काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले मुलुकको अस्थिरता अन्त्यका लागि राजसंस्थालाई स्थान दिनुपर्ने प्रस्ताव गरेका छन्।
प्रतिनिधिसभाको विशेष बैठकमा बोल्दै सांसद लिङ्देनले अहिलेकै अवस्थामा सरकार परिवर्तन वा मध्यावधि निर्वाचनको बाटो अवलम्बन गरे पनि अस्थिरताको अन्त्य नहुने र भ्रष्टाचार तथा वैदेशिक हस्तक्षेपको निरन्तरता रहने बताए।
‘अब हामीले नयाँ सम्झौता गर्नुपर्छ। वर्तमान सरकारसँग धेरै कुरामा विमति र असहमति भए पनि विखण्ड र विद्रोहको कुरा गर्ने सीके राउत र विप्लवलाई राष्ट्रको मुलधारमा ल्याउने कामका लागि धन्यवाद,’ उनले भने, ‘साँच्चै राष्ट्रिय एकता कायम गर्ने हो भने यतिले पुग्दैन। सीके र विप्लवलाई मात्र होइन अनेक लाल्छना र अभियोगका बाबजुद पनि शान्त र शौम्य रहेको नेपालको राजसंस्थालाई स्थान दिएर मुलुकमा राष्ट्रिय एकता कायम गरौं।’
यसमा सरकारमात्र होइन दलहरुले पनि पहल गर्नुपर्ने उनको धारणा छ। ‘जुन अस्थिरता भोगिरहेका छौं, अनिश्चय छ त्यसको अन्त्य गरेर देशलाई शान्ति स्थिरता विकास र समृद्धिको बाटोमा लैजाने हो भने अब नयाँ सम्झौता गर्न जरुरी छ,’ उनी भन्छन्, ‘जसअन्तर्गत पाखा लगाइएको परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थालाई पनि स्थान दिएर जाऔं।’
सांसद लिङ्देनले अस्थिरताको अन्त्यका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि गरे। त्यसैगरी उनले संसदलाई पूर्ण रुपले समानुपातिक बनाउनुपर्ने धारणा राखे। सांसदले मन्त्री हुन नपाउने व्यवस्था मिलाउन पनि उनले सुझाए। ‘सबै संवैधानिक आयोगमा क्षमता दक्षताका आधारमा निष्पक्ष र पारदर्शी प्रणाली अपनाउ। त्यसलाई नयाँ बाटोबाट लैजाउ,’ उनले भने।