PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ब्राजिलमा एकैदिन ४ हजारभन्दा बढीको मृत्यु, राष्ट्रपति कोरोना नियन्त्रण प्रति अझै उदासीन



ब्राजिलमा एकैदिन ४ हजारभन्दा बढीको मृत्यु, राष्ट्रपति कोरोना नियन्त्रण प्रति अझै उदासीन
Photo : Getty Images

ब्राजिलमा कोरोना संक्रमणका कारण एकैदिन करिब ४ हजारजनाको मृत्यु भएको छ। पछिल्लो समय संक्रमण ह्वात्तै बढेको ब्राजिलमा मृत्यु दर सबैभन्दा उच्च बिन्दुमा पुगेको हो।

अहिले ब्राजिलका अस्पतालहरुमा संक्रमितको चाप बढेको कारण स्वास्थ्य सेवा अस्तव्यस्त भएको छ। उपचार कुर्दै गर्दा धेरै मानिसको मृत्यु भएको छ।

ब्राजिलमा हालसम्म करिब ३ लाख ३७ हजारजनाको मृत्यु भइसकेको छ।

संक्रमणको गति बढ्दै गएपनि राष्ट्रपति जैर बोलसानारोले संक्रमण नियन्त्रणका लागि लकडाउन वा अन्य कुनै प्रतिबन्ध लगाउन मानिरहेका छैनन्। सुरु देखि नै उनले कोरोनालाई सामान्य रुपमा लिँदै आएका छन्। कोरोना भाइरसबाट आफै संक्रमित भइसकेपनि उनले कोरोना नियन्त्रणमा कुनै पहल नगरेको भन्दै आलोचना भइरहेको छ। पछिल्लो समय ब्राजिलको रक्षा र विदेश मन्त्री सहित तीनै सेनाका प्रमुखहरुले राजीनामा दिँदा उनको सरकार संकटमा छन्।

राष्ट्रपतिले लकडाउन गर्दा अर्थतन्त्रमा नराम्रो असर पर्ने भन्दै आइरहेका छन्। त्यसैले स्थानीय तहहरुले लगाएका प्रतिबन्धहरुलाई समेत उनले उल्टाउँदै आएका छन्।

मंगलबार राष्ट्रपति निवास बाहिर समर्थकहरुलाई सम्बोधन गर्दै उनले क्वारेन्टाइन व्यवस्थाको आलोचना गरे। उनले क्वारेन्टाइनका कारण मानिसमा ड्रिप्रेसन बढेको भन्दै त्यसलाई बेरोजगारीसँग जोडे।  तर उनले पछिल्लो २४ घण्टामा मृत्यु भएका ४ हजार १९५ जनाको बारेमा केही बोलेनन्।

मार्च महिनामा मात्रै ब्राजिलमा ६६ हजार ५७० जनाको मृत्यु भएको थियो। अप्रिलमा यो संख्या बढ्ने अनुमान गरिएको छ। हालसम्म ब्राजिलमा १ करोड ३१ लाखभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell