PahiloPost

May 7, 2021 | २४ बैशाख २०७८

नयाँ प्रजातिको कोरोना भुसको आगोझैं फैलेको डाक्टर बास्तोलाको भनाई, 'खतराको घण्टी बजिसकेको छ, हेलचेक्राई नगरौं'



नयाँ प्रजातिको कोरोना भुसको आगोझैं फैलेको डाक्टर बास्तोलाको भनाई, 'खतराको घण्टी बजिसकेको छ, हेलचेक्राई नगरौं'

काठमाडौं : पछिल्लो समय भीडभाड बढ्दा कोभिड-१९ को नयाँ भेरिएन्टले विभिन्न स्थानमा प्रवेश पाइसकेको स्वास्थ्यकर्मीहरुले बताउन थालेका छन्। त्यसैगरी अस्पतालका आइसियुमा कोरोना संक्रमित बिरामीको संख्यासमेत बढ्न थालेको डाक्टरहरु बताउँछन्।

यही सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुप बास्कोटाले नेपालमा पनि नयाँ प्रजातिको कोभिड-१९ भाइरस भुसको आगो झैं फैलन थालेकोतर्फ सचेत गराएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा यसबारे शीघ्र सजगता अपनाउनसमेत आग्रह गरेका छन्। डाक्टर बास्तोलाले पछिल्लो समय कोरोना संक्रमित दोब्बरको दरले बढिरहेको बताएका छन्।

'नेपालमा पनि कोरोनाको दोश्रो अध्याय शुरु भइसकेको छ। विगत १० दिन यता सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ। सिकिस्त संक्रमितमध्ये पनि यो महिना ५० वर्ष मुनिका बिरामी ५०% कै हाराहारीमा छन्। जुन अघिल्लो ३ महिनाको तुलनामा संख्यात्मक हिसाबले दोब्बर जत्तिकै हो,' उनले भनेका छन्।

त्यसैगरी उनले अहिले भेटिएका संक्रमितमध्ये धेरैजसो सिकिस्त संक्रमित भएको बताएका छन्। 'अहिले पत्ता लागेका संक्रमितमध्ये सिकिस्त संक्रमितको संख्या धेरै छ। यसको अर्थ, समुदायमा पत्ता लागेका भन्दा धेरै व्यक्ति संक्रमित भइरहेका छन् भन्ने हुन्छ। यी संकेतहरुले समुदायमा कोरोना भाइरसको दोस्रो छाल व्यवस्थित भइसकेको पुष्टि गर्छ,' डा बास्तोलाले भनेका छन्।

संक्रमित बढेको तथ्य पेश गर्दै उनले भनेका छन्, 'टेकु अस्पतालको आईसीयूमा भर्ना हुने बिरामीको संख्या दिनानुदिन बढ्दो छ। पछिल्ला केही हप्ता संक्रमितको मृत्यु भएको छैन, तर अहिलेको सिकिस्त बिरामीको चाप यही गतिमा बढ्ने हो भने २-३ हप्ताभित्र मृत्युदर बढ्ने आँकलन गर्न सकिन्छ।'

युके भेरियन्ट समाजमा फैलिएको तथ्यसमेत उनले पेश गरेका छन्। भनेका छन्, 'पछिल्ला दिनमा प्रयोगशालामा गरिएका परीक्षणमा 'एस जिन टार्गेट फेलियर' (एस जिन नेगेटिभ) को संख्या बढी देखिएको छ। यसले कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट) समुदायमा फैलिरहेको छ भन्ने विश्वसनीय आधार दिन्छ।'

यही क्रममा पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा भुसको आगो झैं भाइरस फैलन गएको मान्न सकिने उनको दाबी छ। 'विश्वव्यापी उदाहरण हेर्ने हो भने, कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट) बढी संक्रामक र मृत्युदर उच्च रहेको मान्ने आधार प्रसस्त छन्। कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगोजस्तो सल्किँदै गएको मान्न सकिन्छ,' डा बास्तोलाले भनेका छन्।

यसो त उनले अबको जोखिममा बालबालिका रहेको बताएका छन्। कोरोनाले खतराको घण्टी बजाइसकेको उल्लेख गर्दै उनले धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने बताएका छन्।

'कोरोना भाइरसको पहिलो छालमा जेष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने दोस्रो छालमा युवा पुस्तामात्र होइन बालबालिकासमेत जोखिममा देखिएका छन्। त्यसैले सानोभन्दा सानो पनि लापरबाही नगरौं। लक्षण देखिनासाथ परीक्षण गरौं। धेरैभन्दा धेरै परीक्षण गरौं,' उनले भनेका छन्, 'हामी कोरोना भाइरसको पहिलो चपेटाबाट बाहिर निस्कनै लाग्दा दोस्रो छालको सँघारमा आइपुगेका छौं। जनघनत्व बढी भएका स्थानमा दोस्रो छाल टार्नै नसक्ने गरी फैलिनसक्ने खतराको घण्टी बजिसकेको छ। हामीले सुरक्षा मापदण्डको पालनामा हेलचेक्र्याइँ फिटिक्कै गर्नु हुँदैन।'

यसका लागि तत्काल भीडभाड रोक्नुपर्ने र बालबालिकालाई घरमै राख्नपर्ने डा बास्तोलाको सुझाव छ। उनले भनेका छन्, 'कोरोना भाइरसको दोस्रो छाल सम्भावित जोखिमसहित फैलियो भने, हामी अर्को भुँवरीमा पर्ने निश्चित छ। हामीले अझै व्यवस्थित र योजनाबद्ध तयारी गर्नुपर्ने हुन्छ। तसर्थ, भीडभाड रोकौं। बच्चाहरुलाई घरमै सुरक्षित राखौं, मापदण्ड पूर्ण पालना गरौं। आफू बचौं, अरुलाई पनि बचाऔं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell