतासँग जोडिएका आफ्नो विचारमाथि प्रश्न नगर्न भन्दै आएकी छिन्।

एक विद्यार्थी भन्छिन्, 'सिस्टरको आस्था र विश्वासमाथि हामी प्रश्न गर्दैनौं। तर, उहाँलाई आफ्नो विचार हामीमा लाद्ने अधिकार कसले दियो?’

दुई वटा पोस्टका कारण सेन्ट मेरिजसँग जोडिएका अन्य घटनाको चर्चा गर्नेहरू बढ्दो छ। रुप र शारीरिक आवरणमाथि अध्यापकहरूले गर्ने टिप्पणीदेखि होस्टल वार्डेनका श्रीमानले विद्यार्थीविरुद्ध गरेको यौनजन्य दुर्व्यवहार छलफलको विषय बनेको छ, अनलाइनमा।

यतिखेर विद्यार्थीलाई – विद्यालय भित्रको विषय त्यसरी सामाजिक सञ्जालमा पोस्ट गर्न नहुने बताइएको छ। केहीलाई भने ‘त्यो पोस्ट गर्ने तिमी हो?’ जस्ता प्रश्न तेर्सिन थालेको एक छात्राले बताइन्।

मानसिक शोषण : विद्यानाथ कोइराला

यस्ता गतिविधि साचो हो भने विद्यालयबाट वद्‍मासी भएको तर्क गर्छन् शिक्षाविद् विद्यानाथ कोइराला। उनले विद्यार्थीमाथिको मानसिक शोषण र स्वतन्त्रताको हनन् गर्न नहुने बताए।

शिक्षा र सिकाइको दायरा फराकिलो बनेको युगमा काठमाडौंस्थित विद्यालयबारे यस्ता खबर बाहिरिनुलाई चिन्ताजनक रुपमा लिनुपर्ने उनको तर्क छ। हरेक व्यक्तिको आ-आफ्नो धार्मिक, सामाजिक, सैद्धान्तिक वा राजनीतिक मान्यता हुने तर ती विषयलाई एक पक्षबाट मात्र हेर्नु र अरुले पनि त्यही चिन्तन स्वीकार्नुपर्छ भन्ने सोच राख्नु गलत भएको उनको भनाइ थियो।

'सिक्ने सिकाउने प्रक्रियामा एकअर्काको विचार वा आस्था स्वीकार्नु। एकले अर्कालाई स्वतन्त्र छोड्नु र एकले अर्काको सम्मान गर्नु आवश्यक छ,' कोइरालाले भने।

शैक्षिक संस्थामा विविध पृष्ठभूमिका मानिस भेला हुने भएकाले विवधताबिच एकरुपताको प्रयास त्यहीँबाट थालनी हुनुपर्ने बताए।

‘रहरको सिकाइले सकारात्मक परिणाम दिन्छ अनि करको शिक्षाले नकारात्मक। त्यहाँ दोस्रो घटनाक्रम हावी भएजस्तो छ,’ शिक्षाविद् कोइरालाले भने, 'त्यस्तो दवाव बिच त विद्यार्थी डिप्रेस्ड हुन्छन्, आक्रमक हुन्छन्।'

विद्यार्थीहरू एकपछि अर्को गर्दै विद्यालयभित्र भइरहेका विभेद र दवावको घटनाबारे बोल्नुले कोइरालाको तर्क पुष्टि गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell