
म्यानमारको ब्युटी प्याजेन्टमा सहभागी हुनेहरुले बोलेको कुरा कमैमात्रै हेडलाइन बन्छ। तर, गत साता जब मिस ग्रान्ड म्यानमार हान लेले आफ्नो देशको परिस्थितिको बारेमा बोलिन् तब उनका शब्दहरु म्यानमारको सीमाभित्रमात्र सीमित भएन, विश्वव्यापी फैलियो।
थाइल्यान्डमा मिस ग्रान्ड इन्टरनेसनलमा सहभागी हुन पुगेकी उनले एउटा इभेन्टमा भनिन्, 'आज मेरो देश म्यानमारमा धेरै मानिस मरिरहेका छन्। कृपया, म्यानमारलाई सहयोग गर्नुस्। हामीलाई अहिले तत्काल अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ।'
फ्रेबुअरी १ मा सेनाले कू गर्दै सत्ता आफ्नो नियन्त्रणमा लिएपछि दैनिक प्रदर्शन भइरहेको छ। प्रहरी र सेनासँगको मुठभेडमा ५५० भन्दा बढीको मृत्यु भइसकेको छ। राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सलर आङ सान सूचीलगायत सयौं नेता र हजारौं नागरिक पक्राउ परेका छन्।
जुन्ता सरकारको विरोधमा भइरहेको प्रदर्शनमा मिस ग्रान्ड म्यानमार हान पनि केही साताअघि सडकमा ओर्लिएकी थिइन्। उनीसँगै सडकमा जुन्ता सरकारविरुद्ध प्रदर्शनमा ओर्लिएका कयौं साथीहरु अहिले जेलमा छन्। हान ले भने 'अस्थिर' अवस्थामा रहेको आफ्नो देशको प्रतिनिधित्व गर्दै छिमेकी देश थाइल्यान्ड पुगेकी हुन्।
मिस ग्रान्ड इन्टरनेसनलमा सहभागिता जनाउँदै हान ले। Photo : MISS GRAND INTERNATIONAL
युनिभर्सिटी अफ यागौंमा 'साइकोलोजी' अध्ययन गरिरहेकी उनले अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्टलाई आफ्नो शब्द राख्ने माध्यम बनाएकी हुन्। अन्तर्राष्ट्रिय मञ्चमा बोलेको दुई मिनेटको कुरालाई लिएर आफू जुन्ता सरकारको निशानामा पर्ने सम्भावना रहेको चिन्ता उनले व्यक्त गरेकी छिन्।
'म्यानमारमा धेरै पत्रकारहरुलाई पक्राउ गरिएको छ। त्यसैले मैले यहाँ बोल्ने निर्णय गरेंँ,' उनले थाइल्यान्ड पुगेर बोल्नुको कारणबारे भनिन्।
म्यानमार छाड्नुअघि नै आफू असुरक्षित रहेकोबारे जानकार रहेको बताउने हानको बास अबको केही समय थाइल्यान्डमा नै हुनेछ।
'म परिवार र मेरो आफ्नै सुरक्षाबारे चिन्तित छु। किनभने मैले म्यानमारको अवस्था र सेनाबारे बोलेँ। म्यानमारमा सबैलाई थाहा छ कि बोल्दा धेरै कुरामा ध्यान दिनुपर्छ,' उनले भनिन्।
म्यानमारमा सेनाविरुद्ध बोल्ने सेलिब्रिटी, प्रभावशाली व्यक्तिहरु, पत्रकार लगायतका पेशाकर्मीलाई सेनाले कुनै आधारबिना नै पक्राउ गरेको उल्लेख गर्दै उनले भनिन्, 'मेरो साथीहरुले मलाई फिर्ता नआउन भनेका छन्।'
जुन्ता सरकारविरुद्ध साथीहरुसँग प्रदर्शनमा हान ले (निलो मास्कमा) । Photo : Han Lay
अन्तर्राष्ट्रिय प्लेटफर्ममा बोलेपछि सेनाबाट सीधै उनलाई कुनै कुरा भनिएको छैन। तर, सोसल मिडियामा भने उनलाई ज्यान मार्ने धम्की सहितको कमेन्टहरु आइरहेको छ।
'सोसल मिडियामा उनीहरुले मलाई तर्साउने कोसिस गरिरहेका छन्। म्यानमारमा फिर्ता आएपछि जेल तिम्रो पर्खाइमा छ भनेर भनिरहेका छन्,' उनले भनेकी छिन्।
उनले सोसल मिडियामा आफूलाई तर्साउने को हो भन्ने थाहा नभएको बताइन्। यद्यपि, धेरै कमेन्टहरु 'सपोर्टिभ' रहेको उनको ठम्याई छ।
'मेरो एक जना साथीको मृत्युसमेत भइसकेको छ। ऊ विरोध प्रदर्शनमा सहभागी पनि थिएन। रेष्टुराँमा कफी खान गएको बेला कसैले ऊ माथि गोली प्रहार गरेको थियो,' उनले म्यानमारको अवस्थाबारे बताइन्।
राजनीतिक कुरा गर्नबाट टाढा भाग्ने म्यानमारका कलाकार, सेलिब्रिटी र पब्लिक फिभर भन्दा हान अलि फरक भूमिकामा प्रस्तुत भएकी छिन्। हान लेले भने थाइल्यान्ड पुगेर बोल्नु आफ्नो दायित्व रहेको बताएकी छिन्।
अन्तर्वार्ताका क्रममा हान ले Photo : REUTERS
आङ सान सूचीलाई प्रेरणा पात्र मान्ने हान लेलाई धेरैले राजनीतिमा आउन आग्रह गरिरहेका छन्। तर, उनी भने हाल राजनीतिमा प्रवेश गर्ने विषयमा आफूले केही नसोचेको बताउँछिन्।
उनी हाल आफ्नो देशमा जुन्ता सरकारको दमनविरुद्ध आवाज उठाउन अडिग छिन्।
भन्छिन्, 'यो मानवताविरुद्धको अपराध हो। त्यसैले हामी चाहन्छौं कि संयुक्त राष्ट्रसंघले चाँडोभन्दा चाँडो केही कदम चालोस्। हामी हाम्रो नेताहरुलाई फिर्ता चाहन्छौं। हामीलाई हाम्रो प्रजातन्त्र फिर्ता चाहिन्छ।'
आइएनजेमा प्रकाशित लेखको भावानुवाद
Han Lay, a Miss Grand Myanmar made an emotional appeal for international help for her country during the Miss Grand International pageant in Thailand https://t.co/tsb3jj86qy pic.twitter.com/JL3ei9RzwZ
— Reuters (@Reuters) March 30, 2021