
काठमाडौं: बंगबंधु कप इन्टरनेसनल टुर्नामेन्टमा कास्य पदक प्राप्त गरेको नेपाली कबड्डी टोली आज नेपाल फर्कँदैछ। आज सोमवार दिउँसो ११ बजे विमान एयरमार्फत खेलाडीहरु काठमाडौं आइपुग्नेछन्।
प्रतियोगितामा बंगलादेशले स्वर्ण पदक हात पारेको थियो भने केन्याले रजत पदक जित्दा श्रीलंका र नेपालले कास्यमा चित्त बुझाएका थिए।
‘सागभन्दा राम्रो भयो। प्वाइन्टको अन्तर पनि निकै कम थियो,’ प्रतियोगिताबारे कबड्डी खेलाडी कल्याण भुजेलले भने।
नेपाली टोलीको नेतृत्व गरेर बंगलादेश पुगेका नेपाल कबड्डी संघका उपाध्यक्ष वीरेन्द्रकुमार यादवले नेपालले राम्रो स्तरको खेल प्रदर्शन गरेको दाबी गरे।
पहिलो दिनको खेलमा बंगलादेश पुगेर खानासमेत खान नपाइ नेपाली टोलीले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धामा उत्रिएको थियो। दोस्रो खेलमा पोल्याण्डलाई जितेको नेपालले तेस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो। त्यस्तै केन्यासँग झिनो अन्तरले पराजित भएको थियो। केन्यासँग ४ प्वाइन्टले (२६-२२) अंकले नेपाल पराजित भएको थियो।
‘खेलको स्तर राम्रो देखाउन सकियो। सागमा चाहीँ फराकिलो अन्तरले पराजय ब्यहोरेको थियौँ। तर यसपटक तेस्तो भएन। खेलाडीहरुले स्तरीय खेल प्रदर्शन गरे। पराजय पनि झिनो अन्तरले ब्यहोरेका थियौं,’ उपाध्यक्ष यादवले भने।
बंगबन्धु खेलेपछि नेपाली टोलीमा केही परिवर्तनको अनुभव महसुस गरेको उनले बताए। त्यसका लागि लगत्तै कबड्डी संघले लिग आयोजनाको तयारी सुरु गरेको र त्यसबाट नेपाली टोलीमा नयाँ खेलाडी आउने विश्वास लिएको उनले बताए। बंगलादेशमा नेपाली टोलीको प्रदर्शनले ठूलो सम्भावना देखाएको उल्लेख गर्दै आफूहरु लिगमार्फत खेलाडीहरु अघि ल्याउन लागिपर्ने बताए।
फागुनमा रंगशाला परिसर अभ्यासपछि नेपाली टोली बंगलादेश प्रस्थान गरेको थियो।
हाल नेपाली टोलीमा खेलाडी छनोटको आधार राष्ट्रपति रनिङ सिल्ड रहेको छ। नेपाली टोलीमा विभागीय टोलीको दबदबा छ। नेपाली टोलीमा सबैभन्दा धेरै नेपाल आर्मीबाट सर्वाधिक ७ खेलाडी रहेका छन्।
प्रतियोगितामा बंगलादेशसहित नेपाल, पोल्याण्ड, केन्या र श्रीलंकाको सहभागिता थियो।
नेपाली टिम:
लालमोहर यादव, कुमार लामा, कल्याण भुजेल, रञ्जित गजमेर, प्रविन खड्का, बिनोद तामाङ, प्रदिप मिजार, नागेश्वर थारु, बन्धु राना, रमु टमाटा रहेका छन्।
प्रशिक्षक : उमेश प्रधान र विष्णु भट्ट