PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

१२ सय किलोमिटर दुरी तय गर्दै देवेन्द्रले पूरा गरेको त्यो 'मिसन'



स्वेच्छा राउत

१२ सय किलोमिटर दुरी तय गर्दै देवेन्द्रले पूरा गरेको त्यो 'मिसन'

जताततै खाल्डाखुल्डी। यति धुलो कि घुँडासम्मै दबिएला भन्ने डर! अनि चर्को ट्राफिक जाम। बस्तीतिर सल्किँदै गइरहेको डढेलोको धुँवा छिचोल्दै दाउन्ने सडक पुगेका थिए उनी। थकानका कारण पेडलमाथिको रफ्तार सुस्ताइसकेको थियो। मनमा थोरै डर पनि, जंगली जनावरको।

सुनसान ठाउँमा कहीँ कतैबाट आक्रमण पो भइहाल्छ कि! अनेक तर्कना बोकेर अघि बढ्दै थिए उनी। अचानक चर्को आवाजमा भुक्दै पच्छ्यायो कुकुरले। झसङ्ग भएका उनले साइकलको रफ्तार त बढाए तर कुकुरले पनि छाडेन। उनको जुत्ता भेटिहाल्यो। छिनभरमै खुट्टाको जुत्ता कुकुरको मुखमा। जुत्ता च्यापेर अलि पर पुर्‍यायो, केहीबेर कोतर्‍यो र छाडिदियो।

‘बाघको डरले साइकल हाँक्दै थिएँ कुकुरले पो झम्टियो,’ देवेन्द्र बस्न्यातले त्यो दुर्घटना सम्झिए, ‘त्यो कुकुरले मेरो पिँडुला भेटेको भए सायद यात्रा त्यहीँ रोकिन्थ्यो।’

यात्रामा ब्रेक लाग्नुको अर्थ हुन्थ्यो - एउटा योजनामा ब्रेक लाग्नु। योजना जोडिएको थियो दुर्गमका विद्यार्थीको शिक्षा, सिकाइ र सपनासँग।

धन्न त्यसो भएन! कुकुरले प्वाल पारिदिएको जुत्ता पुन: खुट्टामा घुसारे र आफ्नो गति समाते। र, तेह्र दिनमा पूरा गरे १२ सय किलोमिटर लामो यात्रा। उकाली, ओराली, भिर अनि पहाड छिचोले साइकलमै। यात्रासँगै पूरा भयो त्यो उद्देश्य जुन जोडिएको थियो विद्यालय र पुस्तकालय बनाउने­ हुटहुटीसँग।

देवेन्द्रले ‘शिक्षाका लागि पेडल’ नाम दिएर साहासिक साइकल यात्रा गरेका हुन्। हेल्प नेपाल नेट्वर्कको पहलमा निर्माणाधीन विद्यालय र पुस्तकालयलाई आर्थिक सहयोग जुटाउने उनको मिसन।

+++

सन् १९९४ मा क्यानडा पुगेका थिए देवेन्द्र। ओन्टारियो, थन्डर बेमा देखेको एउटा आकृतिले उनको ध्यान खिच्यो। एउटा खुट्टा नभएको त्यो रोचक आकृति रहेछ धावक टेरी फक्सको। उनी क्यान्सरका अनुसन्धानकर्ता पनि थिए। सन् १९८० मा क्यान्सरकै कारण एउटा खुट्टा गुमाएपछि फक्सले क्यान्सर सम्बन्धी अनुसन्धान गराउन र त्यसबारे चेतना फैलाउन आर्थिक सहयोग जुटाउन थाले। स्वयं पीडित हुनुका बाबजुद पूर्वदेखि पश्चिम क्रस क्यानडा दौड सुरु गरे। दुर्भाग्य नै हो, बिग्रँदो स्वास्थ्यस्थितिका कारण १ सय ४३ औं दिनमा दौड रोक्न बाध्य भए।

आफ्नो रुचीलाई अरुको आवश्यकतासँग जोड्ने फक्स। अनि दुखाइलाई ऊर्जामा परिणत गर्ने उनकको प्रेरणादायी अभियानबाट निकै प्रभावित भए देवेन्द्र। त्यस बेलादेखि उनीभित्र एउटा रहर टुसायो, आफू रमाएर अरुका लागि केही गर्ने। तर, गर्ने चाहिँ के त?

अभावसँग गुज्रिरहेकाहरूका लागि कहिले व्यक्तिगत् रुपमा त कहिले अनुनय विनय गरेर सहयोग गर्न पछि परेनन्। अरुको अप्ठ्यारोमा साथी बनिरहे। समस्या समाधानका लागि कुदिरहे। यस्ता काममा जुट्दा उनी आफ्नो पेशा वा रुचीबाट भने पर रहनुपर्थ्यो।

सन् २००८ देखि हो साइकल उनको दैनिकीसँग जोडिएको। नेपालमा अझै पनि साँघुरै छ साइकलिस्टको समूह। त्यतिखेर झन् कस्तो होला? तर पनि साइकलिङलाई विभिन्न चेतनामूलक र सहयोगार्थ अभियानका रुपमा अघि बढाउने क्रम सुरु भयो। त्यही र्‍यालीहरुमा उनी पनि सहभागी हुन थाले। त्यही ट्र्‍याकमा हुँइकिए देवेन्द्र।

अब उनका लागि बुबाको पुरानो मोडलको साइकलमा डण्डीबाट खुट्टा घुसारेर पेडल चाल्नु (कैची) साइकलिङ रहेन। न त ३ किलोमिटर पर बौद्धसम्म पुगेर साइकल भाडामा लिएर कुनाकाप्चा पुग्नु नै। कलेज जाँदा चड्ने साइकललाई विक्रम ट्याम्पुले विस्थापित गरेको थियो। सन् २००६ मा माओवादी द्वन्द्व टुंगियो। यात्रामा हुने असुरक्षा र त्रास केही कम भयो। देशमा भएको राजनीतिक परिवर्तनसँगै निजी मोटरसाइकल र गाडीले लिएको ठाउँलाई माउन्टेन बाइकिङतर्फ मोडे उनले।

‘अब त साइकल मेरा लागि रहरमात्र होइन बानी हो। यसले मलाई हरेक अप्ठ्यारा, चुनौती अनि मेरो उमेर समेत बिर्साइदिन्छ। त्यसैले साइकलमार्फत् सहयोगार्थ केही गरुँ भन्ने सधैँ थियो,’ उनले सुनाए।

साइकल र्‍यालीहरु मार्फत् सामाजिक काममा सक्रिय रहे पनि एकल यात्राको मौका तब जुर्‍यो जब उनी धुलिखेलस्थित बालगृह 'कन्फ्लिक्ट चिल्ड्रेन्स होम' पुगे।

सहारा विहीन, अभावसँगको जोहोरी अनि द्वन्द्व वा प्रकोपको घाउ बोकेर आएका बालिका अनि किशोरीहरूको ठाउँ बनेको रहेछ त्यो बालगृह।

'गृहमा पुगेपछि बहिनीहरूसँग समय बिताउनु भयो। उनीहरूको कथा सुन्नुभयो। उहाँले केही महसुस गर्नुभयो सायद। त्यसैले त्यहाँ पुगेर फर्किएको केही समयपछि भन्नु भयो - म यी र यस्तै भाइबहिनीहरूका लागि यात्रा गर्छु,' हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले एकल साइकल यात्राको प्रारम्भबारे सुनाए।

सोलो साइकल यात्राको योजना त बन्यो तर केका लागि गर्ने? कसरी यसलाई प्रभावकारी बनाउने? करिब ४ महिना लामो छलफलपछि निष्कर्षमा पुगे – शिक्षाका लागि।

संस्थाको विद्यालय र पुस्तकालय ठड्याउने पहलमा इँटा थप्ने जमर्को गरे बस्नेतले।

+++

फागुन २९ गते दोलखाबाट सुरु भयो देवेन्द्रको एकल यात्रा। काठमाडौंमा उनको स्वागत र बिदाइ एकसाथ गरियो। पुग्नु थियो सुदूरको डडेल्धुरा। १२ दिनमा १२ सय किलोमिटर लामो दूरी तय गर्नु थियो उनले।

'यो यात्रा चुनौतीपूर्ण थियो र आवश्यक पनि। भिरलगायत अन्य जोखिमका बाजजुद् यात्रा गरेँ। मलाई बाटोमा भेटिएकाहरूले उर्जा दिन्थे। कति ठाउँमा आफ्नो आत्मविश्वासले पनि डोहोर्‍यायो, ' देवेन्द्रले यात्राबारे सुनाए।

यस पटक रहरसँगै बाँधिएको थियो विशेष कारण, उनको ह्यान्डिल अनि पेडलमा। त्यसैले थाक्नु वा कतै रोक्किनुको बहाना बनेन। कतिले बाघको त्रास देखाए। बसमा यात्रा गर्न सुझाए पनि कतिले। देवेन्द्रलाई त आत्मविश्वास र उद्देश्यले डोहोर्‍यायो, गन्तव्यसम्मै।

आखिर किन शिक्षाकै लागि पाइदान चाले त उनले?

उनी जन्म हुर्केको ठाउँ काठमाडौंको आरुबारीमा आज पनि एउटामात्र छ सामुदायिक विद्यालय। त्यहाँ निजी विद्यालयको खर्च धान्न नसक्नेहरु पढ्छन्। त्यो विद्यालय स्थापना गर्न आफ्नो हजुरबुबालगायतले पुर्‍याएको योगदान 'नारायण सर'बाट सुनेका थिए उनले।

नारायण सर अर्थात् पृथ्वीमान सिंह बस्नेत। देवेन्द्रका बुबा। उनलाई देख्दा श्रद्धाको शिर झुकाउनेहरू अझै छन् गाउँमा। किनकि उनले बुबाहरूको संघर्षपछि स्थापित विद्यालयमा पढाए, स्वयंसेवक बनेर। दिउँसो कार्यालय धाउनुपर्ने उनी बिहानभर गाउँका केटाकेटीलाई अक्षर चिनाउन जुट्थे।

शिक्षाका लागि हजरबुबा र बुबाले पुर्‍याएका योगदान र ती योगदानप्रतिको सम्मान देखेर हुर्किए देवेन्द्र। उनी आफू पनि चाहन्थे - छाप रहने त्यस्तै केही गरुँ। गर्ने हुटहुटीले नै हो उनको परिवारको अर्को एउटा पुस्तालाई विद्यालय र पुस्तकालय निर्माण अभियानमा समेटेको।

दुई फरक अभियानका लागि हो 'पेडल फर एजुकेसन।'

पहिलो - राज कुलेश्वर विद्यालय पुनर्निर्माण। कुनै समय दोलखाका मल्ल राजाहरूको दरबार रहेको त्यो भवन २०१५ सालदेखि विद्यालय प्रयोजनमा प्रयोग भयो। २०७२ को भूकम्पले तहसनहस पारेपछि प्रभावित भयो त्यहाँका विद्यार्थीको पढाई। त्यहीँ भवनलाई पुन: ठड्याउन अघि सर्‍यो हेल्प नेपाल।

दोस्रो - डडेल्धुरामा निर्माणाधीन श्रीबहादुर खड्क स्मृति पुस्तकालय पुनर्निमाण। जसलाई द्वन्द्वकालमा बुर्जुवा शिक्षाको हवला दिँदै आगो लगाइएको रहेछ।

+++

यात्राको क्रममा भूइँमान्छेले गरेको स्वागत र दिएको सत्कारले देवेन्द्रलाई दङ्ग तुल्यायो। सहयोग गर्ने तत्परता र सहयोग गर्नेहरूप्रतिको सम्मान पनि उस्तै।

'शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक क्षेत्रमा 'क्राउड फन्डिङ'को अवधारणा महत्वपूर्ण देखेँ। दिनेहरूलाई पनि आफ्नो गाँस नै कटाएर दिएजस्तो नहुने। जति दिन्छन् त्यतिले समुदायको उत्थानका लागि सहयोग पुर्‍याउँछ,' उनले आफ्नो अनुभव साटे, 'दिउँ भन्ने भावना भएका मानिसको योगदानकै कारण त हो नि नेपालमा बटुवाका लागि पाटीदेखि विश्व चकित पार्ने सम्पदाहरू बनेका।'

शिक्षाका लागि चेतनाको सन्देश बोकेर हिँडेका उनले देशका कुना काप्चा नियाले। विकासको खाका पुग्न बाँकी अनेक क्षेत्र देखे - दैनिक कामका लागि होस् या पढ्न जाँदा साइकलको पेडल चलाउनेहरू। ठूलाठूला मालबाहक गाडी चलाउनेको यात्रा चुनौति पनि महसुस गरे। किताब र कलम समाउनुपर्ने सानै उमेरका नानीहरु राजमार्गका होटलमा भाडाको डुङ्गुरमा भेटे।

यस्ता आधारभूत कुराहरूमा पहुँचको माग गर्दै अझै कति देवेन्द्रहरूले कति लामो यात्रा तय गर्नुपर्ला?

देवेन्द्र बस्नेत भने खुशी छन्। उनी जुन अभियान अन्तर्गत् यात्रामा निस्किए त्यो पूरा भयो। अभियानका लागि २० लाख संकलनको उद्देश्य राखिएको थियो। अहिलेसम्म १८ लाख त जुटिसकेको नै छ। रकम एउटा पक्ष हो अभियानको। त्यसबाहेक देवेन्द्रले के पाए त? उनले सुनाए एउटा ज्ञान - 'यात्रा गर्नेहरूका लागि ओत लाग्ने, पानी पिउने र आराम गर्ने ठाउँ खड्कियो। त्योभन्दा अगाडि बन्नुपर्छ, पढ्ने पढाउने ठाउँ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell