PahiloPost

Dec 4, 2024 | १९ मंसिर २०८१

जिब्रोको स्वादलाई शब्दको साथ : राणाजीका भान्सामा आखिर के पाक्थ्यो?



स्वेच्छा राउत

जिब्रोको स्वादलाई शब्दको साथ : राणाजीका भान्सामा आखिर के पाक्थ्यो?

पूर्व प्रधान सेनापति गौरव शमशेर जबराको घरमा खटिएका सैनिक जवानहरू हरेक दिन खाना खाने समय भएपछि 'ब्रेक' लिन्थे र पुग्थे ब्यारेक। लकडाउनसम्म दैनिकी यसैगरी चल्यो।    

जब सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु गर्‍यो, आवत् जावत् ठप्प रह्यो। त्यसपछि भने राणाकै आवास क्षेत्रमा पकाउने र खाने गर्न थाले उनीहरूले। 

लकडाउनको अवधिमा मानिस रोग र भोकसँग नराम्ररी सताइएका थिए। त्यतिखेर आवश्यकता थियो -  एकअर्काप्रति भावनात्मक अनि मानसिक साथ र सहयोग। त्यही आवश्यकता आफ्नो घरमा खटिएका सिपाहीहरूका लागि पूर्ति गरे गौरव शमशेरले, उनीहरूसँग खानाको स्वाद साटेर।

लकडाउन केही खुकुलो भएपछि पनि सँगै खाना खाने चलनलाई भने निरन्तरता दिए। नियमित नभए पनि साताको एकदिन घरमा भएका सबैले सँगै खाने परम्परा नै सुरु भयो। कोरोनाको त्रास त कम भएन तर सावधानी बिच हरेक शुक्रवार राणाको घरमा बेग्लै रौनक छाउन थाल्यो। सबैका लागि एउटै परिकार पाक्यो। एउटै बास्ना र उही स्वाद। स्वाद पछाडिको हात चाहिँ रोहिणी राणा (डली)को। रोहिणी अर्थात् गौरवकी श्रीमती। 

पाककलामा विशेष रुची भएकी उनले हरेक साता हुने सामूहिक भोजनमा राणाहरूको दरबारमा पाक्ने गरेको विभिन्न परिकार समेटिन्। आफ्नो ‘रेसिपी’ अनुरुप पकाउन लगाइन्। भान्सामा आफै पुगिन् र मरमसलाको मात्रा तय गरिदिइन्। 

उनले जानेका तिनै परम्परागत् अनि राणाको भान्सामा पाक्ने परिकारहरूलाई घरायसी भोजभतेरमा मात्र सीमित राखिनन्। बरु, ती खानाको स्वाद संरक्षण होस्, आउँदो पुस्ताले पनि चाख्न पाउन् भन्ने हेतुले तयार गरिन् - 'द राणा कुक बुक – रेसिपी फ्रम द प्यालेसेस् अफ नेपाल।' 

+++ 

सुपारीटार ब्यारेकको गणपति भएर हेटौंडा पुगे तत्कालीन कर्णेल गौरव शमशेर जङ्गबहादुर राणा। पहिलो पटक श्रीमानसँगै कार्यक्षेत्रमै बस्नेगरी पुगेकी थिइन् रोहिणी। त्यहाँ रहँदा गौरव दिनभर काममा व्यस्त हुन्थे। जंगलको बिचमा रहेको बंगलामा एक्लै  हुन्थिन् रोहिणी। त्यसैले प्राय भान्सा र फूलबारीमा समय बिताउँथिन्। तर, दिन सजिलै कहाँ कट्नु?

पट्यारलाग्दो बनेको त्यही समय हो रोहिणीमा पुस्तक लेखनको हुटहुटी जागेको। अङ्ग्रेजी साहित्य पढेकी उनी, कविता लेख्न रुचाउँथिन्। तर, साहित्यप्रतिको लगाव विवाह गरेर नेपाल आएसँगै छुट्यो। आमाको घर, भारतको उत्तर प्रदेश। गौरवसँग विवाह पक्का भएपछि उनकी आमाको एउटै चिन्ता – 'छोरीलाई खाना बनाउन आउँदैन।' त्यस समय विवाह गरेर जाने छोरीले भान्साको काम नजान्नु माइतीको इज्जतसँग जोडिएको विषय (हुन्थ्यो)। त्यसपछि थन्काइन् रोहिणीले कलम र  डायरी अनि उठाइन डाडु-पन्युँ र मसलाका बट्टा। 

राजपुत परिवारमा हुर्किएकी रोहिणीले बल्ल थाहा पाउँदै थिइन् – रोटीलाई गोलाकार बनाउन लाग्ने सकस, खानापिच्छे तेललाई फरक-फरक तापक्रममा तताउनुपर्ने अड्कल, एउटै मसलाले भिन्न प्रयोगअनुसार दिने बास्ना, अनि एउटै तरकारीलाई परिकारअनुसार फरक ढङ्गले काट्नुपर्ने शैली।

'खाना बनाउनु पनि विशेष कला रहेछ भन्ने थाहा पाएँ,' उनले भान्सा पसेपछिको पहिलो सिकाइबारे सुनाइन्,'पाककलाका लागि धैर्य र मेहनत चाहिँदो रहेछ। मलाई दत्तचित्त भएर पकाउने कला सिक्न रमाइलो लागिरहेको थियो जुन मेरा लागि नौलो अनुभव थियो।' 

अवाग्रहका राजासाहेब दिग्विजय पल सिंह र रानी अनन्त कुमारीकी छोरी उनी। सन् १९७७ मा विवाह गरेर काठमाडौं आइन्, राणा परिवारमा। आगरामा जस्तै यता पनि भान्साका लागि कामदार थिए। त्यसैले पकाउनु उनका लागि जिम्मेवारी बनेन। तर, पाककला उनको रहरको विषय भने बनिसकेको थियो। नियमित खाना, खाजाका परिकार आगरामा भन्दा धेरै भिन्न त थिएन। तर, उताको भन्दा कम मसलेदार र झोल भएका तरकारीहरू उनलाई निकै मनपर्‍यो। कसरी पकाउने? सिक्न चाहिन्। त्यसपछि हो, बिहान बेलुकी भान्सामा समय बिताउन थालेको। 

नेपाल आएको केही महिनासम्म उनलाई भाषाले पिरोल्यो। नेपाली भाषा त बुझ्थिन् तर बोल्न भने सक्थिनन्। तर, परिकार पकाउने तरिका भने छिट्टै सिकिन्। श्रीमान गौरव शमशेरलाई हुर्काएकी थिइन् चिनियाँ चम्पा लामाले। सुसारे भएर पनि भान्साको काममा तत्पर थिइन् चम्पा दिदी। उनले बबरमहलमा छँदा राणाहरूको दैनिक खाना र विशेष अवस्थामा पाक्ने खानाहरू पकाउन सिकेकी थिइन् रानी रुक्मणी राणाबाट। लेफटिनेन्ट जनरल मृगेन्द्र शमशेर राणाकी श्रीमती रुक्मणी खानाको उस्तै सौखिन।

'बबर महलमा रहँदा जिज्यूमुमाहरूले जेजस्ता परिकार बनाउनु हुन्थ्यो ती चम्पा दिदीले सिक्नु भएको रहेछ र मैले उहाँबाट सिकेँ,' रोहिणीले सुनाइन्। 

नेपाली भान्साको संरचनादेखि परिकार र खानासँग जोडिएका अन्य परम्पराहरूले आकर्षित गर्‍यो रोहिणीलाई। उनी महलमा हुँदाका घटनाहरूबारे सुन्न पाउँदा दङ्ग पर्थिन्। सासु वा परिवारका अन्य सदस्यबाट उनले धेरै चाखलाग्दा कुरा सुनिन्। सुनेका र देखेका तिनै विषयहरूलाई बनाउने भइन् आफ्नो किताबको विषय। रहर जोडिएको पाककलालाई अक्षरमा उतार्ने योजना यसैगरी बन्यो। 

पुस्तकमा केके समेट्ने? - खाका कोरिन् नेपाली सेनाको 'फुलस्केप' कागजमा। त्यसमा उनले राणा खानदानको भान्सामा पाक्ने परिकारहरूको नाम टिपोट गरिन्। त्यसलाई पकाउने तरिका र आवश्यक मसलाहरूबारे लेखिन्। अध्ययन र लेखनमा आफूलाई क-कसले सघाउन सक्छन्? ती नामहरु पनि टिपिन्। 

+++ 

तीस वर्षअघि कोरेको पुस्तकको खाकाले यही मार्चमा पूर्ण रुप पायो। र, पेन्गुइन् र्‍यान्डम हाउसले सार्वजनिक गर्‍यो 'द राणा कुकबुक – रेसिपी फ्रम द प्यालेसेस अफ नेपाल।' 

किताबमा १३६ वटा फरक परिकारको रेसिपी समेटिएको छ। राणाको भान्साका विशेष पकवान। विशेष भने भिन्नभिन्न अर्थमा - परिकारको स्वाद, त्यसमा प्रयोग भएका मसला, चाडपर्वविशेषका परिकार, वा केही चरा अथवा जनावरका मासुको प्रयोगका आधारमा।

'राणाहरूको भान्सासँग जोडिएका ती स्वाद ऐतिहासिक हुन्। समयसँगै तयारी खाजा/खानाको प्रभाव बढ्दो छ। त्यसैले राणा दरबारमा खाइने विभिन्न परिकारको डकुमेन्टेसन आवश्यक लाग्यो,' उनले राणा रेसिपी लेख्नुको कारण प्रष्ट्याइन्, 'आगामी पुस्ताले पनि पाउनु पर्छ त्यो पोषणयुक्त स्वाद।' 

पाककलालाई मान्छेको हातको कला मान्‍छिन् रोहिणी। उनी स्वयं त्यस कलामा अब्बल। त्यसैले त ६३ वर्षको उमेरमा पनि उस्तै सक्रिय रहन्छिन् भान्सामा। बबरमहलस्थित निवासमा बसेर पुस्तकको रचना गर्भबारे सुनाइरहँदा छेउमा बसेर सुनिरहेका थिए श्रीमान् गौरव पनि।

रोहिणीले आफ्नो परिकारप्रतिको सौखबारे बताइरहँदा गौरव पनि बोल्न तम्सिए, 'उसको रुची पकाउनमा। मेरो खानमा। जे होस् रेसिपी तयार गरिरहँदा घरमै आधिकारिक चाख्ने मान्छे पाइन्। मलाई त याद छ नि बबरमहलको भान्साको स्वाद। त्यसैले यो भयो, यो भएन भन्न सकेँ।'  
उनको कुरामा मुन्टो हल्लाउँदै सहमति जनाइन् रोहिणीले। 

राणा घरानाको भान्साको संरचना अब पहिलेजस्तो भने रहेन। 

चुल्होमा आगो दन्काएर पकाएको खाना, खलङ्गामा पिर्का ओच्छ्याएर पलेटी कसेर खाएको अझै सम्झन्छन् गौरव। भान्सेले पकाउँथे र पस्कन्थे। उमेर अनुरुप सबै क्रमवद्ध बस्थे। बालबालिकाका लागि छुट्टै ठाउँ हुन्थ्यो। अब त सबैका लागि एउटै 'डाइनिङ हल।' 

'फेरि कहाँ सबैले एकसाथ खान जुर्नु?,' खानाको कुरा चल्दैगर्दा गौरवले समयक्रममा राणा घरानाको भान्साको परिवर्तित संरचनाको प्रसङ्ग जोडे। 

राणाको भान्सा किन आम नेपालीकोभन्दा फरक छ त? 

जंगबहादुर राणाको शासनकालमा मुगल भारतबाट ल्याइएका रहेछन् खानसामाँ अर्थात् भान्से। उनीहरूका कारण नेपालको स्थानीय खानाको स्वादमा मुगलहरुको परिकारको प्रभाव पार्‍यो। पछि त्यही स्वाद राणाका दरबारहरूमा स्थापित हुँदै गयो। समयसँगै  बद्लिदै गयो राजनीतिक व्यवस्था, सामाजिक संरचना। त्यही अनुसार विस्थापित हुँदै गयो त्यस्तो परम्परागत् स्वाद पनि। 

'मान्छेको दैनिकीसँग जोडिएको विषय हो खाना। राणाहरूको भान्सा र खाना इतिहाससँग पनि सम्बन्धित छ। त्यसैले मैले वर्षौं थाती राखेको किताबबारे पुर्नविचार गर्दै लेख्ने निधो गरेँ,' रोहिणीले सुनाइन्।

किताबका लागि उनले राणा इतिहासको अध्ययन गरिन्। भव्य दरवार, सुन्दर बगैंचा, भारी गरगहना, पोशाक र वास्तुकलासँगै विभिन्न पकवान। राणाहरूको दैनिकीसँगै पकवान कसरी जोडिएको छ, बुझिन्। र, खोजिन् पौराणिक स्वाद नबिर्सिएका पाका मानिसहरू। पुगिन् विभिन्न ठाउँमा छरिएर रहेका राणाहरूको घर। अनि चाल पाइन् एउटै खानाको पनि फरक घरमा फरक स्वाद। ती सबै पकाउन आग्रह गरिन्। नुन, तेल र अन्य मसलाहरूको मात्र टिपोट गरिन्। त्यही परिकार घरमा आएर पुन: आफूले पनि बनाइन्, पटकपटक। 

'सधैं पकाउने बानी भएकाहरूले अनुमानको भरमा मर-मसला हाल्नुहुन्थ्यो। म निकै सतर्क भएर हेर्थेँ। कति पटक त मसला हाल्दाहाल्दै हात रोकेर मात्रा नाप्नु पर्थ्यो। केही परिकार दोहोर्‍याएर पकाउनु पर्थ्यो। रेसिपी त बिग्रनु भएन नि,' उनले पुस्तकका लागि गरेको प्रयोगात्मक अभ्यासबारे सुनाइन्। 

सुरुमा नेपाल भित्रिँदा खानालाई 'मीठो' भन्न नजानेर 'राम्रो' भन्ने गरेको याद छ उनलाई। उनी सही नै थिइन्। सबैभन्दा पहिले त खाने आँखाले नै हो, जिब्रोले त स्वाद पछिमात्र पाउने हो। खाना हेर्दै खाउँखाउँ लाग्ने पनि हुनै पर्छ। 

उनले दिएको रेसिपी अनुरुप खाना खाँदा स्वादिष्‍ट र हेर्दा राम्रो दुवै बनोस् भन्नेमा जोड दिएकी छिन्। 
+++  
लकडाउन अवधिभर मानिस सामाजिक सञ्जालमा सक्रिय भए। दिनरात घरमै बस्दा विभिन्न परिकार पकाए। तस्वीर सार्वजनिक गरे। दैनिक खाइने दाल, भात र तरकारीबाहेक भान्सामा फरक प्रयोग गरे आम मानिसले पनि। फुर्सद भए पकाउने र खाने रुची धेरैमा रहेछ भन्ने देखियो। 
त्यतिबेला रोहिणीलाई लागिरह्यो – यसअघि नै पुस्तक सार्वजनिक गर्न पाएको भए? धेरैका लागि उपयोगी हुने रहेछ। 
उता प्रकाशक पेन्गुइन् र्‍यान्डम हाउसले भनिरह्यो – 'हाम्रो औंला 'प्रेस बटन'मा छ।' 

उनीहरू प्रकाशनका लागि उचित समय पर्खिरहेका थिए। जतिबेला रोहिणी पुस्तकका लागि उत्साहित थिइन्, त्यतिबेला नेपाल, भारत दुवैतिर लकडाउन थियो। महामारी फैलँदो थियो, बजार ठप्प। 

रोहिणीले सन् २०२० मै तयार गरेकी थिइन् किताब। कोरोना भाइरस महामारी र लकडाउनकै कारण विमोचन एक वर्ष ढिला भयो।

'प्रकाशकले सेल्सको आधारमा हेर्नु ठीकै हो। त्यसैले धैर्य राखेँ। पर्खिएँ,' उनले सुनाइन्, 'हामी सबै रोग नियन्त्रणमा आओस् भन्ने चाहन्थ्यौं। भोक त मान्छेलाई सधैं लाग्छ। पुस्तक उपयोगी भइहाल्छ भन्ने सोचेँ।' 

मार्च १६ मा नेपालका लागि विमोचन भयो रोहिणीको 'द राणा कुकबुक।' नेपालका लागि एकता बुक्सले लिएको थियो वितरणको जिम्मेवारी। नेपालमा आएको ३ सयप्रति सबै बिक्री भइसकेको बताउँछन् एकताका प्रतिनिधि रामचन्द्र तिमोथी। 'खानामा मानिसलाई रुची रहेछ। त्यसैले विल्कुल फरक स्वादको पुस्तक एक सातामै सोल्ड आउट भयो', उनले भने। उनका अनुसार थप प्रतिहरु केही समयमा नेपाल आइपुग्नेछ। 

पुस्तकको प्रतिक्रियाले दङ्ग छिन् रोहिणी। गौरव शमशेरसँग नेपालको विभिन्न ठाउँमा गएर बसेकी उनी प्रभावित छिन् अन्य समुदायको परम्परागत् खान्कीबाट पनि। त्यसैले कोरोना भाइरसको जोखिम केही कम भएपछि निस्किँदैछिन् मेची-महाकाली यात्रामा। यात्रा अवधिमा उनी फरक जातीय समूदायमा घुलमिल गर्ने, उनीहरूको विशेष खानाबारे जानकारी लिने र त्यसको रेसिपी बनाउने योजनामा छिन्। 

'जाति विशेष खानाको रेसिपी मेरो नयाँ किताबको विषय हो। त्यसका लागि अध्ययन आवश्यक छ,' उनले योजना र सम्भावनाबारे सुनाइन्, 'नयाँ किताबका लागि आउटलाइन बनाउन सुरु गरिसकेकी छु। सायद त्यो काम सकिएपछि मैले वर्षौं अघि छाडिआएको कविताको डायरी र कलम चलाउँछु कि?' 

'स्वादको जादु चलाउने उनी शब्दको जादु चलाउँदै छिन्,' उनको कुरा ध्यानपूर्वक सुनिरहेका गौरब मुस्कुराउँदै बोले, 'ठीकै छ, राणा रेसिपी बनाउँदा चाख्नका लागि अनुबन्धित थिएँ। अब नयाँ पुस्तकको लागि गर्ने यात्रामा आधिकारिक चालक बन्छु। बाँकी त उनले जे लेखे पनि पहिलो पाठक मै हुँ।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell