सेनाको तबेलामा ३ दशक बिताएका प्रमुख सुबेदार राजु खत्रीले गत मंसिरमा अवकाश पाए। वर्षौपछि सधैंका लागि घर फर्कँदै थिए उनी। रिटायर्ड जिन्दगी, सधैंका लागि त्याग्दै थिए चुस्ता, बाँकी समय दिँदै थिए घरपरिवारलाई - मनमा छाउनु पर्ने थियो खुशी। तर, मन भइदियो बेचैन। किनकि उनी अझै ठूलो परिवार छाडेर निस्किँदै थिए नेपाल क्याभ्लरीबाट।
नेपाल घोडचढी सेनाको त्यो परिवारमा विभिन्न पद र तप्काका सैनिकहरू थिए। सँगै थिए, विभिन्न रङ र उमेरका घोडा। ती घोडा जो उनका सबैभन्दा नजिक थिए। तबेलाको फोहोर, दुर्गन्ध र रिसाहा घोडाको लात बिर्साइदिने निकटता थियो उनीहरूसँग।
सैन्य अनुशासनमा बाँधिएका राजु कहाँ चल्न सक्थे र नियम विपरीत। नियमले क्याभ्लरीबाट निस्किन भन्यो, निस्किए। घर फिरे।
फुर्सदिलो समयमा बानी पार्न थाले। लगाम सम्हालेको हातले कुटो, कोदालोमा बानी पार्दै थियो, नजिकियो घोडेजात्रा। अनि सुरु भयो उस्तै छट्पटाहट - कस्तो भइरहेको होला घोडेजात्राको तयारी? कुन घोडालाई कुन खेलमा राखिएला? बिरामी घोटालाई त कुदाउँदैनन् होला नि?
उनको जिज्ञासाको पोको खुल्यो चैत २७ गते। टुँडिखेलमा घोडेजात्राको अन्तिम तयारी भइरहेको थियो। शो हेर्न उपस्थित थिए, प्रधानसेनापति पूर्णचन्द्र थापा। प्रधानसेनापति लगायतसँगै दर्शकदीर्घामा बसेर रमाइरहेका थिए राजु खत्री पनि।
'पहिलोपटक मञ्चमा नभइ दर्शकदीर्घामा बसेर खेल हेर्दै थिएँ। तर, हातमा नभए पनि मनमा लगाम लागेको थियो। आफू घोडामाथि नै बसेको छुजस्तो लाग्दो रहेछ,' उनले दर्शक बन्नुको अनुभव सुनाए, 'कुन घोडाको रफ्तार कम भयो। कुनले राम्रो प्रस्तुति दियो कुनले नराम्रो सहजै पत्तो पाउँदो रहेछु।'
+++
हरेक दिन बाबु काँधमा हलो बोकेर निस्किँदा काखीमा किताब च्यापेर निस्कन्थे दक्षिणकालीका राजु खत्री। फुटेका कुर्कुच्चा, फाटेका लुगा। बाबुको दुःख देख्न सकेनन्। कक्षा ८ को परीक्षा दिए र हापिदिए पढाई। त्यसपछि बुबासँगै खेतबारीमा खटिन थाले। गाई भैँसी स्याहार्नुपर्ने जिम्मा।
२०४१/४२ सालतिरको कुरा हो। राजुका दाइ रामबहादुर कहिलेकाहीँमात्र घर आउँथे, सफा लुगामा चिटिक्क परेर। उनी घर आउनुको मतलब घरमा मीठो तरकारी पाक्नु थियो। किनकि राजुका दाइ नेपाल आर्मीमा थिए। हनुमानढोका दरबारमा खटिएका। गाउँघरमा उनको शान नै बेग्लै।
राजुलाई लाग्थ्यो - दाइ पैसा कमाउने भएकै कारण उसले बढी माया पाउँछ। उनलाई बिस्तारै आफ्नो फुटेको कुर्कुच्चा, माटो र गोबर लागेको लुगासँग दिक्क लाग्न थाल्यो।
एकाएक सोचे- 'हलो छोड्छु। बन्दुक भिर्छु। म पनि आर्मी बन्छु। पैसा कमाउँछु।'
आर्मी बन्न सके बिहेवारी पनि सजिलै हुने विश्वास। मानिसहरू भन्थे- 'आर्मी पुलिसमा जागिर खानेको हात, खुट्टा, आँखा सबैथोक सद्दे हुन्छ। केटो हेर्नै पर्दैन।'
पढाई छाडेको करिब तीन वर्षमा आर्मीमा भर्ना खुलेको थाहा पाए। उनी किशोर अवस्थाकै इख बोकेर कसैलाई थाहा नदिई जागिर खान हिँडे।
दौड, लिखित, शारीरिक प्रतिस्पर्धा सबै तह पार गरे। आफूसँगै जागिर खान आएकाहरूबाट सुने- मेडिकलमा चाहिँ 'पावर' लगाउनुपर्छ। त्यसपछि हनुमानढोका दरबारमा कालो दौरा सुरुवातमा ठाँटिएर तरबार बोकेर उभिएका दाइसम्म नपुगी सुखै पाएनन्। लुसुक्क गए र आफू पनि आर्मीमा भर्ती हुने कुराको बेलिबिस्तार लगाए। दाइले प्रतिवाद गरेनन् तर सम्झाए- 'यो गाह्रो काम हो। सकेसम्म फेरि पढ्न थाल्। प्रशासनको जागिर खानुपर्छ।'
राजुले भर्ती प्रक्रियाको अन्य तह पार गरिसकेका थिए। स्वास्थ्य जाँच मात्र बाँकी हुँदा उनले दाइको कुरा मान्ने ठाउँ नै थिएन। अन्ततः इखैइखमा लिएको निर्णयले जित्यो। उनी आर्मी बन्नका लागि योग्य ठहरिए।
उनीसँगै ५ सय ६० जनाको भर्ती भएको थियो। राजुलाई आज पनि सम्झना छ त्यो दिनको जुन दिन छानिएका सबै हातमा एकएक वटा थाल, गिलास र झोला बोकेर जम्मा भएका थिए। त्यस दिन उनीहरूलाई हेर्न 'चिफ साप' सचित शमशेर जबरा आउँदै थिए। धेरैले सोचेका थिए उनी आउँछन्। बधाई दिन्छन्। नयाँ सेनालाई नेपाली सेनाको जिम्मेवारीबारे बताउँछन्।
तर, त्यसो भएन। सचित शमशेरले त पाँच सय साट्ठी जनाबाट ४० जनालाई मात्र जागिरका लागि योग्य ठहर गरिदिए। हातमा थाल र गिलाससँगै खुसी बोकेर आएकाहरू अधिकांश भारी मन लिएर फर्किए।
धन्न! राजु चालिस जनाभित्र छानिए। आर्मी भए।
उनले सोचेका थिए, अब बन्दुक बोकेर खटिइन्छ। त्यस समय ‘भैरवनाथ गण’मा सबैभन्दा गाह्रो हुन्छ भन्ने सुनेका थिए। अहिले दुःख गरे पछि सुख पाइन्छ भन्ने सोचले त त्यही गणमा डोहोर्याइसकेको थियो। दूर्भाग्य उनी त्यस गणका लागि छानिएनन्। उनलाई खटाइयो बालाजुको पशु परिबहन गुल्म जसलाई खच्चड गुल्म पनि भनिन्थ्यो। त्यहाँ सेनाले ढुवानीका लागि प्रयोग गर्ने खच्चडहरू थिए। तिनको रेखदेखको जिम्मेवारी सिपाहीको।
गाई भैँसी हेर्न छोडेर आर्मी बनेका उनको भागमा खच्चड हेर्ने जिम्मेवारी पर्यो। तर, उनी खिन्न भएनन्। सेना बन्नका लागि लिएको तालिमले प्रतिबद्ध बन्न सिकाएको थियो।
२०४७ साल भदौको १४ गतेदेखि उनी सेवामा खटिए।
‘भाग्यले चालिस जनामा पारेको थिएँ। भाग्यले नै खच्चड गुल्ममा पुर्यायो। खुसीखुसी जिम्मेवारी स्वीकारेँ,’ राजुले सुनाए।
त्यही गुल्ममा उनी एक वर्ष खटिए। तालिम लिए। ठिक एक वर्षपछि २०४८ सालको साउन २ गते उनको सरुवा भयो - 'किङ्स हाउस होल्ड क्याभ्लरी'मा। त्यही दिनदेखि हो उनी घोडासँग जोडिएका। त्यहाँ पनि जिम्मेवारी केही फरक भने थिएन। घोडाको रेखदेख गर्नु अनि तिनलाई दानापानी दिनु, ढुकुटी कुर्नु। बस् खच्चडको साटो घोडा हेर्नुपर्ने भयो। त्यहाँ घोडचढी तालिम पनि गर्नुपर्यो। बिस्तारै घोडासँग नजिकिए उनी। घरमा बाबुआमा भन्थे- 'मान्छेको त भर हुँदैन जनावरको के भर? घोडाले लात हान्छ। लडाउँछ। अङ्गभङ्ग पार्छ।'
सुरुसुरुमा त उनलाई पनि डर नलागेको होइन। घोडा चढ्दा लडेका पनि हुन्। तर, राजुले जिम्मेवारीभन्दा माथि जीवन हुँदैन भन्ने आत्मसात् गरिसकेका थिए। बिस्तारै घोडाहरूले पनि चिन्न थाले।
कालो राइडिङ हेल्मेट, हरियो रङको ब्रिचेस अनि कालो बुट। घोडा चढ्दाको पहिरनले पनि उनलाई आत्मविश्वासी महसुस गराउन थाल्यो। आफूसँगै घोडाप्रतिको विश्वास पनि गहिरो हुँदै गयो। खटिँदाखटिँदै भावनात्मक रूपमा जोडिए ती घोडाहरूसँग। घोडालाई निकै समझदार र मेहनती पाए।
संवैधानिक राजतन्त्रको अन्त्यसँगै 'किङ्स हाउस होल्ड क्याभ्लरी' पनि 'नेपाल क्याभ्लरी' बन्यो।
+++
'नेपाल क्याभ्लरी'का घोडाहरूसँग ३० वर्ष सहकार्य गरे राजुले। सिपाहीबाट प्रमुख सुबेदार बने। बिचमा सरुवा हुने अवसर पनि नपाएका होइनन्। तर, यो ठाउँ छाड्न चाहेनन्। किनकि उनका लागि परिवार बन्यो तबेलाका घोडाहरू।
घोडासँगको सम्बन्धले नै उनलाई नजिक बनायो अरु जनावरसँग। उनलाई जनावर कहिल्यै फोहोर लाग्दैनन्।
'सफा र फोहोर चाहिँ जनावर पाल्ने मानिसको जिम्मेवारीको कुरा हो। जस्तो राख्यो त्यस्तै बन्छ जनावर पाल्ने ठाउँ,' उनले भने।
किशोरावस्थामा भकारो सोहोर्न घिनाएनन् उनले किनकि बाबुको मायाले जित्यो। सहयोग गर्न गोठदेखि मलको खाल्डोमा पसे। घिन त्यसै हरायो।
जागिरमा जिम्मेवारी तबेला सम्हाल्ने पर्यो। घोडाहरूको बफादारी र संवेदनशीलताले जित्यो। यहाँ पनि घिन हरायो।
घोडाहरूसँग यसरी जोडिए कि, कुनै एउटा घोडा बिरामी पर्दा उनलाई निद्रा पर्दैनथ्यो। कहाँ दुख्यो, के भयो? पीडा बोलेर व्यक्त गर्न सक्दैनन् भन्ने यथार्थले झन् पोल्थ्यो उनलाई।
यसरी उनले तबेलामा बिताए आधा जिन्दगी। सेना हुनुको धर्म निभाए। २०६१ सालमा सेनाको तालिमकै क्रममा माओवादीको एम्बुसमापरी बायाँ आँखा गुमाए। तर, न जागिर छाडे न त जिम्मेवारी नै।
'जबजब एउटा आँखा नदेख्दा बाटो बिराउँछु कि भन्ने सोचें तबतब घोडाले डोहोर्यायो मलाई,' उनी घोडासँगको लगाव अभिव्यक गर्छन्।
+++
सैन्य जिन्दगी सकिँदासकिँदै भने केही खट्कियो। समयसँग गुनासो रह्यो राजुको। अवकाश पाउनु अघिको वर्ष अर्थात् पोहोर साल घोडेजात्राको सबै तयारी पानीमा मिसिए सरह भयो। घोडेजात्राको कार्यक्रम स्थगित भयो - पहिलो पटक। नत्र कडाभन्दा कडा कर्फ्यु लाग्दा पनि टुँडिखेलभित्र कुदिरहेका हुन्थे घोडा। बजिरहेको हुन्थ्यो ताली।
घोडचढी सेनाका लागि निकै महत्वपूर्ण र खुशीको दिन हो घोडेजात्रा। यही दिनका लागि उनीहरू महिनौंदेखि तयारी गर्छन्। आ- आफ्नो विशेष घोडाको सरसफाइ र श्रृङ्गार पटार पनि।
पोहोर त राजु चार वटा घोडाले तान्ने बग्गीमा सवार हुँदै थिए। बग्गीको पछाडि कृष्णकै भेषभुषामा प्रस्तुत हुने तयारी थियो उनको। महाभारतको युद्ध शुरु हुनुअघि द्विविधामा रहेका अर्जुनलाई साथ दिन पुगेका कृष्ण!
तर, कोरोना महामारीका कारण तयारी खेर गयो। कार्यक्रम स्थगनको सूचना आएपछि जम्मा दुई वटा घोडा टुँडिखेलमा लगेर कुदाइयो, सैन्य परम्परालाई निरन्तरता दिनमात्र। त्यसरी तुहियो राजुका लागि घोडचढी सेनाका रुपमा अन्तिम घोडेजात्रा भव्य बनाउने योजना।
यस वर्ष चाहिँ घोडेजात्राका दिन आफूले घरमै पालेका टर्कीहरूलाई आहार हालेर बिताउँदै छन् उनी। मनभने घरी तबलामा श्रृङ्गारिँदै गरेका घोडाहरूसम्म पुगेर फुरुङ्ग हुन्छ। घरी टुँडिखेलमा कुदिरहेका घोडा सम्झेर।
'निकै याद आउँदो रहेछ। अस्ति तयारी त हेरेको हुँ तर विशेष दिनमा त्यहाँ हुन नपाउनुको थक्थकी छ मनमा,' उनले भने,'अरु खेलको त घोडाहरूलाई बानी छ। बास्केटबलजस्तै हर्सबल भन्ने नयाँ खेल थपिएको छ। त्यो चाहिँ कस्तो खेल्लान्?'
क्याभ्लरी छाडेपनि उनको मन घोडाहरूमै छ। राजुलाई घोडाहरूको चिन्ता छ र जिज्ञासाका पोको पनि। त्यसैले त आज बिहानै नयाँ प्रमुख सुबेदार गोविन्दबहादुर खड्कालाई फोन गरे। घोडेजात्राको तयारीबारे सोधे। र भने,'कुनै घोडालाई चोट नलागोस् र मान्छेलाई पनि। बेस्ट अफ लक।'