PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'दुई दिनको पाहुना प्रिय दुर्गा' : एक कर्मठ ब्याचीको सम्झनामा



'दुई दिनको पाहुना प्रिय दुर्गा' : एक कर्मठ ब्याचीको सम्झनामा
फोटो : स्व. दुर्गाबाबु पाठक।

  • विकास अधिकारी 'शैलपुत्र'-

जीवन आफ्नो लयमा फर्कदैं थियो। २०७२ को विनाशकारी भूकम्पले पुर्‍याएको क्षति र त्यसका अवशेषहरु आफ्नै ठाउँमा थिए। घर भत्किएपछि धेरैको बास कटेरामा सरेको थियो। भूईंचालो गएको बर्ष दिन पुग्न जम्माजम्मी १५ दिन बाँकी थियो।

कपिलबस्तुको चन्द्रौटामा रहेको कार्यालयमा सहकर्मीहरुसित कुराकानी गर्दै गर्दा एउटा नमिठो खबर सुनियो। सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठक सवार मोटरसाइकललाई धादिङको मलेखुमा एउटा ट्रकले ठक्कर दियो। गम्भीर घाइते पाठकलाई उपचारका लागि काठमाडौं लगिदैं। सहाकर्मी साथीको स्वास्थलाभको कामना गर्दागर्दै आएको अर्को खबरले वातावरण एकाएक शोकमय बन्यो। खबर थियो – गम्भीर घाइते भएका पाठकलाई बचाउन सकिएन। भौतिक जगतमा अब उनको प्राण रहेन।

लेखकसशस्त्र प्रहरी बलमा अर्को ठूलो भूकम्प गयो,२०७२ चैत २७ मा। एउटा होनहार र कर्तव्यनिष्ठ अधिकृत संगठनले गुमायो। सहकर्मीहरुले एउटा असल, आँखामा राखे पनि नबिझाउने मित्र गुमाए। परिवारले एउटा दरिलो सहारा गुमायो। सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको पाँचौं स्मृति दिवस हो आज।

२०४१ सालमा जन्मिएका दुर्गाबाबु पाठक २०६४ सालमा सशस्त्र प्रहरी बल,नेपालमा सशस्त्र प्रहरी निरीक्षकको रुपमा राष्ट्रसेवामा प्रवेश गरेका थिए। संस्थाभित्र एक कर्तव्यपरायण र इमान्दार छबि बनाएका पाठक उच्च अधिकृत र सहकर्मीहरुबीच लोकप्रिय थिए। कारण – उनको सरलता,सादगीपन र संगीतप्रतिको अनुराग।

सहकर्मीहरुबीच एउटा उदयीमान गायक तथा संगीतकारको छबि बनाएका पाठक आफ्नो संगीतप्रतिको अनुरागलाई पूर्ण गर्ने प्रारम्भिक अवस्थामै थिए। ‘पन्छी’ र ‘निन्द्रा लाग्दैन’ नामका दुईवटा सांगीतिक कृति बजारमा ल्याइसकेका थिए। आफ्नो सांगीतिक निपुणतालाई तिखार्न दिनरात लागिपरेका थिए। राजनराज सिवाकोटीजस्ता संगीतकर्मीहरुसंगको सत्संग जारी थियो। यस्तैमा गृहनगर चितवनबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालय (जहाँ उनको पोष्टिङ थियो) आउँदा आउँदै मलेखुमा दूर्घटना भयो जसमा एउटा अब्बल राष्ट्रसेवक अधिकृतको चोलासँगै एउटा संगीत साधकको अटुट साधनामा पूर्णविराम लाग्यो।

स्व.दुर्गाबाबु पाठकसँग वर्दिवास महोत्तरीमा संगै कार्यरत रहँदा उनीसँगका सम्झनाहरु मानसपटलमा ताजै छन्। किबोर्डमा औंला नचाउँदै गुन्गुनाउँथ्यो, 'खोया खोया चाँद..खुल्ला आशमान'। म गजल लेख्थें,उसलाई सुनाउँथें  । उ भन्थ्यो, ''कुनै दिन तिम्रो गजल संगीत भरेर गाँउछु।'' उ महानिरिक्षकको सचिवालयमा कार्यरत रहँदा त्यही कुरा दोहोर्याउथ्यो। अफसोच, त्यो कुरो कुरैमा सीमित रह्यो। उसले यो भौतिक संसार छोडेपछि अब सम्झनाभन्दा बढी केही बाँकी छैनन्। मेरा गजलहरुमा उसले संगीत भर्न पाएन, गाउन पाएन।

तनहुँमा कार्यरत रहँदा उसले सहकर्मी शैलेन्द्र थापाको संगत पायो। एकै आमाबाबुका सन्तान झैं यी दुई नङ र मासुजस्तै भए। दुर्गाबाबुले तनहुँ महोत्सवमा गीत गाएर पुरै तनहुँ ततायो। त्यसो त सिनर्जी राइजिङ स्टारमा उत्कृष्ट दशमा परिसकेको र आठौं कालिका म्युजिक अवार्डमा बेस्ट आर्टिष्टको उपाधि चुमिसकेको उसले गृह जिल्ला चितवनमा आफ्नो लोकप्रिय पहिचान बनाइसकेको थियो। देशका कुना कन्दरामा आफ्नो पहिचान राख्ने सिलसिला जारी थियो तर ३१ वर्षमै उसले यो भौतिक संसार त्याग्यो।

उसको देहावसान भएको यो पाचौं बर्षमा उसलाई सम्झिरहेको छु। उसका लागि हामीले खासै केही गर्न सकेनौं। यद्यपि सहकर्मी ब्याचीहरुको पहलमा दुर्गाबाबु स्मृति संगीत पुरस्कार हरेक वर्ष नेपाल एपीएफ स्कूलमा अध्ययनरत एकजना संगीत साधक विद्यार्थीलाई प्रदान गरिने व्यवस्था गरिएको छ। प्रत्येक वर्ष असारमा प्रदान गरिने यो पुरस्कार २०७८ असारमा पुग्दा चौंथो संस्करणमा प्रवेश गर्नेछ। सहकर्मीको स्मृति र सम्मानका लागि यत्ति नै हो हामीले गर्न सकेको।

लर्ड बाइरन भन्छन् ,'इश्वरले जसलाई प्रेम गर्छन्, त्यो कम उमेरमै मर्छ।' अब यस्तै प्रसिद्ध भनाइको सहारामा हामीले दुर्गाबाबुको छोटो जीवन र संगीत साधनालाई सम्झिरहेका छौं। स्मृतिबाट कहिल्यै ओझेल नहुने छाप छोडेर गएको छ उसले। मृत्यु जीवनको अन्तिम सत्य हो। स्वर्गीय दुर्गाबाबु पाठकको अवसानलाई त्यस्तै सत्य स्वीकार गर्दै हामी आफ्ना आफ्ना निजी जिन्दगीहरु बिताइरहेका छौं। दुई दिनको पाहुनाजस्तै दुनियाँमा आएका प्रिय सहकर्मी, आत्मीय मित्र, तिमीलाई तिम्रो स्मृति दिवसमा तिमीले गाएको गीतको यो अशंसँगै हार्दिक श्रद्धन्जली अर्पण गर्दछु। तिमी हाम्रो स्मृतिमा सँधै जीवित छौ, अमर छौ। रहिरहनेछौ।

हजुरको देशमा हजुरकै मर्जी

म त हजुर दुई दिनको पाहुना।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell